बाजा बजाउन ब्राह्मण युवालाई भ्याइ नभ्याइ

0
1930

बिर्तामोड, यतिबेला विवाहको मौषम छ । कोही ब्याण्ड बाजा त कोही नौमती बाजासहित जन्ती हिँड्नेको ताँती नै छ ।
विवाहमा नौमती बाजा बजाउँदाको रौनक छुट्टै छ । विवाहको मौषममा नौमती बाजा बजाउन दलित समुदायका दर्जीलाई भ्याइ–नभ्याई हुन्छ । तर, बुधबार बिर्तामोडको अतिथिसदनको ठिक पछाडि रहेको सुरेश ढकालको निबासबाट निस्किएको जन्तिको अगाडि हिड्ने नौमती बाजा बजाउनेको टोली भने केही फरक थियो ।
त्यो बाजा बजाउनेको टोली कुनै दलित समुदायका दर्जीको नभएर व्राह्मण समुदायका युवाको थियो । सिमसिम पानी परिरहँदा र सवारीसाधनको व्यस्तता र हर्नसहितको कोलाहलका बावजुत पनि चोटिलो आवाजको नौमतीको पुल्टुङलपुल्टुङ झ्याई र नरसिंहाको धुतु–धुतुले बिर्तामोड नै गुञ्जयमान बनाएको थियो । त्यो बाजा बजाएको सुन्ने जो कोही पनि तीन छक्क परेर हेर्थे । नौ महिनाअघि बिर्तामोडमा ‘एक्टिभ नाइन समूह’ गठन गरेर विवाह लगायतका शुभकार्यमा खुलेरै नौमती बाजा बजाउन शुरु गरेका उनीहरुलाई अहिले गाउँघरमा आयोजना हुने शुभकार्यमा नौमती बाजा बजाउन भ्याइ–नभ्याई छ ।
झापाका गोबिन्द निरौला, भानुभक्त खनाल, सुरेश खतिवडा, रोहित भट्टराई, मिलन ढकाल, बिनोद दाहाल, अर्जुनबहादुर थापा, पुण्यप्रसाद खतिवडा, झरेन्द्र खतिवडा रहेको ‘एक्टिभ नाइन समूह’ को टोली यतिबेला विवाह लगायतका शुभ कार्यमा नौमती बाजा बजाउन व्यस्त छ ।
नौमती बाजा हामी सबैको साझा भन्ने मूलमन्त्रका साथ बिभिन्न शुभकार्यमा आफ्नो कला र क्षमता देखाउने गरेको बताउँछन् समूहका अध्यक्ष गोबिन्द निरौला ।
उनी भन्छन्– ‘हामीहरुलाई सहभागी गराउने पक्षले दिएको रकमको दश प्रतिशत रकम सामाजिक क्रियाकलापमा खर्च गर्ने गर्दछौं बार्षिकरुपमा कार्यक्रम नै गरेर यस समूहले रकमको सही सदुपयोग गर्नेछ ।’
कला संस्कृति र परम्पराको संरक्षण गर्न कुनै बिशेष जात र समूहको मात्र दायित्व नभएर सबै जुट्नुपर्ने उनी बताउँछन् । दलित समूहकै पाको ब्यक्तिलाई गुरु मानेर नौमति बाजा बजाउन सिकेपछि समूह तयार भएको बताउँछन् समूहका सचिव भानुभक्त खनाल ।
नौमती बाजाका परिकल्पनाकार मिलन ढकाल कुनै समय बाहुनहरुले बाजा छुनै हुँदैन, बिहेमा बाजा बजाउने त कथित तल्लो जातिले मात्र हो भन्ने परम्परागत सोचलाई झापाका व्राह्मण समुदायका युवाले परिवर्तन गरिदिएको बताउँछन् ।
बिवाहमा रोहित भट्टराईले सहनाई, सुरेश खतिवडाले झ्याम्टा, मिलन ढकालले दमाहा, बिनोद दाहालले ढोलकी, भानुभक्त ढकालले नरसिंहा, अर्जुनबहादुर थापाले नगरा, गोविन्द निरौलाले ट्याम्को, पुण्यप्रसाद खतिवडाले नरसिंहा, झरेन्द्र खतिवडाले कर्नाल लगायत बजाएका थिए ।
उनीहरुले उत्साह र जागरका साथ सबै बाजा उत्तिकै तालमेलमा बजाएका थिए । वैवाहिक कार्यक्रममा फोटो खिच्ने र भिडियो खिच्नेको भीडले आफूहरुलाई झनै उत्साह जगाएको समूहका सदस्य सुरेश खतिवडाले बताए । अहिले विवाह, व्रतबन्ध लगायतका शुभकार्यमा नौमति बाजा बजाउने माग धेरै आएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here