रोङको बजेट ३५ करोड ६९ लाख

0
558

गणेश अर्याल / इलाम।

इलामको रोङ गाउँपालिकाले आगामी आर्थिक बर्षको लागि बजेट, नीति तथा कार्यक्रम पेश गरेको छ । गाउँपालिकाको छैटौ गाउँसभामा गाउँपालिका उपाध्यक्ष चन्द्रकला राईले ३५ करोड ६९ लाख हाराहारीको बजेट सार्वजनिक गरेकी छिन् ।

मंगलबार शुरु भएको छैटौ गाउँसभामा चालू बर्षको भन्दा ११ दशमलब २८ प्रतिशतले बृद्धि भएको बजेट प्रस्तुत भएको हो । चालू बर्ष ३२ करोड सात लाख २२ हजार आठ सय रुपैयाँको बजेट कार्यान्वयन भइरहेको छ भने आगामी बर्षको लागि ३५ करोड ६९ लाख १८ हजार रुपैयाँको बजेट पेश भएको हो ।

प्रस्तुत बजेट अनुसार चालू खर्चमा १८ करोड ७१ लाख ४० हजार रुपैयाँ र पुँजीगतमा १६ करोड ९७ लाख ७८ हजार रुपैयाँ बिनियोजन गरिएको छ । गाउँपालिका अध्यक्ष शम्शेर राईको अध्यक्षतामा गाउँसभा शुरु भएको हो । सभाले अर्थ तथा सार्वजनिक लेखा समिति र बिधायन समिति पनि गठन गरेको छ । बिमला तामाङको संयोजकत्वमा बनेको अर्थ तथा सार्वजनिक समितिमा चन्द्र शेखर घिमिरे, प्रेमराज गुरुङ लक्ष्मी नेपाली र विक्रम राई सदस्य रहेका छन् ।

त्यसैगरी महानन्द अधिकारीको सम्योजकत्वमा बनेको बिधायन समितिको सदस्यहरुमा इन्दिर विश्वकर्मा, केशरबहादुर प्रधान, तीर्थराज ढुंगेल र टीका तिवारी सदस्य रहेका छन् । गाउँपालिका अध्यक्षले प्रस्ताव गरेको दुबै समितिलाई गाउँसभाले सर्वसम्मत रुपमा पारित गरेको थियो । बजेट प्रस्तुत गर्नुअघि चालू आर्थिक बर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रमको समिक्षा गर्दै उपाध्यक्ष राईले गुरुयोजना अनुसारको पाथीभराको बिकास कार्यान्वय शुरु भएको सुनाइन् ।

‘आर्थिक बिकासको लागि कृषिका पकेट क्षेत्रहरु गठनका प्रक्रिया शुरु भएको छ’ –उपाध्यक्ष राईले भनिन्– ‘महानन्द छात्रवृत्ति कार्यक्रमले रोङभित्रको प्राविधिक जनशक्तिको अभावको अवस्थालाई सहज बनाउन सहयोग गर्नेछ ।’ उपाध्यक्ष राईले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सहकारीको गतिबिधिलाई डिजिटलाइज गर्ने, एकसय रोपनी चिया खेतीलाई अग्र्यानिकीकरणमा लैजाने तथा उद्योग स्थापना तथा प्रबद्र्धनको लागि सहयोग गर्ने उल्लेख गरिएको छ ।

कबर्डहलको काम सम्पन्न हुने, खेलकुदको बिकासको लागि वडा स्तरको र गाउँपालिका स्तरको खेल प्रतियोगिताहरु सञ्चालन गर्ने, स्वास्थ्य सस्थामा औषधि अभाव हुन नदिने तथा महिला स्वास्थ्य स्वयम्सेविकाहरुको पारिवारिक स्वास्थ्य बिमा निःशुल्क गरिदिने लगायतको कार्यक्रम बजेटमा समेटिएको छ ।

रोङ सडकको बाँकी रहेको सबै क्षेत्रको सडक चौडा बिस्तारको काम सक्ने, १५ शैय्याको अस्पतालको लागि जग्गा खोजी गरी नाप नक्सा तथा डिजायन सम्पन्न गर्ने लगायतका कार्यक्रम आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा समेटिएको छ । गाउँसभाको बैठकमा गाउँपालिकाको आर्थिक ऐन तथा विनियोजन बिधेयक पनि प्रस्तुत भएको छ ।

गाउँसभाको बैठकको शुरुमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिकप्रसाद दाहालले सभा सञ्चालनको सहजीकरण गरेका थिए । गाउँसभाको अर्को बैठक आगामी १७ गते बस्ने गरी स्थगित भएको गाउँपालिका अध्यक्ष शम्शेर राईले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here