भद्रपुर ।
झापाको भद्रपुरमा पत्रकार र सञ्चार विषयक दुई दिने प्रशिक्षण कार्यक्रम शुक्रवारदेखि सुरु भएको छ ।
भद्रपुर नगरपालिका कार्यालयको सहयोग तथा प्रेस क्लब भद्रपुरको आयोजनामा भद्रपुर ८ स्थित नेपाल रेडक्रस सोसाइटी झापा शाखाको सभाहलमा प्रशिक्षण कार्यक्रम सुरु भएको हो । प्रशिक्षण कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै वक्ताहरूले सरकार विरुद्धको प्रमुख प्रतिपक्षको भूमिका मिडिया जगतले निर्वाह गरिरहेको छ ।
अहिलेको पत्रकारिता प्रविधि मैत्री बन्न थालिसकेकोले सो अनुसार पत्रकार र सञ्चारमाध्यम अघि बढ्नु पर्ने सहभागीहरूले जोड दिए । प्रेस क्लब भद्रपुरका अध्यक्ष गोविन्द चन्द क्षेत्रीको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा झापाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेल, नेपाल पत्रकार महासङ्घ झापा शाखाका अध्यक्ष तारमणि सापकोटा, नेपाल रेडक्रस सोसाइटी झापाका पूर्व कोषाध्यक्ष भक्त खवास लगायतले मन्तव्य राखेका थिए । स्वागत मन्तव्य क्लबका सल्लाहकार संयोजक चिन्तामणि दाहालले राखेको कार्यक्रमको सञ्चालन क्लबका सल्लाहकार माधव विद्रोहीले गरेका थिए ।
यता प्रशिक्षणमा कार्यक्रममा भद्रपुर ३ नम्बर वडा कार्यालयकी वडा अध्यक्ष कमला थुलुङ, ८ नम्बर वडा कार्यालयका सचिव नेत्र पोखरेल, नगरपालिकाका आन्तरिक लेखापरिक्षक डिल्ली ढकाल, भद्रपुर महिला विकास शाखाकी प्रमुख जीवन कुमारी राउतसहित भद्रपुर नगरबाट विभिन्न सञ्चार माध्यममा कार्यरत ४० जना पत्रकारहरूको सहभागिता रहेको थियो । प्रशिक्षण कार्यक्रममा पत्रकार चिन्तामणि दाहाल, गोविन्द चन्द क्षेत्री, माधव विद्रोही र गोपाल काफ्ले र नगरपालिका प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठले सहजीकरण गरिरहेका छन् ।
पहिलो दिनको प्रशिक्षण कार्यक्रममा पत्रकार माधव विद्रोहीले पत्रकार आचार संहिता २०७३ का बारेमा, प्रेस क्लबका अध्यक्ष गोविन्द चन्द क्षेत्रीले सुरक्षित पत्रकारिताको बारे र पत्रकार गोपाल काफ्लेले आधारभूत पत्रकारिताका बारेमा सहभागीहरूलाई प्रशिक्षण दिएका थिए































