बिर्तामोड।
झापाको बिर्तामोड–५ जात्रुवाडीस्थित न्यूटन्स् एजुकेशन एकेडेमीमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुद्वारा सञ्चालित सोसियल वर्क क्लबले साहित्यकार झमककुमारी घिमिरेको जन्मदिन बहिरा विद्यार्थीहरुसँग मनाएको छ ।
क्लवले कनकाई नगरपालिका–८ लक्ष्मीपुरस्थित हिमाली माध्यामिक विद्यालयमा अध्ययनरत् २१ जना बहिरा बालबालिकालाई दुई सेट स्टेनफेन र खानेकुरा प्रदान गर्दै साहित्यकार घिमिरेको जन्मदिन मनाएको हो ।
विगत तीन वर्षदेखि विद्यालयमा सञ्चालित क्लबमा आबद्ध विद्यार्थीहरुले खाजाबाट बचेको र स्वेच्छाले दिएको रकम दानपेटिकामा संकलन गरी विभिन्न सामाजिक कार्य गर्दै आएको क्लवकी इञ्चार्ज शिक्षक मिनु शिवाकोटीले जानकारी दिइन् ।
विद्यालयमा अध्ययनरत् विद्यार्थीहरुलाई किताबी ज्ञानसँगै व्यवहारिक ज्ञान दिएर सानैदेखि सामाजिक कार्यमा अग्रसर गराउन यस्तो कार्य गरिएको न्यूटन्स् एजुकेशन एकेडेमीका कोअर्डिनेटर देवेन्द्र हुमागाईंले जानकारी दिए ।
कार्यक्रममा हिमाली माध्यामिक विद्यालयका प्रधानाध्यापक केशवप्रसाद ओझाले विद्यालयमा अध्ययनरत् बहिरा विद्यार्थीका लागि अति आवश्यक सामग्री प्रदान गरेर सोसीयल वर्क क्लवले बहिरा विद्यार्थीहरुको शिक्षा र स्वास्थ्यमा ठूलो योगदान पुर्याएकोमा विद्यार्थीहरुलाई धन्यवाद समेत दिएका थिए । विद्यार्थीहरु प्रज्वल कुँवर र निकी पाठक लिडर रहेको क्लवमा १८ जना विद्यार्थी सदस्य रहेका छन् ।