कनकाई वन क्षेत्रमा विज्ञान पार्क बनाइने

६ असार २०७६, शुक्रबार मा प्रकाशित

सुरुङ्गा ।

कनकाई नगरपालिका वार्ड नं. २, ३ र ४ सँग जोडिएको कनकाई सामुदायिक वन क्षेत्रभित्र कनकाई सामुदायिक विज्ञान पार्क निर्माण गरिने भएको छ ।

शुक्रवार वन समूहको सभाहलमा सम्पन्न सर्वपक्षीय भेलामा विज्ञान पार्क निर्माण सम्बन्धी अन्तरकृयात्मक छलफल सम्पन्न भएको छ । कार्यक्रमका अध्यक्षता समेत गरिरहेका उक्त वन समूहका अध्यक्ष ख्यामप्रसाद ओलीले विज्ञान पार्क निर्माणको औचित्य र अहिलेसम्मका तयारीका बारेमा प्रकाश पारेका थिए ।

प्रमुख अतिति झापा क्षेत्र नं. ४ प्रदेशसभा सदस्य माननीय हीराकुमार थापाले विज्ञान पार्क निर्माण गर्ने सपना देख्ने वन समूहका पदाधिकारीलाई धन्यवाद दिँदै प्रदेश सभा र प्रदेश सरकारबाट पार्क निर्माण गर्न सहयोग गर्ने आश्वासन दिएका थिए ।

वन निर्देशिका २०७५ अनुसार सामुदायिक वन उपभोक्ता समूहले आफ्नो वनक्षेत्रभित्र ५ हेक्टर क्षेत्रमा पर्यापर्यटनलाई अभिवृद्धि गर्ने गरी पार्क बनाउन पाउने प्रावधान अनुरुप विज्ञान पार्क बनाउन लागिएको हो । सुरुङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको कार्यालय पश्चिमको क्षेत्रमा सो पार्क बनाउन लागिएको हो ।

पार्कमा विद्यार्थीका लागि आवश्यक प्राणीविज्ञान, भौतिक विज्ञान, रसायन विज्ञान, वनस्पति विज्ञान र खगोल विज्ञानसँग सम्बन्धित कुराहरु राख्न अन्तरकृयाका सहभागीले सुझाव दिएका थिए । सो कार्यक्रममा विराट प्राविधिक शिक्षा एवम् परामर्श प्रा.लि.का प्रमुख इञ्जिनियर जीवविक्रम घिमिरेले निर्माण गर्न लागिएको विज्ञान पार्कको डिजाइन र नक्साका बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख मञ्जु प्रसाई, वार्ड नं. ४ का वार्ड अध्यक्ष गोविन्दप्रसाद पौडेल, नेपाल कम्युनिष्ट पार्टीका जिल्ला नेता ख्यामनाथ मिश्र, सो वन समूहका पूर्व अध्यक्ष बालकृष्ण मैनाली, कनकाई वन सब–डिभिजन कार्यालयका प्रमुख भोलाप्रसाद चौधरी, कनकाई माविका विज्ञान शिक्षक तुलसीराम खरेल, नेपाली कांग्रेसका नेता देउकुमार थेबे, शिक्षाकर्मी आशा शर्मा शिवाकोटी, कनकाईधाम धार्मिक विकास संस्थाका अध्यक्ष नबलकिशोर दत्त, कनकाई उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कुमारमणि पोखरेल, साभ,ा विवेकशील पार्टीका नेता चन्द्र मैनाली भतिज, समाजसेवी टीकाकुमार पोखरेल लगायतले मन्तव्य राखेका थिए ।

सो वन समूहका उपाध्यक्ष ललित कार्कीको स्वागत मन्तव्य रहेको कार्यक्रम सचिव मान्ता खरेलले सञ्चालन गरेकी थिइन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here