घर पाउँदा झकडबहादुर दंग

१७ असार २०७६, मंगलवार मा प्रकाशित

झापा।

झापा कनकाई नगर क्षेत्रमा परालको झुप्रोमा कष्टकर जीवन बिताउँदै आएका झकडबहादुर दर्जी शौचालयसहितको तीन कोठे घर पाउँदा खुशी भएका छन् । पूर्ण अपाङ्गता भएका दर्जीले शौचालय सहितको घर पाएपछि आफूले नयाँ जीवन पाएको भन्दै खुशी व्यक्त गरेका हुन् ।

कनकाई नगरपालिकाले मेयर आवास कार्यक्रमअन्तर्गत विपन्नका लागि निर्माण गरिएको सुविधा सम्पन्न आवास पाएपछि उनले खुशी हुँदै जनप्रतिनिधिको खुलेर प्रशंसा गरे । जन्मँदै घरबारविहीन भएर वर्षौैंसम्म सडकमा जीवन बिताएका बेपत्ता परिवारले समेत स्थानीय तहको नेतृत्व पाएपछि जनप्रतिनिधिको सक्रियतामा निर्माण भएको सुविधा सम्पन्न घरले उनीहरुलाई राहत दिएको छ । लामो समयसम्म घरबारविहीन भई कष्टकर जीवन बिताउँदै आएका परिवारले शौचालय सहितको घर पाउँदा भगवानको नजर परेको भन्दै खुशी व्यक्त गरेका हुन् ।

झापा कनकाई नगरपालिका–७ मा विपन्नका लागि निर्माण भएको मेयर आवासमा हाल ११ वटा घर निर्माण भइसकेका छन् भने अन्य आठ वटा घर निर्माणाधीन अवस्थामा रहेको निर्माण समितिका संयोजक प्रेमप्रसाद उप्रेतीले बताए ।

जनप्रतिनिधिले स्थानीय तहको नेतृत्व सम्हालेपछिको पहिलो र दोस्रो आर्थिक वर्षको बजेटबाट कनकाई नगरको रु. ५५ लाख, सहारा नेपालको रु. १५ लाख, तराई–मधेश समृद्धि कार्यक्रमअन्तर्गत सङ्घीय सरकारबाट प्राप्त रु. ४० लाख र नगरप्रमुख राजेन्द्र पोखरेलबाट रु. दुई लाख गरी पहिलो चरणमा रु. एक करोड १२ लाखको लागतमा मेयर आवास निर्माण कार्य सम्पन्न हुने लक्ष्य राखिएको नगर प्रमुख पोखरेलले बताए । विकास निर्माणका गतिविधिलाई निरन्तरता दिँदै आएको कनकाई नगरपालिकाले मेयर आवास कार्यक्रमअन्तर्गत आर्थिकरुपले अति विपन्न परिवारको पहिचान गरी पहिलो चरणमा ११ परिवारलाई बसोबासको व्यवस्था मिलाउने उनले बताए ।

सोही क्षेत्रमा रहेको तीन कठ्ठा १७ धुर जमीनमा दीर्घकालीनरुपमा आवास सञ्चालनका लागि मेयर आवास कोषको व्यवस्थापन गर्ने योजना रहेको पनि नगरप्रमुख पोखरेलले जानकारी दिए । मेयर आवास कार्यक्रमअन्तर्गत निर्माण भएका आवासमा बसोबासका लागि २५ वर्षदेखि निरन्तररुपमा कनकाई नगर क्षेत्रमा बसोबास हुनुपर्ने, एकाघरको परिवारभित्रका कुनै पनि सदस्यको नाममा जग्गा जमीन नभएको, आर्थिकरुपले अति विपन्न परिवारलाई प्राथमिकतामा राखेर अघि बढ्ने योजना रहेको छ । नगर प्रमुख पोखरेलले भने– यस्ता विपन्न परिवारका लागि आवास निर्माणको कार्यलाई नगरभरि नै विस्तार गर्दै जाने योजना छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here