महिलामाथि धारिलो हतियार प्रहार गरी रकम लुट्ने कारागार चलान्

0
492

भद्रपुर।

सुतिरहेका आमाछोरीलाई घरमै गएर धारिलो हतियार प्रहार गरी लाखौं रकम लुटपाट गर्ने पक्राउ आरोपी दुईजनालाई झापा कारागार चलान गरिएको छ ।

गत जेठ ९ गते मेचीनगर नगरपालिकामा–१० स्थित धुलाबारीकी ४१ वर्षीया आरती चौहान (बुढाथोकी) र उनकी ८ वर्षीया छोरी अर्पणालाई सुतिरहेको अवस्थामा सोही नगरपालिका– १० का ३५ वर्षीय सुरज श्रेष्ठ र ३१ वर्षीय नवीन भन्ने नवराज गिरीले धारिलो हतियार गरी लाखौं रकम लुटेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका आरोपीद्वय श्रेष्ठ र गिरीमाथि घाइते आरतीका श्रीमान् ओमकुमार बुढाथोकीले प्रहरीमा ज्यान मार्ने उद्योग र डकैतमा जाहेरी दिएका थिए । साथै घटना भएकै दिन आरतीका भदैनी पूजा चौहानलाई आरोपीद्वयले अभद्र व्यवहार गरेको भन्दै पनि प्रहरीमा पीडित पक्षले जाहेरी दरखास्त दिएका थिए । छुट्टाछट्टै जाहेरीको आधार प्रहरीले घटनाको अनुसन्धान गरी दुवै जनालाई पक्राउ गरेको थियो ।

प्रहरी कार्यालय झापाले आरोपीद्धयलाई सरकारी वकील कार्यालय झापा मार्फत अभद्र व्यवहार (सार्वजनिक हित, शान्ति सुरक्षा तथा नैतिकताविरुद्धको कसुर)मा प्रशासन कार्यालय झापामा मुद्दा दर्ता गराएको र झापा जिल्ला अदालतमा ज्यान मार्ने उद्योग तथा डकैत सम्बन्धी मुद्दा गराएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार अभद्र व्यवहार मुद्दामा प्रशासन कार्यालय झापाले असार २ गते आरोपीद्वयलाई १०÷१० हजार धरौटी रकम मागेको थियो ।

धरौटी रकम बुझाउन नसक्दा दुवै जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको बताइएको छ । त्यस्तै असार ९ गते झापा जिल्ला अदालतमा पेश गरिएको ज्यान मार्ने उद्योग तथा डकैत मुद्दामा अदालतका न्यायाधीसले आरोपीद्वय श्रेष्ठ र गिरीलाई पुर्पक्ष राख्ने आदेश दिएको बताइएको छ ।

यता घटना विवरण अनुसार आफ्नै घरमा सुतिरहेका आरती र अर्पणालाई कोठामै गएर श्रेष्ठ र गिरीले आक्रमण गरेका थिए । उनीहरुले आरतीको टाउँको धारिलो हतियार प्रहार गरी ज्यान लिने योजनाका साथ गएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

हाल घाइते आरती बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार्थ छिन् । उनीहरुले आरतीमाथि आक्रमण गरी घरमा रहेको एक लाख ४० हजार समेत लुटेर लगेको उनको श्रीमान् ओमप्रकाशले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here