खोटाङमा भएको मानव अधिकार उल्लङ्घनका घटनामा सबैभन्दा बढी बलात्कारका घटना

0
316

खोटाङ,

गएको छ महीनामा खोटाङ जिल्लामा भएको मानव अधिकार उल्लङ्घनका घटनामा सबैभन्दा बढी बलात्कारसम्बन्धी घटना भएकोे पाइएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) खोटाङ शाखाले सोमबार सार्वजनिक गरेको मानव अधिकार उल्लङ्घनका घटनासम्बन्धी प्रतिवेदनमा जिल्लामा १४ बलात्कारसम्बन्धी घटना भएका थिए ।  ‘नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२० को पूर्व अर्धवार्षिक समीक्षा’ मा गत पुस–१५ देखि हालसम्मका प्रतिनिधिमूलक घटना प्रस्तुत गरिएको थियो । यस अवधिमा छ बलात्कार तथा आठ बलात्कार प्रयासको घटना भएको इन्सेक प्रतिनिधि रामधन राईले जानकारी दिनुभयो ।

इन्सेकको अभिलेखअनुसार बलात्कारका घटनामा बालिका बढी पीडित भएका थिए । जिल्लामा चार बालिका तथा दुई महिलामाथि बलात्कारको घटनासम्बन्धी तथा पाँच महिला र तीन बालिकामाथि बलात्कार प्रयास भएको उजुरी दर्ता भएका थिए ।

बलात्कार प्रयाससम्बन्धी मुद्दाका चार आरोपीले भने सफाइ पाइसकेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताउनुभयो । “पीडित भनिएकाले रिसिइबीका कारण मुद्दा दर्ता गराएका रहेछन्”, उहाँले भन्नुभयो, “प्रहरीमा उजुरी आएपछि घटनाका बारेमा अनुसन्धान गर्दा उनीहरु निर्दोष रहेको पाएपछि पीडक भनिएकालाई अदालतले सफाइ दिएको थियो ।”

यस्तै हाडनातामा पर्ने एक बालिकालाई जबर्जस्ती करणी गर्ने एक जनालाई जन्मकैदको फैसला सुनाइएको जिल्ला अदालतले जनाएको छ । इन्सेकको प्रतिवेदनअनुसार दुई महिलाको हत्या, दुई महिलालाई कुटपिट गरी घाइते बनाइएको र एक जनालाई हत्याको प्रयास गरिएको घटना दर्ता भएका थिए । छ महीनाको अवधिमा जिल्लामा एउटा मात्र बहुविवाहको मुद्दा दर्ता भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here