सरकारसँग हत्याविरुद्धको प्रतिरोध, आन्दोलन थेग्ने सामथ्र्य छ ?

0
437

सुमनसिंह पौडेल,

यतिबेला नेकपाको सरकार र त्यसमा पनि गृह प्रशासन राष्ट्र र नागरिकहरुविरुद्ध जाइलागेको छ । जसले गर्दा सरकार चौतर्फी बदनाम र अलोकप्रिय बनेको छ । आम जनताको आलोचना, आक्रोश र प्रतिरोधको मुख्य निशाना बन्दै गएको स्पष्ट देखिन्छ । आफूलाई कम्युनिस्ट त्यसमा पनि जोडबल लगाएरै समाजवादी सरकार र पार्टी भन्न रुचाउने र सोही अनुसारका प्रचारहरु गरिरहेको नेकपा र त्यसका नेताहरु व्यवहारत् जनताहरुका बीचमा अलोकप्रिय बनेका छन् । र, उनीहरुको वरिपरि समाजवादी नीति तथा कार्यक्रम होइन बरु दलाली, भ्रष्टाचार, कमिसनखोरी, बलात्कार, लुटखसोट र विभिन्न काण्डहरु झांगिन पुगेको छ । त्यो पनि सामन्य स्तरका छैनन् कि बरु यो देशै बिगटित गराउन सक्ने, नेपालका सम्पूर्ण प्राकृतिक स्रोतसाधन विदेशीहरुलाई सुम्पने, आन्तरिक राष्ट्रिय सुरक्षालाई प्रभावित पार्ने यस्ता प्रकारका क्रियाकलाप वर्तमान सरकारको मुख्य बिशेषता बन्न पुगेको छ ।

होलीवाइन काण्ड, इन्डो प्यासेफिक काण्ड, बालुवाटार जग्गा प्रकरण, मेडिकल बिधेयक, जनकपुरमा मोदी–केपीको ठुल्दाइ–सानुभाइ प्रहसन, वाइडबडी भ्रष्टाचार प्रकरण, सुन तस्करी प्रकरण आदि ठूला–ठूला घोटालामा डुबेको सरकार आफूलाई निरन्तर समाजवादी भएको, कम्युनिस्ट भएको, र जनतालाई सुख, शान्ति, समृद्धी दिने सपना रहेको बिषय ढोल पिटेर प्रचार गर्न छाडेको छैन । तर, उसको यो प्रचारको आधारभूमिबाट यसका व्यवहारहरु नियाली रहेका नागरिकहरु सरकारको फाँसीबादीशैली र घृणित व्यवहारबाट आजित बनेर यो सरकारलाई दलालहरुको कठपुतली राष्ट्रघाती, भन्ने निष्कर्षमा पुगेका छन् ।

अझ सरकारका यस्ता घृणित व्यवहारकाविरुद्ध आवाज उठाउँदै राष्ट्रमा देखिएको संकटको हल वैज्ञानिक समाजवादी सत्ताले मात्र गर्न सक्ने राजनीतिक दृष्टिकोण राख्दै इमान्दारितापूर्वक जनताको बीचमा रहेर जनताको पक्षमा संघर्ष गरिरहेको नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्धित गर्नु, उसले उठाएका तमाम माग मुद्दाहरुविरुद्ध अंकुश लगाउनु र यतिमात्र होइन, सयौको संख्यामा सो पार्टीका नेता तथा कार्यकर्ताको गिरफ्तारी गर्नु, झुटा मुद्दा लगाएर जेल हाल्नु, कुटपिट गर्नु, सर्च एण्ड एरेस्टको नाममा गाउँ–गाउँ गएर सर्वसाधारण जनतालाई आतंकित पार्नु र सो पार्टीका नेता तथा कार्यकर्तालाई गिरफ्तार गरेर मुठभेडको कथा रचेर हत्यासम्म गर्नुले यो सरकारको कम्युनिस्ट आवरणभित्रको अन्तरकथा र सरकार सञ्चालकहरुको इतिहास, वर्तमान र भविष्य र नागरिकप्रतिको उनीहरुको जवाफदेहिताको बिषयमा गम्भीर प्रश्न खडा भएको छ ।

वर्तमान सत्ताको विकल्पको बिषयमा थप बलियो बहस, आन्दोलन, प्रतिरोध र भयानक युद्धको चित्र बन्दै गएको तथ्य प्रसस्तै जुटिरहेका छन् । छापा तथा बिद्युतीय सञ्चार माध्यममा आएका समाचारहरु, सामाजिक सञ्जालमा आइरहेका टिप्पणीहरु, जनताको बीचमा गएर गरिएका छलफलहरुमा जनताले दिएका प्रतिक्रियाहरु सबैलाई जोडेर समीक्षा गर्दा वर्तमान सरकार विप्लव नेतृत्वको नेकपाले संश्लेषण गरे जस्तै दलाल पुँजीवादी संसदीय सत्ता, सामाजिक फाँसीवादी सत्ताको बफादार कारिन्दा दलाल सरकार बन्न पुगेको छ । विद्रोही नेकपा माथिको दमन, हत्याको शृंखलाले यो सरकारलाई जनताबाट पुरै अलग्गिने स्थितिमा पु¥याएको छ । र, जनता बिद्रोही नेकपाको नीति तथा कार्यक्रम मार्फत वर्तमान फाँसीबादी सत्ताविरुद्ध प्रतिरोध युद्धमा जुट्ने देखिन्छन् ।

नेकपा र सरकारबीच  प्रतिबन्धपछिका विकसित घटनाक्रम

गत फागुन २८ गते सरकारले नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपा माथि प्रतिबन्ध लगायो । यो प्रतिबन्ध बिदेशी शक्तिकेन्द्रहरु र नेपालका ठूला माफियाहरुको योजना बमोजिम थियो । आफूलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको प्रधानमन्त्री ठान्ने ओली र प्रचण्ड र त्यहाँभित्रका नेता तथा मन्त्रीहरु लोकतान्त्रिक व्यवस्थामा फरक मत राख्ने, अधिकारको निम्ति संघर्ष गर्न पाउने सामान्य अधिकारहरुको समेत उल्लघंन गर्दै फरक बिषय र माग राखेकै आधारमा नेकपा माथि प्रतिबन्ध लगाउन पछि परेनन् । भ्रष्टाचारको बिरोध, एनसेल कर ठगीविरुद्धको आन्दोलन, उर्जा सम्झौता, पानी सम्झौता, र बिभिन्न काण्डहरुको बिषयमा बिरोध गर्दै सामाजिक सरोकारका बिषयमा आन्दोलित भएकै आधारमा विद्रोही नेकपाले प्रतिबन्धको सामना गरिरहनुपरेको छ ।

प्रतिबन्धपछि सरकारले व्यापकरुपमा धरपकड बढायो । पार्टीका स्थायी समिति सदस्य सुदर्शन, पोलिटब्युरो सदस्य रणवीर, केन्द्रीय सदस्यहरु प्रज्ज्वलन, आदर्श, असल, बन्धुचन्द लगायत विभिन्न जिल्लाका इञ्चार्ज सेक्रेटरी, जिल्ला सदस्यहरु, विद्यार्थी र समर्थक शुभचिन्तकसम्मलाई करिब पाँच सयको संख्यामा गिरफ्तार ग¥यो र यो शृंखला चलिरहेकै छ । बिभिन्न बुद्धिजीवी, नागरिक अभियान्ता, कलाकार, पत्रकार, सत्तापक्षकै कतिपय नेताहरुले सरकारको यो कदमप्रति बिरोध जनाउँदै प्रतिबन्ध खारेजको माग राखिरहेका छन् । सरकार वार्ताको प्रचार गर्दै वार्ताको अन्तर्यमा व्यापक दमनको तयारी गर्दैछ भन्ने बिषय सरकारका व्यवहारहरुले स्पष्ट गरिरहेको सबैले बुझिरहेकै थिए ।

सरकार फाँसीवादी बन्दै गएको थियो– पूर्वको भोजपुर टैम्केमयुङ्गमा जेष्ठ ७ गते नेकपाका युवा तीर्थराज घिमिरेलाई पक्राउ गरी निर्घात कुटपिटपछि हत्या गरियो र मुठभेटको कथा रचियो । यो हत्या सरकारको नियोजित चालबाजी थियो । स्रोतका अनुसार– भोजपुरमा विप्लवको सेनाको गतिविधि रहेको जानकारी पाएपछि १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई, डिआइजी केदार रिजाल, प्रदेशकै अन्य केही मन्त्री, भोजपुरका सिडिओ भेला भएर ठूलो अपरेसन गर्ने योजना बनाइ नरसंहार गर्न प्रहरी परिचालन गरिएको थियो । उक्त बैठकमा बिगतदेखि नै बिद्रोही नेकपाप्रति दुश्मनी व्यवहार गरिरहेका प्रदेश १ का मुख्यमन्त्री र अन्य केही मन्त्रीले जत्रो सुकै घटना घटे पनि पछि हल गरौंला भनेर प्रहरीलाई पठाएको कुरा खुल्नमा आएको छ । प्रहरीहरु त्यो हिसाबले तयार भएर गए पनि पिआइ गरिरहेका युवा तीर्थराजलाई समाएर मार्न पुग्यो र अर्का एकजना युवा त्यहाँबाट उम्कन सफल भएका थिए ।

त्यस घट्ना पछि तीर्थराजलाई महासचिव विप्लवले शहीद घोषणा गर्दै चरणबद्ध संघर्षका कार्यक्रमहरु सार्वजानिक गरे । फाँसीवादी अल्बर्टो फुजिमोरी र ज्वतिबसुको नयाँ संस्करण सरकारले बिद्रोही नेकपालाई बिरोध संघर्ष गर्न बाँध्य बनाएको थियो । सोही क्रममा नेकपाले आयोजना गरेको १४ गतेको नेपाल बन्दको पूर्व सन्ध्यामा बन्द संघर्षलाई प्रभावकारी बनाउने तयारी गरिरहेका होनाहार पाँच जना युवाको शहादत हुन पुग्यो । बन्दको पूर्व सन्ध्यामा शहादत हुने दीपेन्द्र, निरन्तर, प्रज्ज्वल र रामकुमारको मृत्यु यही सरकारको कारण भएको थियो । र, यो सरकारको अर्को हत्या शृंखला थियो ।

त्यसपछि असार ५ गते दिउँसो अचानक एउटा खबर आयो सर्लाहीका इञ्चार्ज कुमार पौडेलको प्रहरीसँगको दोहोरो भिडन्तमा मृत्यु भएको छ । उनको साथबाट पेस्तोल बरामद भएको छ, अन्य तीन जना भाग्न सफल भएका छन् । सरकारले यस्तो प्रचार ग¥यो । यद्यपि ५ गतेको समाचार पछि परिवारले तीन दिनपछि शव बुझुञ्जेलसम्म प्राप्त तथ्यलाई आधार मानेर हेर्दा कुमार पौडेको दोहोरो भिडन्तमा नभएर फेक इन्काउन्टरमा हत्या भएको पाइएको छ ।

पौडेललाई कुटपिट गरी दुईवटै हात भाँचेको हातको अस्वभाविक अवस्था प्रस्ट देख्न सकिन्छ । उनको छेउमा फालिएको रिभल्वर उनको नभएर त्यो प्रहरीले नै राखिदिएको स्पष्ट हुन्छ । किनकि उनको शव घिसारेर त्यहाँ पु¥याइएको जमिनको अवस्था हेरे पछि प्रस्ट देखिन्छ । शव घिसार्दा पेस्तोल कसरी घिश्रियो ? र भिडन्त गर्दागर्दै मारिएका हुन भने शव किन घिसार्नु पथ्र्याे ? उनको टाउकोमा गोली नजिकैबाट हानिएको बुझ्न सकिन्छ । घटनास्थलको अवस्था, शवको स्थिति र त्यस अघि–पछिका क्रिया–प्रतिक्रियाको आधारमा जो कोहीले सहजै अनुमान लगाउन सक्छ कि पौडेल हत्या भिडन्त होइन यो नियोजित फेक इन्काउन्टर हो भनेर । यस हत्याको उचित छानविन गरी तथ्यहरुको आधारमा सत्य सार्वजनिक हुने कुरामा आम नागरिक आशाबादी छन् ।

यसरी राज्य दमन तीव्र बन्दै गएको छ । निहत्था नागरिकहरुको पञ्चायतीशैलीमा हत्या गर्न थालिएको छ । झुटा मुद्दाहरु लगाउन थालिएको छ । सर्च एण्ड एरेस्टको नाममा एरेस्ट एण्ड किलको नीति सरकारले लिएको देखिन्छ । पक्कै पनि सरकारको यो कदमले द्वन्द्वको संकेत गरेको छ । र, सरकारी दमनको सम्भावित प्रतिरोधले निम्त्याउने आगामी अवस्थाको बिषयमा सबै गम्भीर बन्नुपर्ने देखिन्छ ।

अब के हुन्छ ?

देशमा विद्यमान जनताका समस्या र संकटहरु राजनीतिक समस्याहरु हुन् । यसको सम्बन्ध प्रत्यक्ष राजनीतिसँग हुन्छ । जनताहरुले माग्ने अधिकारहरुको गुदि कुरानै तिनै आधारभूत आवश्यकताका बिषयहरुकै सेरोफेरोमा छन् । ती हुन गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षा । यी बिषयहरुको सुनिश्चितताको लागि जनताले सरकारसँग माग राखे त्यो २००७÷०१७÷०३५÷०३६÷ ०४६÷०५२÷०६२÷०६३ सालहरुमा जनताले आफ्ना मागहरुलाई उत्कर्षमा प्रकट गरेका थिए । सरकारले ती मागहरु सम्बोधन गर्नु त कता–कता उल्टो दमन, हत्याको नीति लियो । हजारौं नागरिकहरुको कत्लेआम ग¥यो । जनताले व्यवस्था ढाल्दै यहाँसम्म आइपुगे तर नाममा फरक भनिए पनि सारत जनता माथिको लुट र शोषण रोकिएन बरु झन बढ्यो । जनताले रुपमा सत्तालाइ जिते पनि सारमा त्यही पुरानो सत्ताको चरित्र नयाँ संस्करणमा नयाँ पात्रहरुको साथ हालसम्म शासन सत्तामा छ ।

जनताका आधारभूत बिषयहरु जोडिएका जनताका प्रस्तावहरु राजनीतिक बिषयहरु हुन् । ती ज्यूका त्यूँ छन्, त्यसैले आजको मितिमा पनि जनताले आफ्ना मागहरु राख्न पाउनु, बोल्न पाउनु र बिद्रोह गर्न पाउनु जनताको अधिकारको बिषय हो । राणाहरुको शासन सत्तामा जनताले उठाएका सामान्य मागहरुबाट आत्तिएर त्यतिबेला होनाहार युवाको हत्या गरियो । पञ्चायतले कयौंको हत्या ग¥यो, धनकुटा खुकुछिन्ताङ हत्या काण्ड, झापाका होनाहार युवाको हत्या, भोजपुरमा युवाको हत्या, भिमदत्त पन्तको हत्या , जनयुद्धमा दशौं हजार युवाको हत्या यसरी सत्ता सञ्चालकहरु जनताको हत्या गर्दै आइरहेका छन् । यिनै बलिदानका कथाहरुमा नायकको भूमिका खेल्ने पात्रहरु प्रकारान्तरमा खलनायकमा रुपान्तरित हुँदै फेरि त्यही हत्या शृंखलालाई आफैंले निरन्तरता दिइरहेका छन् । कुमार पौडेको हत्या त्यसकै निरन्तरता हो । यो हत्यासम्म आइपुग्दा कयौं सवाल जवाफहरु पैदा भएका छन् ।

वर्तमान दलाल पुँजीवादी संसदीय सत्ता नै बिद्यमान सबै संकटको मुख्य कारकतत्व हो । र, यसको समाधान वैज्ञानिक समाजवादी सत्ताले मात्र गर्न सक्छ । वैज्ञानिक समाजवादी सत्ताको विकल्प दिएर आफ्ना कार्यक्रमहरु अगाडि बढाएको नेकपा आफ्ना योजनाहरुबाट पछाडि हट्ने छैन । किनकि यो प्रस्ताव समाज विकासको नियममा अनिवार्य शर्त हो । र, यो पुरानो सत्तालाई निषेध गर्दै कुनै पनि हालतमा स्थापित भएरै छाड्ने छ । वर्ग प्रधान समाजको अनिवार्य संघर्षको नियममा मुख्य सुचालकको स्थान बनाएको एकीकृत जनक्रान्तिको कार्यदिशा, पार्टी र त्यसका सुव्यवस्थित शाखा प्रशाखाहरुको विघटन, विसर्जन, हस्तान्तरण र सम्झौता जस्ता प्रभावबाट एकीकृत जनक्रान्ति र नेतृत्वमुक्त रहने छ । यो आन्दोलनको प्रक्रिया विश्वको पुँजीवादी संकटको स्थानमा वैज्ञानिक समाजवादको विश्व शिविरलाई स्थापित गर्ने र विश्वलाई साम्यवादसम्म पु¥याउने साम्यवादी झण्डा फहराएर अगाडि बढ्ने छ ।

बरु घटनाक्रमले के कुरा उद्घाटित गरेको छ भने दमनविरुद्ध शसक्त, शसस्त्र प्रतिरोध, राष्ट्रघाती र जनघातीहरु माथि निर्मम भौतिक कारवाही, त्यसले पैदा गर्ने व्यापक सामाजिक जागरण , विशाल संयुक्त मोर्चा, विशाल जनसागरसहितको प्रदर्शन, जनमुक्ति सेनाहरुको सचेत फौजी पहलकदमी, देशभक्त राष्ट्रवादी र राष्ट्रघाती शक्तिहरुबीच हरेक निकायमा विकिरण हुँदै राष्ट्रिय मुक्ति आन्दोलनको आधार तयार गर्दै सामाजिक फाँसीवादी सत्ताविरुद्ध अन्तिम र निर्णायक हमला हुनेछ । यस्तो परिवेश निर्माण भएर जाने बिषय समाजको विश्लेषण गर्ने जो कोहीले अनुमान लगाउन सक्छ । तर, यसको बीचमा दमन र प्रतिरोध संघर्षको भिषण शृंखला भने रहने छ । यसमा देशभक्त तथा क्रान्तिकारी शक्तिले सचेतता पूर्वक पहलकदमी लिन जरुरी छ । आन्दोलनको यो नियमभित्र स्वभाविक रुपमा बलिदानको बिषय आउँछ, र दुनियाँलाई नयाँ ठाउँमा लैजान बलिदान गौरवको बिषय बन्नेछ ।

वर्ग संघर्षको इतिहास बलिदानहरुको इतिहास पनि हो । यद्यपि यो बिषय राम्रो सँग बुझेका सत्ताधारीहरु क्रान्तिकारी शक्तिमाथि दमन र हत्याको दुश्चक्र चलाइरहेका छन् । तर, उनीहरुलाई सामान्य हेक्का हुनुपर्ने हो कि दमनविरुद्ध सोझिने प्रतिरोध आन्दोलनको आगो आफूतिर आउँछ र त्यसले आफैलाई खरानी बनाउने छ । कुमार पौडेलको हत्याको बिषयमा समाचारमा आएकै जस्तो मेयरले सुराकी गरेको तथ्य फेला प¥यो यदि भने मेयर भरत थापाको अवस्था के होला ? निर्घात कुटपिट गरेर हत्या गर्न त्यहाँ कुन–कुन प्रहरी पुगेका थिए भन्ने कुरा थाहा लागिहाल्छ ती प्रहरीको नाम बदनाम गराउने मतियार भिजिलान्तेहरु अब कहाँ कुन देशमा गएर सुरक्षित हुन्छन् ? यो त छँदैछ समग्र दलाल पुँजीवादी संसदीय सत्ता नै आफ्नो संकट ढाकछोप गर्न नसकेर मरणासन्न अवस्थामा पुगेको यो अवस्थामा एकीकृत जनक्रान्ति हाबी हुने कुरामा कुनै दुईमत छैन ।

यस अवस्थामा पार्टी आन्दोलन नेता कार्यकर्ता र जनतामाथि दमन र हत्या गर्ने जो कोहीको अवस्था के होला ? यो मेरो शब्दहरुले दिएको चुनौति र चेतावनी होइन यो परिस्थिती र परिवेशले दिइरहेको चेतावनी हो । सर्वप्रथम यी प्रश्नहरुको जवाफलाई मनन् गर्न आवश्यक छ । र त्यही बुद्धिमतापूर्ण हुन जान्छ भन्ने मेरो सुझाव छ । अन्यथा रोम साम्राज्य ढाल्न सक्ने स्पार्टाकसहरुको सौर्य र बलिदानी, पेरिस कम्युनमा कम्युनार्डहरुले प्रदर्शन गरेको वीरता, रुसमा मजदुरहरुले जारको सत्ता पल्टाएको इतिहास, महान चिनियाँ जनताको संघर्षको कथा, भियतनाम, भेनेजुएला, क्युवा, भारतमा भइरहेको माओवादी आन्दोलन, नेपालको जनसंघर्षको शृंखलाको इतिहास र विश्वमा भएका कयौं संघर्षहरुमा जनताको बिजयका इतिहासहरुको समिक्षा गर्दा जनतालाई दमन, हत्या गरेर दबाउने बिषय कहिलै सम्भव नहुने बरु यो अझ सशक्त भएर अगाडि बढ्ने अझ प्रज्ज्वलित हुने बिषय प्रयोग सिद्ध, प्रमाणित तथ्य हो । त्यसैले कुमार पौडेलको हत्या र अरु हजारौं कुमारहरुको हुन सक्ने सम्भावित हत्याले ज्वाला झन्– झन् दन्काउने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here