झापाबाट स्वास्थ जीवन अभियान शुरु

0
880

बिर्तामोड

पाँचौं अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर झापाको बिर्तामोडमा शुक्रबाट सात दिने योग शिबिर शुरु भएको छ ।

प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले प्रदेश नम्वर १ का सबै नागरिकलाई स्वस्थ बनाउन शुरु गरेको ‘स्वस्थ जीवन अभियान’ अन्तरगत बिर्तामोडमा सप्ताहव्यापी योग शिविर शुरु भएको हो । अभियानको उद्घाटन सामाजिक विकास मन्त्री जीवन घिमिरेले गरेका थिए ।

प्रदेश सरकारले शुरु गरेको ‘स्वस्थ जीवन अभियान’ प्रदेश नम्वर १ का १४ वटै जिल्लामा सञ्चालन गरिने बताइएको छ । एक घर, पाँच योग, पाँच जडिबुटी अनिवार्य भएको जानकारीसहित अभियान झापाबाट शुरु भएको हो । नसर्ने रोगका कारण मानव स्वास्थ्य जटिल भएको भन्दै यो अभियान थालिएको प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका कार्यक्रम संयोजक तीर्थराज आचार्यले बताए ।

अभियान अन्तरगत विहान ५ बजेबाट योगा, ७ः३० बजेबाट विर्तामोड सरसफाई, ९ वजे वृक्षरोपण र ११ बजेबाट ‘स्वस्थ जीवन अभियान’को खुला सत्रका कार्यक्रमको आयोजना गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चन्द्रगढीका कार्यक्रम संयोजक हरेन्द्र साहले जानकारी दिए ।

‘ स्वस्थ जीवन अभियान’को सद्भावना दूतका रुपमा रहेका सीताराम कट्टेल धुर्मुुसले अभियानमा सहभागिता जनाउँदै सबै नागरिकलाई स्वस्थ रहन अपनाउनु पर्ने सावधानीका विषयमा जानकारी दिएका थिए ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. रवीन निरौलाको सभापतित्वमा भएको कार्यक्रममा सामाजिक विकास मन्त्रालयका डा. सरोज विशाल, आयुर्वेद औषधि संघका केन्द्रीय अध्यक्ष जंगराज गिरी लगायतको आतिथ्य रहेको थियो ।

‘स्वस्थ जीवन अभियान’मा प्रदेश सरकारका पदाधिकारी, जिल्ला स्वास्थ्य कार्यालय झापाका पदाधिकारी, जिल्ला आयुर्वेद औषधालयका पदाधिकारी, बिभिन्न स्थानीयतहका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।
यसैबीच प्रदेश १ सरकारको अगुवाईमा बिर्तामोडमा सरसफाई गरिएको छ ।

सरसफाई कार्यक्रममा प्रदेश सरकारका सामाजिक विकास मन्त्री घिमिरे आफैं उपस्थित थिए । कार्यक्रममा सरसफाई दूत धुर्मुस, बिर्तामोडका मेयर ध्रुवकुमार शिवाकोटी लगायत विभिन्न संघसंस्थाहरुको सहभागी रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here