चीनको विकास बुझेर फर्किए पोखराका पर्यटन व्यवसायी महिला

0
435

चिप्लेढुङ्गा,

पोखराको पर्यटन क्षेत्रमा सक्रिय महिलाहरु ११ दिने चीनको भ्रमण गरेर नेपाल फर्किएका छन् । महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ) को आयोजनामा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ पर्यटन व्यसायीको टोली छिमेकी मुलुक चीन पुगेको थियो ।

चीन भ्रमणको अनुभव आदान प्रदान कार्यक्रममा महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ)का अध्यक्ष जमुना पराजुलीले चीनले छोटो समयमै आर्थिक छलाङ मार्न त्यहाँको सरकारले आर्थिक क्षेत्रको पहिचान गरी खेलेको भूमिका सराहनीय रहेको बताउनुभयो ।

उहाँले चीनको विकासको मोडललाई अपनाएर विकास गर्ने सके नेपाल छिट्टै समृद्ध हुने विश्वास व्यक्त गर्नुभयो ।पराजुलीले चीनका प्रमुख शहरहरुमै नेपालबारे थाहा नहुनु दुःखद भएको बताउनुभयो । “हामी मुख्य तीन शहर बेइजिङ, गोन्जाओ र साङघाई शहरका प्रमुख गन्तव्यमा पुग्यौँ, कतिपय ठाउँमा नेपाल भनेको कहाँ छ भन्नेसमेत थाहा रहेनछ, अधिकाशं पसलमा हामीलाई भारतीय नागरिक बनाइयो”, पराजुलली भन्नुभयो, “नेपाल भ्रमण वर्ष २०२० का पर्चाहरु बाड्यौँ, सगरमाथा र गौतमबुद्धको देश र चीनसँगै सिमाना जोडिएको भन्दै परिचय दिँदै हिड्यौँ ।”

मञ्चका सचिव उमा भण्डारीले चीनको विकास र त्यसले अवलम्बन गरेका नीतिको अध्ययनका लागि पर्यटन व्यवसायी महिला चीन पुगेको बताउनुभयो । हरेक क्षेत्रमा सक्रियरूपमा तल्लीन त्यहाँका नागरिकको मेहनतले पनि चीनलाई आर्थिकरूपमा सबल बनाउन सकेको उहाँको धारणा थियो । स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गरेर आर्थिक परनिर्भरताबाट टाढा रहेको चीनका धेरै पक्षहरु सिको गर्नलायक रहेको सहभागी उमा काफ्लेले बताउनुभयो ।

प्राकृतिकभन्दा पनि मानवनिर्मित धेरै कुराबाट विश्वको ध्यान खिचिरहेको चीन नेपालीका लागि एक महत्वपूर्ण अध्ययन अवलोकनको गन्तव्य रहेको भ्रमणमा सहभागी माया सुवेदीको अनुभव थियो । भ्रमणको अनुभव सुनाउँदै गोमा भण्डारीले नेपालको विमानस्थलमै सोधिएका अनेक र अनावश्यक प्रश्नले नरमाइलो लागेको बताउनुभयो ।

बेइजिङको टप भ्यूज होलिडेज प्रा.लिसँगको समन्वयमा मञ्चका १८ पर्यटन व्यवसायी महिलाको टोलीले बेइजिङ, साङ्घाई, गोन्जाओ शहरका मुख्यमुख्य ठाउँहरुको अध्ययन अवलोकन गरेको कार्यक्रम संयोजक सुशीला सिग्देलले जानकारी दिनुभयो । टोली असारको तीन गते गएर १४ गते फर्किएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here