गाउँपालिकामा सौर्यबत्ती वितरण अभियान

0
526

रामपुर,

पाल्पाको निस्दी गाउँपालिकाका विभिन्न स्थानमा प्रदेश नम्बर ५ सरकारले सौर्यबत्ती वितरण अभियान नै थालेको छ । निस्दी ४ पाल्पामा जिल्लामै पहिलो पटक सौर्यऊर्जामार्फत लिफ्टिङ खानेपानी योजनाबाट आइतबार निस्दी अर्चलेमा ९३ घरपरिवारमा सौर्यबत्ती प्रदान गरिएको प्रदेश नम्बर ५ सरकारले सोमबार पुनः निस्दी २ सहलकोटमा पनि वितरण गरेको छ ।

सहलकोटका करीब ५३ घरपरिवारलाई टुकीरहित बनाउनका निम्ति २० वाट क्षमताका सौर्यबत्ती प्रदान गरिएको स्थानीयवासी गगनसिं दर्लामीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेश नम्बर ५ सरकारको ९० प्रतिशत अनुदानमा सौर्यबत्ती प्रदान गरिएको हो ।  प्रदेश नम्बर ५ सरकारले निस्दी गाउँपालिका पाल्पा जिल्लाको विकट भेक भएको र तत्कालै विद्युत् सेवा विस्तारका निम्ति समस्या भएकाले हाल सौर्यबत्ती प्रदान गरिएको प्रदेशसभा सदस्य युवराज खनालले जानकारी दिनुभयो ।

निस्दीका केही स्थानमा सामुदायिक विद्युतीकरणको काम पनि हुँदै गरेको जानकारी दिँदै उहाँले त्यस क्षेत्रका नागरिक न्यून आयस्तरका भएकाले सौर्यबत्तीको माग समेत बढेको बताउनुभयो ।

निस्दी २, ६ , ७ लगायत क्षेत्रमा सौर्यबत्ती वितरण कार्यक्रम रहेको उहाँको भनाइ थियो । निस्दीकै केही भेकमा खम्बामार्फत बालिने सौर्यबत्तीसमेत प्रदान गर्ने योजना रहेको प्रदेशसभा सदस्य खनालले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here