झापा ।
धानखेती गर्ने मध्य सिजनमा झापामा रासायनिक मलको अभाव भएको छ । किसानले धानखेती गर्ने बेला डीएपी मल अभाव भएको हो ।
जिल्लामा मल आपूर्तिको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेनिङमा हाल एक बोरा समेत मल मौज्दात छैन ।
जिल्लामा धान रोपाईँका लागि पाँच हजार मेट्रिक टन डिएपी मल आवश्यक पर्ने कृषि सामग्री कम्पनी लिमिटेड बिर्तामोडका नि.शाखा प्रबन्धक कमल पोखरेलले बताए । कृषि सामग्री कम्पनी लिमिटेड शाखा बिर्तामोड कार्यालयमा युरिया, पोटास मौज्दात रहेपनि डिएपी भने उपलब्ध छैन ।
कृषि सामग्रीको कार्यालयले यहीँ असार १५ सम्म १ सय २५ मेट्रिकटन मात्र डिएपी मल वितरण गरेको पोखरेलले बताए । गोदाममा युरिया प्रशस्त भएपनि केन्द्रबाटै डीएपी मल आवश्यकताअनुसार उपलब्ध नगराउदा अभाव भएको कृषि सामग्री कम्पनी लिमिटेड बिर्तामोडका निमित्त शाखा प्रबन्धक पोखरेलले बताए ।
कृषि सामग्री केन्द्रले ७० प्रतिशत र टे«डिङले ३० प्रतिशत मल आपूर्ति गर्दै आएका छन् । केन्द्रले मात्र जिल्लाका १ सय १० सहकारी संस्थामार्फत किसानसम्म रासायनिक मल पठाउँदै आएको छ ।
स्थानीय निकायले अनुगमन नगर्दा रासायनिक मल बेच्ने सहकारी संस्थाले आफूखुशी मल बाँढ्ने गरेकाले लक्षित किसानसम्म मल पुग्न नसकेको किसानकै गुनासो छ । मध्यबर्खामा समेत अनुदानमा प्राप्त हुने रासायनिक मल नपाउँदा किसानले महँगोमा भारतीय व्यापारीबाट मल खरिद गर्नुपरेको कृषक मोहन कुमार तिम्सिनाले बताए ।
झापामा ९० हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । विगत वर्षभन्दा यसवर्ष रासायनिक मलको माग बढी भएपनि उपलब्ध गराउन नसकिएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।