स्थानीय सरकारका नीति कार्यक्रम सार्वजनिक

0
1064

बिर्तामोड।

झापाका १५ वटै स्थानीय तहले आर्थिक वर्ष ०७६÷०७७ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । संघीय सरकारले स्थानीय तहलाई असार १० गतेभित्र बजेट ल्याउन निर्देशन दिएपछि स्थानीय तहले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

देशभर अधिकांश स्थानीय तहले असार १० कै मितिमा नीति कार्यक्रम सार्वजनिक गरेका हुन् । केही स्थानीय तहले सहजरुपमा नीति तथा कार्यक्रम ल्याएभने कतिपय स्थानीय तहले विवादका बीच नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।

तीन घण्टाको अवरोधपछि कनकाई नगरपालिकाको पाँचौ नगरसभा शुरु भएको थियो । खानेपानी आयोजना निर्माणका लागि बजेटको ब्यवस्था नगरेको भन्दै प्रदर्शन भएपछि नगरपालिकालाई नीति तथा कार्यक्रम सार्वजनिक गर्न तीन घण्टा पर्खनु परेको थियो । प्रदर्शनले नगरसभा अवरोध भएपछि नगरपालिकाका प्रतिनिधि र खानेपानी आयोजनाका प्रतिनिधिबीच छलफल भएको थियो । छलफलमा कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेल,उपमेयर मञ्जु प्रसाईं, प्रदेशसभा सदस्य हिरा थापा, खानेपानीका तर्फबाट ऋषिकेश खतिवडा लगायतले समस्याको समाधान खोजेका थिए ।

खानेपानीका लागि संघीय सरकारबाट आवश्यक बजेट ब्यवस्था गराउने सहमति पछि मात्रै कनकाई नगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो ।

यता बिर्तामोड, मेचीनगर, अर्जुनधारा, शिवसताक्षी, वाह्रदशी, गौरीगञ्ज, हल्दिवारी लगायतका स्थानीय तहले समेत आर्थिक वर्ष २०७६÷०७७ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । नगरसभाले वडागतका योजनासहित नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । केहीले भने यसअघि नै नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेका छन् । दमक नगरपालिकाले आइतवार नगरसभा सम्पन्न गरेको थियो ।

यता वाह्रदशी गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कृषि, शिक्षा र पूर्वाधारको विकास–वाह्रदशी आर्थिक समृद्धिको आधार भन्ने मूल नाराका साथ गाउँपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

बाह्रदशी गाउँपालिकाले आर्थिक वर्ष २०७५÷०७६ का कृषि क्षेत्रलाई प्राथमिकतामा राखे पनि काम गर्न सकेको थिएन । कृषकको भलाइका लागि काम गर्नै नसकेको गाउँपालिकाले आर्थिक वर्ष २०७६÷ ०७७ का लागि कृषि क्षेत्रको विकासमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । किसानको खुशी, कृषि र पशुपालनबाट समृद्धि जस्ता कार्यक्रम सञ्चालन गर्ने गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीले बताए । अध्यक्ष राजवंशीले वीजवृद्धि कार्यक्रम, रासायनिक विषादि प्रयोगलाई प्रतिवन्ध लगाउने जस्ता कार्यक्रम अघि सारेको छ । यसैगरी प्रधानमन्त्री कृषि जोन कार्यक्रम, लगानी फर्म, गोठ सुधार कार्यक्रम, नष्ल सुधार जस्ता कार्यक्रम नीति तथा कार्यक्रममा समेटेको छ ।

गाउँपालिका प्रमुख राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष रत्नाकुमारी राजवंशीले गरेकी थिइन् । प्रदेश सांसद, पूर्णसिंह राजवंशीको प्रमुख आतिथ्यमा भएको गाउँसभामा नेपाली कांग्रेसका नेता दयानन्द गोश्वामी, नेपाल रेडक्रस सोसाइटीका ओमप्रकाश गौतम, संविधानसभा सदस्य हरिप्रसाद राजवंशी, जिल्ला समन्वय समिति झापाका सदस्य महेशलाल राजवंशी, उद्योग वाणिज्य संघ राजगढका अध्यक्ष खगेन्द्रबहादुर कार्की, विद्यानन्द गोश्वामी लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन वडानम्वर १ का अध्यक्ष शम्भुसिंह राजवंशीले गरेका थिए ।

उता गौरीगञ्ज गाउँपालिका उपाध्यक्ष दीपिन्द्र थापाले गाउँ सभामार्फत सार्वजनिक गरेको नीति, कार्यक्रम तथा बजेटमा नयाँ कार्यक्रमभन्दा पनि पुरानै कार्यक्रमहरुलाई महत्वकासाथ निरन्तरता दिँदै महत्वाकांक्षी योजनालाई समावेश गरेका छैनन् । नीति तथा कार्यक्रममा कृषि क्षेत्रमा किसानहरुको जीवनस्तर उकास्न कृषि क्षेत्रमा आधुनिकीकरण, सिंचाई सुविधा, ग्रामीण कृषि सडकसाथै उपयुक्त कृषि प्रविधिको विकासका लागि जोड दिने उल्लेख गरिएको छ ।

किसानहरुलाई पशुपालन, वाली विमाका लागि यसै वर्षदेखि प्रोत्साहन वद्र्वक कार्यक्रम ल्याउनकासाथै रासायनिक मललाई निरुत्साहित गरी प्राङ्गारिक खेतीतर्फ प्रोत्साहन गर्ने कार्यक्रम ल्याउने नीति तथा कार्यक्रममा उल्लेख छ ।
गाउँपालिका उपाध्यक्ष थापाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा ३४ करोड ९३ लाख ५३ हजारको वजेट सार्वजनिक गरिएको छ । गौरीगञ्ज गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यका अनुसार यो वजेट सामाजिक सुरक्षा भत्तावाहेक रहेको छ ।

गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठको सभापतित्वमा सम्पन्न अधिवेशनमा वडा अध्यक्ष मखना महतो गैदार, कार्यपालिका सदस्य रीता तामाङ, वडा सदस्य उदिमकुमार राई लगायतले बोलेका थिए । वडा नं. १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन वीरेन्द्र खड्काले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here