बिर्तामोडका व्यापारी र स्थानीयले सडकमै धान रोपेर जनाए विरोध

0
1438

पार्थ मण्डल / भद्रपुर ।


आज असार १५ गते अर्थात् धान दिवस । धान दिवसका दिन कृषकहरू हर्सोउल्लासका साथ खेतमा गएर धान रोपेर दिवस मनाउँदै आइरहेको दृश्य जताततै देख्न पाइन्छ । तर, झापा बिर्तामोडका व्यापारी र स्थानीयहरूले आइतबार धान दिवस फरक दंगले मनाएका छन् ।

उनीहरू खेतमा नगएर हिलाम्मे सडकमै नाँच्दै गाउँदै धान रोपेर दिवस मनाएका हुन् । सडकको धुलो र हिलोबाट पीडित बिर्तामोडका व्यापारी र स्थानीयले निर्माण कार्यमा ढिलासुस्ती भएको भन्दै पानी जमेको हिलाम्मे सडकमै धान रोपेर विरोध जनाएका छन् । धान रोपे पश्चात उनीहरुले सडक किनारमै बसेर दहि चिउरा समेत खाए ।

बिर्तामोडको मुक्तिचोकदेखि सदरमुकाम भद्रपुर जोड्ने चार लेनको सडक खण्डको निर्माण कार्य १४ महिना अघि सुरु भएको थियो । निर्माण कम्पनी र सम्बन्धित निकायले निर्माण कार्यमा ढिलासुस्ती गर्दा सो सडक खण्डको अवस्था बिजोग बनेको छ । हिउँदमा धुलो पीडित बनेका यहाँका जनता मनसुन सुरु भएपछि थप मारको परेको स्थानीय व्यापारी सन्तोष अग्रवालले जानकारी दिए ।

‘अहिले ठाउँ–ठाउँमा पानी जमेको छ, पसल अगाडी जताततै सडक हिलाम्मे भएको छ’, व्यापारी अग्रवालले भने, ‘भद्रपुर रोडको यस्तो दुर्दशालाई सरकार समक्ष पुर्याउन यहाँका जनताले विरोध स्वरूप सडककै धान रोपेको हो ।’ असार १५ मा खेतमा धान रोप्नु पर्नेमा हामी बाध्य भएर सडकमै धान रोप्नु परेको बताउँदै उनले भने, ‘अब पनि सडक निर्माणमा ढिलासुस्ती भए व्यापारी सडकमै उत्रिएर अवरोध गर्छ ।,

निर्माण कार्य कछुवाको गतिमा

बिर्तामोडको मुक्तिचोकदेखि भद्रपुरको लेखनाथ चोकसम्म जोडने सडकको दुरी १४ किलोमिटर पर्छ । १४ किलोमिटर सडक अन्तरगत पहिलो चरणको निर्माण कार्य जम्मा चार किलोमिटर हो । स्मार्ट सिटीको अवधारणाअनुसार भद्रपुर रोडमा निर्माण कार्य सुरु भएको १४ महिना बितिसक्यो ।

निर्माण कम्पनीले गरेको सम्झौताअनुसार सडक निर्माण कार्य २०७६ असोजभित्र सकिनु पर्ने हुन्छ । तर, अहिलेसम्म सडक छेऊछाऊको दायाँबायाँ दुवै तर्फ पक्की नाला बनाउने कार्य समेत पूरा भएको छैन । दमकस्थित सडक डिभिजन कार्यालय झापाले पहिलो चरणको ठेक्का स्वीकृत अनुसार बिर्तामोड–भद्रपुर सडकको चार किलोमिटर खण्ड १८ महिनाभित्र सक्नुपर्ने जानकारी दिए । आशिष् प्रेरा जेभीसँग गत वर्ष २४ असारमा ठेक्का सम्झौता गरेको बताइएको छ ।

सम्झौताअनुसार बिर्तामोड बजार क्षेत्रको अढाई किलोमिटर सडक चार लेनको र त्यहाँदेखि उता डेढ किलोमिटर सडक दुई लेनको बनाउनुपर्ने छ । तर, काम अत्यन्तै कछुवाको गतिमा भइरहेकोले सडक आसपासका स्थानीय र व्यापारी आक्रोशित बनेका छन् । २७ करोड लागतमा निर्माणधिन अवस्थामा रहेको सडकमा निर्माण कम्पनीले दुई दर्जन मजदुर पनि खटाएको देखिँदैन र त्यसमा पनि उनीहरू नियमित काममा नआएको स्थानीयवासी बताउँछन् ।

यता सडक डिभिजन कार्यालय दमकका प्रमुख श्यामकुमार यादवले निर्माण कार्यमा ढिलासुस्ती भइरहेको स्वीकारे । निर्माण कम्पनीलाई तीव्र गतिमा काम गर्न सडकले निर्देशन दिइसकेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here