भारतीय ओरियन्स कम्पनीको औषधि नेपाल भित्राउने गिरोह सक्रिय, झापामा पाँच लाखको औषधि बरामद

0
9931

पार्थ मण्डल/झापा ।

नेपालमा प्रतिबन्धित भारतीय ओरियन्स कम्पनीको औषधि भित्रिने क्रममा अझै रोकिएको छैन । झापाका स्थानीय युवायुवतीलाई प्रयोग गरेर नेपाली बजारमा भित्राउने ओरियन्स कम्पनीको आयुर्वेदिक औषधि झापाका सीमावर्ती नाकाबाटै भित्रिने गरेको पाइएको छ ।

यसैक्रममा प्रहरी कार्यालय झापाबाट खटिएका सादा पोसाकको प्रहरी टोलीले मेचीनगर नगरपालिका ६ फोहोर मैला भन्ने स्थानबाट अन्दाजी पाँच लाख मूल्य बराबरको ओरियन्स कम्पनीको औषधि बरामद गरेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार भारतबाट अवैध रूपमा नेपाल भित्राइएको ओरियन्स कम्पनी लेखिएको विभिन्न किसिमका दुई कार्टुन औषधि बरामद गरेको हो । बरामद गरिएको औषधिको बजार मूल्य अन्दाजी ५ लाख रहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए । बरामद गरिएको औषधिलाई आवश्यक कारबाहीको लागि औषधी व्यवस्था विभाग विराटनगर पठाउने उनले बताए ।

पछिल्लो समयमा ओरियन्स कम्पनीका भारतीय एजेन्टहरूले नेपाली युवायुवतीलाई रोजगारीको प्रलोभनमा पारेर अवैध रूपमा औषधि भित्राउने गरेको प्रहरी स्रोतको दाबी छ । भारतीय एजेन्टहरूले झापाका विभिन्न स्थानमा आएर नेपाली एजेन्टमार्फत यस्तो अवैध कारोबार सञ्चालन गर्दै आइरहेको छ । यस्तो अवैध कारोबार रोक्न प्रहरीले सीमाक्षेत्रमा ती कम्पनीका औषधि बरामद गरे पनि भित्रिने क्रम अझै रोकिएको छैन ।

सीमाक्षेत्रबाट अवैध रूपमा नेपाल भित्रिने औषधि मात्र नभएर अन्य तस्करी गतिविधि रोक्न प्रहरीले जिल्लाभर अभियानै सुरु गरिसकेको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक (एसपी) दिनेशकुमार मैनालीले बताए । ‘प्रहरीले भारतीय औषधि भित्राउने गिरोहको खोजीमा लागि परेको छ’, एसपी मैनालीले भने, ‘पक्राउ परेपछि त्यस्ता व्यक्तिलाई कानुन बमोजिम कारबाही गर्न प्रहरी पछि हट्दैन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here