झापामा २६ जनामा डेंगुको संक्रमण, टेष्ट किटको कालाबजारी गरे कारबाही

0
460

नरेन्द्र ढकाल / बिर्तामोड ।

झापामा २६ जनामा डेंगुको संक्रमण फेला परेको छ । एक महिनाअघि सुनसरीमो धरानमा देखा परेको डेंगुले महामारीको रुप लिदाँ समेत सरकारले नियन्त्रण गर्न सकेको छैन । डेंगुको सक्रमण मोरङ र झापामा पनि देखा परि सकेको छ ।

झापाको बिर्तामोडमा ९ जना, दमकमा ७ जना, मेचीनगरमा ७ जना, अर्जुनधारामा २ जना र भद्रपुर नगरपालिकामा एक जनामा डेंगुको सक्रमण देखा परेको जिल्ला स्वास्थ्य कार्यालयउ झापाका कार्यक्रम अधिकृत कुलबहादुर पौडेलले जानकारी दिए ।

उनीहरुको दमक स्थित दमक अस्पताल बिर्तामोड स्थित बिर्ता सिटी, बीएण्डसी टिचिङ्ग र मनमोहन अस्पतालमा उपचार भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । वैज्ञानिक वर्गीकरणअनुसार टाइप वान, टाइप टु, टाइप थ्री र टाइप फोर गरी चार प्रकारका डेंगु रोग हुने चिकित्सकले बताएका छन् । डेंगु संक्रमणले शरीरका संवेदनशील अंगबाट रक्त श्राव भई बिरामीको मृत्यु गराउँछ । झापामा सबै प्रकारका डेंगु फैलिने जोखिम रहेको र डेंगु फैलने क्रम जारी रहेकाले बेलैमा यसलाई नियन्त्रण गर्न नसकेमा यसबाट ठूलो क्षति हुन सक्ने जिल्ला स्वास्थ्य कार्यालयका कार्यक्रम अधिकृत पौडेलको भनाई छ ।

एडिस एगेप्टी नामक पोथी लामखुट्टेले टोकेपछि डेंगु संक्रमण हुन्छ । चिकित्सकका अनुसार उक्त संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिँदैन । ज्वरो आउनु, टाँउको दुख्नु, हाड तथा जोर्नी दुख्नु, आँखा दुख्नु, वाक–वाकी, लाग्नु डेंगुका प्रारम्भिक लक्षण भएको कार्यक्रम अधिकृत पौडेलले बताए । जुलाइ देखी सेप्टेम्बरसम्म यो रोग देखा पर्ने चिकित्सकहरुको भनाई छ । जमेको सफा पानीमा यस्ता जीवाणु देखा पर्ने भएकाले हाल निर्माणधिन अवस्थामा रहेका सडक किनारका खाल्डो तुरुन्त नपुर्ने हो भने त्यहाँबाटै डेंगुले लार्भा उत्पादन गरेर आफ्नो संक्रमणलाई फैल्याउन सक्छ ।

सरकारले डेंगु नियन्त्रणका लागि सचेतना लगायतका कार्यक्रम सञ्चालन गर्न स्थानीय तहलाई एक लाखका दरले बजेट दिएको स्वास्थ्य कार्यालयका अधिकृत पौडेलले जानकारी दिए । जिल्ला स्वास्थ्य कार्यालय झापा र इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाको टोलीले मंगलबार झापाको अर्जुनधारा नगरपालिकाका विभिन्न स्थानको अनुगमन गर्दै डेंगु संक्रमित स्थानमा र्लाभा नष्ट गर्ने अभियान सञ्चालन गरेको छ । सोमबार नगर क्षेत्रमा प्रशिक्षण प्रदान गरेर सचेचना अभियान सञ्चालन गरेको बताइएको छ ।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले एक विज्ञप्ती जारी गर्दै डेंगु रोगको परीक्षणका लागि प्रयोग हुने टेष्ट किटको मुल्य चार सय रुपैंया पर्नेमा १८–२४ सय रुपैंयासम्म लिने गरेको गुजासो आएको भन्दै मन्त्रालयले कारबार्ही गर्ने चेतावनी दिएको छ । किटको मुल्यभन्दा बढीमा विक्रि गरेमा कालाबजारीको कसुरमा सम्बन्धित निकायलाई आवश्यक कारबार्ही गर्ने मन्त्रालयले जनाएको छ ।

यता झापामा बढी मुल्य लिएको भने एउटा मात्रै गुनासो आएको भन्दै स्वास्थ्य कार्यालयका कार्यक्रम अधिकृत पौडेलले उक्त विषयमा छानविन गर्ने र ठगी गरेको पाइएमा कारबार्ही गर्ने बताए । उनले किट कम्पनी अनुसार फरक–फरक मुल्यको हुनेभएकाले त्यसको बजार मुल्य भन्दा बढीमा विक्रि गर्नेलाई कारबार्हीको दायरामा ल्याउने बताइएको छ । झापामा डेंगुको संक्रमणका कारण बिरामीको संख्या बढ्दै गएकाले स्थानीय तहले डेंगु नियन्त्रण अभियानलाई प्रभावकारी रुपमा अघि बढाउनु पर्ने स्थानीयले बताएका छन् ।

यसैबीच स्वास्थ्य कार्यालय झापाका डेंगु फोकल पर्सन जीवन चौंलागाईंले यो वर्ष बुधबारसम्मको तथ्याङ्कमा २६ जना डेंगु ज्वरोका कारण प्रभावित भएको बताए । स्वास्थ्य सेवा विभाग, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुले बिर्तामोड नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्यहरु तथा विभागीय प्रमुखहरुका लागि आयोजित अभिमुखीकरणमा यस्तो तथ्याङ्क प्रस्तुत गरिएको हो ।

डेंगु सार्ने लामखुट्टेहरु विशेषगरी शहरी क्षेत्रका उत्पन्न हुने भएकाले बिर्तामोडसहित अर्जुनधारा, दमक, भद्रपुर, शिवसताक्षी र कनकाई नगरपालिकाका बढी प्रभावितको सूचिमा रहेका चौंलगाईंको भनाई छ । सो अवसरमा महाशाखाका जनस्वास्थ्य अधिकृत उत्तम कोइरालाले डेंगु सार्ने लामखुट्टे कसरी नेपाल छिर्यो र तिनले कस्तो ठाउँमा सन्तान उत्पादन गर्दछन् भन्ने बारे सहजीकरण गरेका थिए ।

उनका अनुसार जलवायु परिवर्तनको प्रभावले पृथ्वीमा तापक्रम बढ्नु, मानिसहरुको बाक्लो जमघट र आवतजावत हुनु, यातायातको पहुँच बढेसँगै सरुवा रोगहरु थपिने गरेको छ ।

महाशाखाका जनस्वास्थ्य अधिकृत कोइरालाले डेंगु नियन्त्रण गर्न विषादी छर्किने तत्कालीन उपाय सही नभएको पनि सुनाएका छन् । विषादी छर्किएर रोगका जीवाणुहरु नष्ट गर्न सकिन्न बरु उल्टै मानव स्वास्थ्यका लागि वातावरणीय हानी पुगेको निश्कर्ष पछि यस्तो काम गर्न छाडिएको बताए ।

अभिमुखीकरण कार्यक्रममा नगरप्रमुख ध्रुबकुमार शिवाकोटीले डेंगु ज्वरो लगाउने लामखुट्टेले विशेषगरी ‘भीआइपी’लाई ताक्ने गरेको भन्दै सचेत रहन आग्रह गरे । नगरबासीलाई रोग लाग्न नदिनु जनप्रतिनिधिहरुको पनि दायित्व रहेकाले हरेक वडा र टोलटोलमा आफूहरुले जनचेतानमूलक अभियान चलाउने पनि नगरप्रमुख शिवाकोटीले प्रतिवद्धता जनाए । नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख खगेन्द्र दंगालले सञ्चालन गरेको अभिमुखीकरण कार्यक्रममा नगर उपप्रमुख पवित्रा महतारा प्रसाईंले संक्रमण बढ्न नदिन सिंगो नगरपालिका क्रियाशील हुनुपर्नेमा जोड दिइन् ।

डेंगुको संक्रमणका कारण हालसम्म झापामा तीन जनाको मृत्यु भएको छ । दुई हजारबढीमा यसको संक्रमणदेखिएको र रोगलाई पूर्ण रुपमा नियन्त्रणमा ल्याउन निकै समय लागेको स्वास्थ्य कार्यालयले जनाएको छ । विगतका वर्षहरुमा पनि झापामा डेंगुको संक्रमण देखा परेकाले बेलैमा सचेतना अप्नाउने विभिन्न कामहरु गर्न उनले स्थानीय तहलाई सुझाव दिएका छन् । एक महिनाअघि धरानमा देखिएको डेंगु नियन्त्रणका लागि प्रदेश सरकारले बजेट विनियोजन गर्दै एक साता भित्र पूर्णरुपमा नियन्त्रण गर्ने जनाएपनि डेंगुको सक्रमण फैलने क्रम बढ्दै गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here