इलाममा चिया परीक्षण केन्द्र निर्माण हुने

0
714

इलाम,

चिया किसानले लामो समयदेखि उठाउँदै आएको ‘चिया परीक्षण केन्द्र’ निर्माणको माग अब पूरा हुने भएको छ । मुलुकमै पहिलो पटक चियाको गुणस्तर सुधार गर्न यहाँको सूर्योदय नगरपालिकामा ‘चिया परीक्षण केन्द्र’ निर्माण हुने भएको हो । दुई वर्षभित्र सम्पन्न हुने केन्द्रको बहुतले भवन निर्माणका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा रु पाँच करोड रुपैयाँ विनियोजन गरिएको छ ।

सो कार्यमा साझेदारी गर्न आवश्यक बजेट विनियोजन गर्ने सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राईले बताउनुभयो । “चिया परीक्षण केन्द्र बनाउन प्रदेश सरकारले पाँच करोड रुपैयाँ विनियोजन गरेको छ”, उहाँले भन्नुभयो, “प्रदेश सरकारसँग हामीले साझेदारी गर्नुपर्ने आवश्यक रकम हामी विनियोजन गर्छौं ।” रु २६ करोडको लागतमा निर्माण हुने केन्द्रको भवनका लागि प्रदेश सरकारको ८० र नगरपालिकाको २० प्रतिशत साझेदारी हुनेछ ।

परीक्षण केन्द्र निर्माण भएपछि इलामको अर्थोडक्स चियाको बजार प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने विश्वास चियाको किसानको छ । परीक्षण केन्द्रको विस्तृत परियोजना प्रतिवेदन र डिजाइन स्टिमेट तयार भइसकेकाले निर्धारित मितिभित्र नै निर्माण सकिने नगरप्रमुख राईले बताउनुभयो ।

चियाको प्राङ्गारिक परीक्षण पनि गरिने

यहाँ निर्माण हुन लागेको चिया परीक्षण भवनमा चियाको प्राङ्गारिक परीक्षणसमेत गरिने जनाइएको छ । धेरै झञ्झट गरेर ठूलो मूल्यमा विदेश लगेर चियाको प्राङ्गारिक परीक्षण गर्ने काम पनि यो भवन निर्माणपछि अन्त्य हुने भएको छ । सर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईका अनुसार प्राङ्गारिक परीक्षणको सबै प्रक्रिया यहीँ गरिने र अन्तिम नतिजाका लागि मात्र विदेश पठाइनेछ ।

योसँगै यहाँ चियाको सूचना केन्द्रसमेत निर्माण गरिने छ । चियासम्बन्धी जानकारीमूलक विषयको सोधखोजका लागि यहाँ सूचना केन्द्र निर्माण गर्न लागिएको हो । चिया व्यवसायी सोमन योल्मोले बहुउपयोगी प्रयोगका लागि निर्माण हुने यो भवन चियाको बजारीकरणमा देखिएको समस्या हल हुनसक्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here