व्यक्ति एक, श्रीमती पाँच

0
982

गोपाल गडतौला / दमक।

वैदेशिक रोजगारीमा लैजाने भन्दै गाउँलेको लाखौं ठगेर खुमबहादुर थापा ‘केवी’ दाङ, बिजौरीबाट बेपत्ता भएको दुई वर्ष भइसकेको थियो ।

ठगिएका गाउँले दिनदिनै घर आएर धम्क्याउन थालेपछि श्रीमान् खोज्दै नीता (३०) असारको पहिलो साता काठमाडौं आइन् । तर, श्रीमान् खोज्न आएकी उनले ‘सौता’ पो भेटिन् । नीताले श्रीमान् अर्कै श्रीमतीसँग धुम्बाराहीमा बसिरहेको थाहा पाइन् । यता नीता पनि खुमबहादुरकी श्रीमती भएको थाहा पाएर समीक्षा तामाङ (२६) पनि झस्किइन् ।

त्यसपछि नीता र मकवानपुर मनहरी –३ की समीक्षा दुवै खुमबहादुरविरुद्ध बहुविवाहको उजुरी लिएर कालिमाटीस्थित प्रहरीको महिला बालबालिका सेवा केन्द्र पुगे । प्रहरीले १० असारमा खुमबहादुरलाई पक्राउ ग¥यो ।

कथाजस्तो लाग्ने खुमबहादुरको कुकर्म बल्ल खुल्न थाल्यो । दिनहुँजसो भेट भइरहने खुमबहादुर पक्राउ परेको थाहा पाएर काठमाडौं बौद्धका प्रेमबहादुर लामा पनि प्रहरी कार्यालय पुगे । त्यहाँ पुगेपछि लामा खङ्रङ्ग भए । उनकी छोरी मुनासँग प्रेम विवाह गर्ने खुमबहादुरका त यसअघि नै दुई श्रीमती रहेछन् । खुमबहादुरले दुई वर्षअघि मुनासँग विवाह गरेका रहेछन् । मुना भने अहिले साइप्रसमा मजदुरी गरिरहेकी छन् । छोरीले यो व्यक्तिलाई ६ लाख रुपैयाँ पनि दिएकी थिइन्– ससुरा लामाले भने ।

खुमबहादुरको बहुसम्बन्धको जड भने पैसासँग गाँसिएको छ । पैसासँग उनको पेशा वैदेशिक रोजगारी जोडियो ।
तीन वर्षअघि खाडी मुलुकबाट फर्कंदा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा नीता र खुमबहादुरको पहिलो भेट भएको थियो । एकै जिल्लाका उनीहरुबीच त्यसपछि नियमित भेटघाट हुन थाल्यो ।

त्यसो त नीताभन्दा अघि पनि खुमबहादुर विवाहित थिए । तर, उनले पहिलेकी श्रीमतीसँग सम्बन्ध विच्छेद गरेको कागज देखाएका थिए । त्यसपछि मात्र नीता विवाहका लागि राजी भएकी थिइन् ।

नीतासँग करीब एक वर्ष सँगै बसेका खुमबहादुरले नीताका माइतीबाट कुखुरा फर्म चलाउने भन्दै रु.१२ लाख लिएका थिए । त्यसपछि फर्मका लागि ‘मान्छे भेट्नुछ’ भन्दै गर्भवती श्रीमतीलाई दाङको तुलसीपुरमा छोडेर हिंँडेका खुमबहादुर छोरी दुई वर्षकी हुँदासम्म फर्किएनन् ।

मेरो घरजम हुन्छ भनेर नै बुबाले बैंकमा जग्गा धितो राखी पैसा दिनुभएको थियो– काखे छोरी बोकेरै काठमाडौं आएकी नीताले भनिन् । सो समयमा खुमबहादुर काठमाडौंमै थिए ।

काठमाडौं हुँदा समीक्षासँग खुमबहादुर भेट भयो । मृगौला खराब भएर उपचार गरिरहेका श्रीमानको आशा श्रीमती समीक्षाले विदेश गएर केही आर्जन गर्लिन र परिवार चलाउँला भन्ने थियो ।

खुमबहादुरसँग उनको भेट बैशाख २०७५ मा भएको थियो । ‘सस्तैमा साइप्रस लगिदिन्छु’ भन्दै खुमबहादुले समीक्षालाई आफू बस्ने नजिकै कोठा खोजिदिए । ‘पहिलेकी श्रीमतीसँग डिभोर्स भइसकेको छ भने, मैले पनि पत्याएँ’ –समीक्षाले प्रहरीलाई भनिन् । समीक्षा अहिले गर्भवती छिन् ।

प्रहरीका अनुसार, खुमबहादुरकी पहिलो श्रीमती रुपमती थिइन् । १४ वर्षअघि श्रीमतीलाई लिएर भारत पसेका उनी फर्कंदा आफूमात्रै फर्किएका थिए । जेठीका तर्फबाट खुमबहादुरका एक छोरा, एक छोरी छन् । जेठी छोरी २२ वर्षकी भइन् । रुपमतीभन्दा पछि खुमबहादुरले दाङमै पवित्रासँग दोस्रो विवाह गरेका थिए । पवित्रा अहिले तुलसीपुरमा बस्छिन् । उनीसँगका एक छोरा र एक छोरी छन् ।

नीताले यो कुरा विवाहपछि मात्र थाहा पाएकी थिइन् । त्यतिबेला उनी आमा बन्न लागेकी थिइन् । (हिमाल)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here