स्क्रप टाइफसबाट झापामा एक किशोरको मृत्यु भएको आशंका

0
607

झापा।

स्क्रप टाइफसको संक्रमणवाट झापामा एक जनाको मृत्यु भएको आशंका गरिएको छ ।

कमल गाउँपालिका वडा नम्बर –४ को फोनिक्स इङ्लिस वोर्डिङ्ग स्कूल कक्षा ९ का छात्र रिजेन राईको स्क्रप टाइफस संक्रमणवाट मृत्यु भएको आशंका गरिएको छ । कमल गाउँपालिकाको स्वास्थ्य शाखाले राईको डेंगुको संक्रमणबाट मृत्यु भएको हुन सक्ने आशंका गरेको थियो । तर, दमकको नमस्ते हस्पिटल र धरानको घोपा क्यम्पको स्वास्थ्य रिर्पोट अनुसार डेंगु नेगेटिभ देखिएको कमल गाउँपालिकाका स्वास्थ्य संयोजक रामचन्द्र मिश्रले बताए । उनका अनुसार घोपा क्याम्पका चिकित्सकले राईको मृत्यु स्क्रप टाइफसका कारण हुनसक्ने आशंका गरेका छन् ।

इलामको साक्फारा घर भएका रिजेन कमल गाउँपालिकास्थित मावल घरमा बसेर अध्ययन गर्दै थिए । प्रिन्सिपल बद्री साम्पाङ राईका अनुसार रिजेन गएको बुधबार विद्यालय आएका थिए । कक्षा कोठामै टाउका दुख्यो भन्दै बिदा मागेपछि उनलाई विद्यालयले घर पु¥याएको थियो ।

रिजेनको स्वास्थ्यमा सुधार नआएपछि उनलाई दमकको नमस्ते अस्पतालमा उपचारका लागि लगिएको पारिवारिक श्रोतलाई उद्धृत गर्दै प्रिन्सिपल राईले जानकारी दिए ।

नमस्ते अस्पतालले रिजेनको स्वास्थ्य परीक्षण गर्दा प्लेटलेट्सको मात्रा ६८ हजार मात्र रहेको जनाएको थियो । सो अस्पतालका अनुसार सामान्यत स्वस्थ मानिसको प्लेटलेट्सको मात्रा १ लाख ५० हजारदेखि ३ लाखसम्म हुनुपर्छ ।
उनलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप उपचारका लागि रेफर गरेको सो अस्पतालले जनाएको छ । तर, रिजेनलाई त्यसदिन अर्थात विहीबार घर ल्याइएको आफन्तको भनाइ उद्धृ्रत गर्दे प्रिन्सिपल राईले वताए । शुक्रबार रिजेनलाई थप उपचारका लागि धरान लगिएको थियो । प्रतिष्ठानले अस्पतालमा आईसियूमा ठाउँ नभएकाले विराटनगर रेफर गरेको प्रिन्सिपल राईले बताए ।

त्यसपछि रिजेनलाई विराटनगरको मेक्स ईन्टर नेशनल प्रालि अस्पतालमा लगिएको थियो । उनको आइतवार विहान सो अस्पतालमा मृत्यु भएको कमल गाउँपालिकाका स्वास्थ्य शाखाका मिश्रले जानकारी दिए । रिजेनको शव मोरङ्गको मंगलवारे स्वास्थ्य केन्द्रमा राखिएको छ । यस सम्बन्धी जानकारी रोग नियन्त्रण महाशाखामा गराएको बताइएको छ । कमल गाउँपालिकाको स्वास्थ्य शाखा, नमस्ते अस्पतालका चिकित्सकले रिजेनको रोगको लक्षण डेंगुको जस्तो देखिएको बताएका थिए ।

के हो स्क्रप टाइफस ?

स्क्रप टाइफस एक किसिमको ज्वरो हो जसको उपचार समयमै नगरिएमा यसले शरीरको धेरै अंगमा फैलिएर हानी पु¥याउँछ ।

प्रायः गर्मी महिनामा देखिने यो रोग फैलिँदै गएमा महामारीको रुप पनि लिन सक्ने भएकाले यसबारे सामान्य जानकारी राखी सबै सजग हुन जरुरी छ ।

के बाट सर्छ स्क्रप टाइफस ?

यो रोग रिकेटसीया (हालसालै यसलाई ओरेन्सिया भन्ने समूहमा राखिएको छ) भनिने एक सूक्ष्म ब्याक्टेरियाले गर्दा मानिसमा लाग्छ । मुसा, छुचुन्द्रो लगायतका जीवहरु यो ब्याक्टेरियाको भण्डार हुन् । ती जीवबाट स–साना माइट भनिने किर्नाले मान्छेमा रोग सार्ने काम गर्छ । झार, चौर, घाँसपात, पुरानो काठहरुमा बस्ने यो किर्नाले सो व्याक्टेरिया मुसाहरुबाट मान्छेमा सारेपछि स्वस्थ मानिस यो रोगबाट संक्रमित हुन्छ । यो रोग मानिसबाट मानिसमा भने सर्दैन ।

यसका लक्षणहरु के के हुन् ?

शुरुमा यस रोगमा एकनासले ज्वरो आउने, टाउको दुख्ने, पसिना आउने, आँखा वरिपरि दुख्ने, थकाई लाग्ने, कमजोरी हुने, खोकी लाग्ने, पाँचौदेखि सातौं दिनमा घाँटी वरिपरि रातो विमिरा देखिने गर्छ, जुन पछि पेट, अनुहार, हात र खुट्टामा पनि फैलिँदै जान्छ । घाँटी वरिपरिका ग्रन्थीहरु सुन्निएर गिर्खा बन्न शुरु भएकोे लक्षण देखिँदै उपचार नगरिएमा यो रोग शरीरको अन्य भागमा फैलिँदै जान्छ । त्यसपछि यस रोगको कडा लक्षणहरु देखा पर्छ ।
सास फेर्न गाह्रो हुने, मुटु, मृगौलाले काम गर्न छोड्ने र अन्त्यमा दिमागलाई असर गरेर बिरामीको मृत्यु पनि गराउन सक्छ ।

यो रोगको जांँच कसरी गर्ने ?

माथिका लक्षणहरु देखा परेमा तुरुन्त नजिकैको अस्पताल गएर चिकित्सकलाई देखाई हाल्नुपर्छ । रगतमा एन्टीजेनको एक प्रकारको जाँच गरेपछि यो रोग लागेको हो या हैन थाहा पाउन सकिन्छ ।

उपचार कसरी गर्ने ?

रोग लागेको पक्का भएपछि चिकित्सकको सल्लाह अनुसार पूरा डोजको एन्टीबायोटिक प्रयोग गरेमा यो रोग निको हुन्छ ।

यो रोगबाट कसरी बच्ने ?

खेतबारीमा काम गर्ने किसानहरु, झाडी र घाँसमा खेल्ने बच्चाहरुमा यो रोग सर्ने संभावना धेरै हुने हुनाले सजगता अपनाउन जरुरी हुन्छ ।

त्यस्ता किरा, किर्ना, मुसा, छुचुन्द्रो घर वरिपरि देखिएमा किटनाशक औषधि प्रयोग गर्नुपर्छ । साथै रोग लागेको शंका लागेमा र त्यस्तो शकास्पद लक्षण देखिएमा तुरुन्त अस्पताल गएर जचाँउनु उपयुक्त हुने चिकित्सकहरुले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here