र्दुव्यवहारसँगै शिक्षा लिनबाट वञ्चित ‘देसंवि’का विद्यार्थी

0
1174

अमित खम्बू/ अर्जुनधारा।

गुरुकुलीय पठनपाठन अनुसार बटुक अर्थात् विद्यार्थीहरुको उज्जवल भविष्य निर्माण गर्ने उद्धेश्य विपरीत उनीहरुलाई विभिन्न किसिमको र्दुव्यवहारसँगै शिक्षा लिनबाट वञ्चित गरिएको पाइएको छ ।

झापाको अर्जुनधारा–९मा रहेको भगवद् भक्ति आश्रम देवर्षी संस्कृत विद्यालयका विद्यार्थीहरुलाई विद्यालय व्यवस्थापन समितिबाट त्यस किसिमको व्यवहार हुने गरेको पाइएको हो ।

शनिबार स्थलगत रिपोर्टीङको लागि आश्रम परिसरमा पुगेका सञ्चारकर्मीहरु समक्ष कुरा राख्ने क्रममा उनीहरुले विद्यालय व्यवस्थापन समितिका सचिव भक्तिप्रसाद रिमालले आफूहरुलाई जथाभावी कुटपिट गर्ने गरेको, गुरुकुलीय पठनपाठन बाहेकका अन्य औपचारिक शिक्षा लिनबाट समितिले वञ्चित गराएको, कारण नखुलाई विना सूचना विद्यार्थीलाई समितिले विद्यालयबाट निष्काशन गरेको, खान नपाएकाहरु भन्दै खाना धेरै खाएको भनी रिसाएको लगायत बताए

हालको अवस्थामा कुटपिट कम भए पनि विगतमा गुरुजी नहुँदाको अवस्थामा विहानै उठाउने नाममा सचिव रिमालले कुट्दै उठाउने गरेको ताप्लेजुङ आठराईत्रिवेणी गाँउपालिका–२का १८ वर्षीय सन्तोष घिमिरेले बताए । आश्रममा बसोबास गरेको चार वर्ष पूरा भई पाँच वर्ष लागेको उनलाई सचिवले अनेकौं पटक विना कारणनै धेरैपटक कुटेको उनले बताए ।

सचिव रिमालकै कारण एसएलसीको परीक्षा दिनबाट आफू वञ्चित हुनुपरेको उनले दावी गरे । “परीक्षा दिन्छु भनेर अनुमती माग्दा दिनुपर्दैन यहीँको प्रमाण पत्रले काम गर्छ भनेपछी मैले एसएलसीको परीक्षा दिइन,‘तर अहिले आएर कक्षा ५को प्रमाण पत्र मात्र दिन मिल्छ भन्नुहुन्छ”– उनले भने ।

त्यसैगरी छ वर्षदेखि विद्यालयमा रहेका अर्का विद्यार्थी १६ वर्षीय चन्द्र पौड्याल रुद्राभिषेक गरेबापत महर्षी फाउण्डेसनबाट उपलब्ध हुने बजेटमध्ये विद्यार्थीका लागि छुट्टाइएको प्रति विद्यार्थी तीन सय रुपैयाँ पारिश्रमिकलाई वृद्धी गर्ने माग राख्दा आफू निष्काशनमा परेको बताउँछन् । १४ जना विद्यार्थी अध्धयनर्त त्यस विद्यालयलाई फाउण्डेसनबाट मासिक ५५ हजार रुपैयाँ विनियोजन हुने गरेको स्वमं सचिव रिमालले बताए ।

त्यस्तै अर्जुनधारा–८ हात्तीकिल्ला निवासी १४ वर्षीय रुपेश तिम्सिना सचिव रिमाल आफैं उपस्थित भएको सभामा ‘खान नपाएकाहरु धेरै खान्छन्’ भन्ने अभिव्यक्ति रिमाल परिवारबाट आएको आरोप लगाउँछन् ।

यता यस विषयमा समितिका सचिव रिमालसँग बुझ्दा उनले विद्यार्थीहरुले लगाएको सबै आरोपहरु मध्ये केही सही भएको तर केही सही नभएको बताए । कहिलेकाँही प्याट्टपुट्ट गर्ने गरेको, अध्ययनका लागि बाहिर विद्यालयमा पठाउँदा पूर्व विद्यार्थीकै खराब नियतका कारण समितिले हाललाई पढाउन पठाउने कार्य बन्द गरेको, विद्यार्थी आफैंको कमजोरीको कारण निष्काशन गरेको स्वीकारेका उनले उक्त अभिव्यक्ति भने नआएको बताउँछन् ।

तर सचिव रिमालको उक्त भनाइ प्रति असहमती प्रकट गर्दै विद्यार्थी चन्द्रले भने स्वमं सचिवको उपस्थितमा उक्त घटना भएको दावी गर्छन् ।विद्यार्थीको पढ्ने इच्छा विपरीत समितिले अन्य औपचारिक शिक्षाको लागि उनीहरुलाई वञ्चित गर्नु गलत भएको अर्जुनधारा जलेश्वर धामको मूल अर्चक अग्निप्रसाद सिग्देल बताउँछन् ।

विद्यालयका एक जना विद्यार्थी ११ दिनदेखि बेपत्ताः

उक्त विद्यालयमा अध्धयनरत् ताप्लेजुङका १४ वर्षीय सुवास घिमिरे गत असार १० देखि कसैलाई जानकारी नदिई विद्यालयबाट बेपत्ता भएको समितिका सचिव रिमालले सञ्चारकर्मीहरु समक्ष स्वीकारे ।
विद्यार्थी सम्पर्कविहिन भएको ४८ घण्टापछी मात्र सम्बन्धित निकाय बिर्तामोडस्थित इलाका प्रहरी कार्यालय अनारमनीमा हुलीयासहितको निवेदन दिएको उनले विद्यार्थीको अभिभावकलाई भने सोही दिननै जानकारी गराएको सचिव रिमाल दावी गर्छन् ।

तर सम्पर्कविहिन भएका सोही विद्यालयका अर्का विद्यार्थी सुवासका दाई सन्तोष भने भाइ हराएको विषयमा समितिमार्फत् नभई अन्य विद्यार्थीले जानकारी दिएपछी मात्र आफूलाई थाहा भएको बताउँछन् । उनी भन्छन्– “भाइको खोजी कार्यमा समितिले चासो नदिएपछी मैले १७ गते निवेदन दिएको हुँ”

सम्पर्कविहिन भएका सुवासले स्थानीय एक बालिकालाई फोनमा अभद्र व्यवहार गरेको मौखिक उजुरीपछी सचिव रिमालले सोधपुछ गर्ने भनिरहँदा उनले विद्यालय छोडेको बताइएको छ । उनको दाई सन्तोष भने भाइले गरेको कार्य गलत भएको पुष्टी भएमा सजाय भोग्छ तर सचिव रिमालको डरकै कारण विद्यालय छोडेको तर्क पेश गर्छन् ।

को–को विद्यार्थी निष्काशनमाः

स्थानीय एक बालिकासँग फोनमा अभद्र व्यवहार गरेको आरोप लागेका एवम् सम्पर्कविहिन भएका विद्यार्थी सुवाससँगै उनको दाई सन्तोष र चन्द्र पौड्याललाई समितिले निष्काशन गरेको छ ।

बिरामीका कारण गत जेठ ३० देखि घरमै रहेको सन्तोषले भाइ सुवास सम्पर्कविहिन भएको थाहा पाएर खोज्न आउने क्रममा मात्र आफू निष्काशनमा परेको थाहा पाए । “निष्काशन किन भन्ने विषयमा हामीलाई जानकारी नगराई समितिले हामीलाई निष्काशन गर्नु गलत हो”–उनी भन्छन् ।

त्यसैगरी अर्का विद्यार्थी चन्द्र आफू निष्काशनमा परेपछी हजुरबुबाकोमा गई बसेको बताउँछन् । निष्काशनमा परेको कुनै पनि पत्र नदिएको उनलाई मुद्दा नमिलुनजेल त्यहीं बस्नु भन्ने समितिको शर्त अनुसार आफू फेरी विद्यालयमा आएको उनले बताए ।

हाललाई विद्यार्थी निष्काशनको विषयलाई थाँती राख्दै पहिला सम्पर्क विहिन भएको सुवासको खोजी र उनलाई लागेको विषयको टुङ्गो लागेपछी सबै विद्यार्थीको अभिभावको उपस्थितमा विद्यालय सञ्चालन हुने प्रतिबद्धता सचिव रिमालले गरेका छन् ।

के छ संविधानमा ?

संविधानको भाग–३ अन्र्तगत मौलिक हक र कर्तव्यको ३१ नम्बर बुँदाको शिक्षा सम्बन्धी हकमा प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक र ३६ नम्बर बुँदाको खाद्य सम्बन्धी हकमा प्रत्येक नागरिकलाई खाद्यसम्बन्धी हक हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here