ओम आचार्य,
हिन्दूहरुले हिन्दू भक्त र ऋषिमुनीहरु महापुरुष सन्तहरुलाई पनि देवतुल्य भक्तिको रुपमा हेर्छन् । देवी र देवताहरुको जस्तै यी महात्माहरुको पनि अनेक मन्दिर निर्माण भएका छन् । जहाँ भक्तहरु प्रतिदिन पूजा गर्छन् र साधुसन्तका सम्बन्धित स्थान पनि तीर्थस्थानको जस्तै पूज्य मानिन्छ । नेपालमा यस्तो प्रकारको सानो–ठूलो मन्दिर र पवित्र स्थानबाट हिन्दूहरुको दैनिक जीवनमा आध्यात्मिक पोषण मिल्छ । नेपालका नदीहरुलाई पनि पवित्र मानिन्छ र हिन्दूको मान्यता छ कि विशेष पर्व एवम् तिथिहरुमा ती नदीहरुमा स्नान गर्दा अन्तकरण पवित्र र आध्यात्मिक उन्नती हुन्छ ।
यसै महत्वलाई बुझेर नेपाल सरकारले पनि बाग्मती सफाई अभियान चलाएको हो भने भारत सरकार पनि गंगा सफाईमा लागेको हो । नेपालमा अधिकारिकरुपमा नियमित पंचाग निकाल्ने गरिएको छ र त्यो हिन्दू पंचाग नै हो र त्यसमा भिन्न–भिन्न देवी र देवताको उपासना तिथिहरुले भरिएको छ यो हिन्दूधर्मको लागि महत्वपूर्ण छ ।
हिन्दू धर्म सबै धर्मको एकतालाई मान्छ
हिन्दूधर्मको मान्यता छ कि यो धर्मसम्म पुग्न अनेक बाटोहरु छन् र ती धर्म पथहरुलाई स्वीकार गर्ने मात्र होइन स्वागत पनि गर्छ किनभने विभिन्न व्यक्तिगत मागहरुको आवश्यकतालाई जान्दछ, प्रत्येक व्यक्तिको रुची मानसिक बनावट संस्कारगत झुकावको विविधतालाई सम्झेर हिन्दूधर्म उनीहरुको अनुकूलता अनुसार सबैका लागि पथ प्रशस्त गर्छ । यसै कारणले हिन्दूधर्म प्रत्येक विविध प्रणालीलाई मात्रै स्वीकार गर्दैन, अपितु सबैलाई एउटै सत्यसम्म पु¥याउने विश्वास गर्छ । यो नै हिन्दूधर्मको उदार दृष्टी र सर्वभौमिकताको परिचय हो ।
सर्वधर्म सहिष्णुता शब्दले हिन्दूधर्मको सही अर्थमा चित्रित गर्दैन वास्तवमा हिन्दूधर्ममा सर्वधर्म स्वीकृत छ, सबै धर्मको प्रेरणा एवम् लक्ष्य एकमात्र ईश्वर छ भन्ने कारणले हिन्दूधर्म त्यसलाई पूर्ण स्वीकार छ, हिन्दूधर्म सबै धर्मको एकतालाई मान्दछ । धर्मको नाममा उसको कसैसँग विरोध छैन, हिन्दूधर्मको आत्मामा दुराग्रह संकीर्णता र वैशिष्ट्यताको बोध छैन । हिन्दूधर्ममा सर्वधर्म समाहार छ र हिन्दूधर्मको बल केवल यसैमा छ प्रत्येक व्यक्ति आफ्नो धर्ममा र पथमा इमान्दारीपूर्वक श्रद्धा एवम् निष्ठा र अडिगपूर्वक चलोस् ।
हिन्दूधर्मको सार्वभौम तत्व
आकाशबाट झरेको प्रत्येक पानीको थोपा अन्ततः सागरमा मिसिन्छ । त्यस्तै विविध देवी–देवताहरुको पूजा–उपासनाको गन्तव्य एउटै हो । सबै धर्मप्रति हिन्दूहरुको मुलभूत दृष्टिकोण नै यही हो, यो दृष्टिकोण वैदिक वाड्गमय जत्तिकै प्राचीन हो, यो उदारभावको घोषणा वेदले सबैभन्दा पहिले एकं सद् विप्रा वहुधा वदन्ती भनिसकेको छ, त्यसपछि हिन्दूधर्मलाई समग्रतामा चित्रित गर्ने ग्रन्थ श्रीमद्भगवद् गीतामा भगवान श्रीकृष्णले पुनः उद्घोष गर्नुभयोः मानिसले जुन–जुन भावबाट मेरो आश्रय लिन्छन् म त्यही–त्यही भावबाट ग्रहण गर्छु । जति म त तेती नै पथ ईश्वर एउटै हो र सबै धर्म अन्ततःत्यही लक्ष्यमा पुक्छन् । यो नै सत्य हो हिन्दूधर्मको मुलभूत सिद्धान्त र सार्वभौमिकता हो ।
कर्म नै हिन्दूधर्मको मूल
सबै मंगलकारी शक्तिहरुलाई एकत्रित गर्नुहोस् । कुन झण्डाको मुनी तपाईं अग्रसर हुनुहुन्छ, त्यसको प्रवाह नगर्नुहोस् तपाईंको झण्डाको रंग निलो र हरियो र रातो वा कुनै पनि हुनसक्छ त्यसको प्रवाह नगर्नुस् बरु सबै रंगलाई मिलाउनुहोस् र त्यसमा अत्युज्जवल सेतो रंग निर्माण गर्नुहोस् । जुन प्रेमको रंग हो । हामीले त कर्म गर्नुपर्छ फल त आफसेआफ हँुदै जान्छ । यदि कुनै सरकारी बन्धन हिन्दू राज्य बनाउन बाधक छ भने तपाईंहरुको आत्मा शक्तिको सामुन्ने आफसेआफ घुँडा टेक्छ ।
सनातन धर्म र वैदिक धर्म
प्राचीन वाड्गमयमा हिन्दूधर्मको समानार्थी कुनै शब्द पाइँदैन त्यसमा सनातन धर्म र वैदिक धर्मको प्रयोग पाइन्छ । वेद र उपनिषद्मा वर्णित सनातन धर्म तथा वैदिक धर्मको ठाउँमा अब हिन्दूधर्म स्वीकृत भइसकेको छ र यो हिन्दूधर्मको प्रयोग पनि प्रर्याप्त प्राचीन हो र वर्तमान नेपालीहरुद्वारा स्वीकृत यो शब्दको प्रयोगमा कुनै असंगति छैन, हिन्दूधर्म आज विश्वको प्रमुख जीवन्त धर्महरुमा एक हो र सबैभन्दा धेरै प्राचीन पनि हो । बौद्ध, इसाइ तथा इस्लाम धर्म कै जस्तो हिन्दूधर्म कुनै अवतारी पुरुष या धर्माचार्यको शिक्षाद्वारा गठित भएको होइन । यसको अस्तित्व कुनै व्यक्ति विशेषको शिक्षाको ऋणि पनि छैन । यो त प्रमाणिक वाड्गमय वेदमा आधारित छ । गीताले हिन्दूधर्मको समग्रतामा प्रतिपादित गरेको छ र आधुनिक आध्यात्मिक नेपालको निर्माण भागवत गीता कै आधार हो ।
इस्लाम एवम् इसाइ धर्मको जस्तै हिन्दूधर्म एउटै विचार लिएर हिँड्दैन । यसोभन्दा अझ राम्रो होला हिन्दूधर्म अन्य सबै धर्मद्वारा प्रतिपादित जीवन जगत सम्बन्धित अन्तरव्यापी अन्तिम सत्यको प्रतिनिधित्व गर्छ । हिन्दूधर्मले कुनै एक धार्मिक समप्रदायको कट्टर प्रतिबद्धता र कुनै एक सम्प्रदाय विशेषमा हिँड्ने मानवीय विवशतालाई आग्रह गर्दैन, हिन्दूधर्मले एउटै सत्यको उपलब्धिको विभिन्न उपाय र त्यसको प्रमाणिकतालाई स्वीकृति र आदर गर्छ ।
हिन्दूधर्म र यसको व्यापकता
जबसम्म मानिसले सामाजिक नियमको पालना गरिरहेका हुन्छन् । तबसम्म कुनै पनि इष्टदेवता मानेकै कारणले या नास्तिक या अज्ञेयवादी भएकै कारणले पीडित गरिएको छ ? समाजले कसैलाई कुनै सामाजिक नियम भंग गरेको अपराधमा शासित गरोस्, तर प्रत्येक मान्छेलाई अति निच पतित नै किन नहोस् उनीहरुको लागि पनि हिन्दूधर्ममा मोक्षमार्ग कहिल्यै पनि बन्द गरिएको छैन । संसारमै भएका धर्महरु मध्ये हिन्दूधर्म नै यस्तो धर्म हो जहाँ अन्य धर्मको तुलनामा एक भाव विशेष हुन्छ । सयौं जीवनमा लगातार प्रयत्न गर्नुहोस् युगौयुग आफ्नो अन्तरमनमा खोज्नुहोस् । तैपनि तपाईं यस्तो उदार धार्मिक विचार देख्नु हुन्न । तर, हिन्दूधर्ममा आध्यात्मिकताको त्यो अनन्त खानीमा पूर्वदेखि नै हिन्दूधर्ममा अन्तर्निहित छ र साच्चै भन्ने हो भने हिन्दूहरु संसारको अन्य जातिको तुलनामा अपेक्षाकृत नैतिक आचारमा अत्यधिक उन्नत भएको पाइन्छ ।
जगत गुरु शंकराचार्य र वैदिक सनातन धर्म
आचार्य शंकरले तत्कालीन समयमा सम्पूर्ण भारतमा वैदिक सनातन धर्मको ह्रास बलहीन विध्वस्त र छिन्नभिन्न भएको अवस्थामा हिन्दू वैदिक सनातन धर्मको प्रचार–प्रसार गरे र सम्पूर्ण नकारात्मक विचारलाई केवल हिन्दूधर्मले मात्रै अर्थात् आध्यात्मिक सत्यको मूल आधार केबल सनातन वैदिक धर्मको महाशक्तिले मात्रै रोक्न सक्ने बताए । उनको प्रतिभा अपूर्व थियो, साधना अलौकिक उनको तेजस्विता तथा दिव्य ज्ञानको फलस्वरूप हिन्दूधर्म ह्रास हुनुबाट बच्यो, विश्वनाथ मन्दिरको पुनःस्थापना, बद्रीनाथमा नारायणको बिग्रह स्थापना जगन्नाथमा पनि बिग्रहको स्थापना लगायत हिन्दूधर्ममा जीवन दिँदै प्रचार–प्रसारमा जुटी रहे, भारतको चारै दिशामा आचार्य शंकरले चार पिठको स्थापना गरे र यही चार किल्लाले आज भारत सुरक्षित छ भने अर्कोंतिर हिन्दूधर्मको प्रचार–प्रसार पनि यिनै मठको दायित्वमा आएको छ । आचार्य शंकर पथ, आचार्य शंकरले नै वैदिक धर्म राज्य स्थापना गरेका हुन् ।
पशुपतिनाथ र शंकराचार्य
पशुपतिनाथमा पूजा–अर्चना बन्द भयो हिन्दूधर्मको पूर्ण अवहेलना भइरहेको थियो । मन्दिरको पवित्रतालाई नष्ट गरिएको थियो । धर्म विरोधीहरुले मन्दिरभित्र अपवित्र वस्तु फ्याकेर मन्दिरलाई भ्रष्ट गरेका थिए । आचार्य शंकरले नै आएर मन्दिरको मार्जन र पूजाको आदेश दिए र देवताको पूजा र बन्दनामा ध्यान मग्न भए र सम्पूर्ण शिष्यहरुको उपस्थितिमा पशुपतिको पूजा–अर्चनामा संलग्न हँुदै जय ध्वनीको दशै दिशामा प्रतिध्वनि गुञ्जेको थियो र नेपालमा हिन्दू जागरणको नवजागरण आयो पशुपतिको जिर्णोद्वार शास्त्रसम्मत् पूजा नियमितरुपमा गराउन विद्वान ब्राह्मण नियुक्त भए साच्चै भन्ने हो भने अहिलेसम्म संसारमा जति पनि धर्म प्रचारित भए त्यसमा अधिकांश प्रधान त राजशक्तिको पृष्ठपोषकतामा नै वृद्धी भएका छन् । तर, हिन्दूधर्म एकमात्र वैदिक सनातन धर्मको प्रचार त्यसको अपवादमा देखापर्छ, आचार्य शंकर वैदिक धर्मको झन्डै लिएर आत्माशक्तिको बलले अगाडि बढेका थिए । आचार्य शंकरको पछाडि सेनाको पदध्वनी थिएन बन्दुक र गोली पनि थिएन मात्रै वेदध्वनी थियो, मन्त्रोचारण थियो, देवी–देवताहरुको भजन र किर्तन थियो ।
मुख्य विषय
भारतमा चार पिठाधीश हँुदाहँुदै नेपालमा एक अर्कों पिठाधीशको आवश्यकता किन भयो ? यो कुरा मनन् योग्य छ । नेपालमा कालान्तरमा धार्मिक संकट आउने संकेत देखेर नै दूरदर्शी धर्म गुरु शंकराचार्यहरुले नेपालमा पनि धर्म रक्षाका लागि चतराका हाम्रा पूज्य गुरु बालसन्तलाई जगत्गुरु शंकराचार्य घोषण गरे यो संयोग होइन, पूर्व नियोजित विधिकों विधान हो यसरी बुझ्नुहोस् । बालसन्तलाई मात्रै शोभाको लागि, मानको लागि उहाँको नाम अगाडि यो विशेषण आएको होइन । अब उहाँ माथि ठूलो दायित्व आएको छ ।
आदि गुरु शंकराचार्यको पथयात्रामा आफ्नो पथ मिलाउनु र नेपालमा वैदिक सनातन हिन्दूधर्म रक्षाको लागि मुक्तिनाथ पिठाधीश कमलनयनचार्य कालीबाबा लगायत थुप्रै धर्म गुरुलाई समेटेर हिन्दूधर्मको प्रचार–प्रसार गरेर सम्पूर्ण नेपालीलाई जागरुक गरेर हिन्दू राज्य स्थापनाको महान लक्ष्यमा एकीकृत गर्नु नेतृत्व लिनु नै शंकर पथ हो । अहिले निरपेक्षको प्रसारमा राजनीतिक शक्तिको पृष्ठपोषकतामा वृद्धी भएको अवस्थामा जगत्गुरु शंकराचार्य बालसन्तले वैदिक झण्डै उठाउनुहोस् वेदध्वनी पैदा गर्नुहोस् मन्त्रोच्चारण गराउनुहोस् वन्दना–पाठ गराउनुहोस् र हिन्दू राष्ट्रका लागि जागरुक गराउनु नै नाम अगाडिको यो विशेषण सार्थक रहने छ ।