नैतिक मूल्य र मान्यताको खाँचो

२३ असार २०७६, सोमबार मा प्रकाशित

बलात् शब्दले बलपूर्वक गरिने कार्यको बोध गराउँछ । बलात्मा ‘कार’ जोडिएपछिको यसले कुनै स्त्रीलाई उसको इच्छाविरुद्ध जबर्जस्ती गर्ने शारीरिक सम्पर्क अथवा बलपूर्वक सतीत्व नष्ट पार्ने काम भन्ने बुझाउँछ । यतिबेला देशमा यस्ता आपत्तिजनक, निन्दायोग्य र अमानवीय कार्यको श्रृंखला नै बनिएको छ ।

कुनै दिन छैन जहाँ सूचना, सञ्चार वा सामाजिक सञ्जालहरुमा बलात्कारका घटनाका विवरण नहोउन् । यो र यस्ता अपराधजन्य घटनाहरुले मानिसको सर्वोच्चतामा समेत आँच पु¥याएको छ भने मानवीयता स्खलित भएको देखाएको छ ।

यही समय जिल्ला प्रहरी कार्यालय झापाले यस्ता अपराधजन्य घटनाहरुको तथ्यांक सार्वजनिक गरेको छ । तथ्यांकले झापामा मात्रै यस्ता घटना एक वर्षको अवधिमा डेढ सयभन्दा बढी भएको देखाएको छ । स्थानीय पन्ध्र वटा पालिकामध्ये सबैभन्दा बढी चर्चामा रहने गरेको दमकमा बलात्कारका बाइस वटा घटना भएका छन् ।

प्रधानमन्त्रीको निर्वाचन क्षेत्र भएका कारणले पनि हुनसक्छ दमक नगरपालिका चर्चामा आएको र हुनसक्छ त्यही क्षेत्रमा सर्वाधिक बजेट विनियोजन भएको भनेर पनि दमक नगरपालिका क्षेत्र चासो र चर्चामा रहने गरेको हो । त्यसो त अपराध नभएको कुनै ठाउँ, क्षेत्र वा देश नहोला सायद । त्यही मेसोमा हाम्रो जिल्ला पनि पर्ला र जिल्लाका विभिन्न पालिका क्षेत्रहहरु यस्ता कलंकित घटनाबाट अछुतो नभएको हुनसक्छ ।

समाजमा शान्ति, सुव्यवस्था र अमनचैन कायम गर्ने दायित्व प्रहरीको हो । यसक्रममा प्रहरीले आपराधिक घटना निस्तेज पार्न सदासर्वदा तत्परता देखाउनुपर्छ । त्यही तत्परताले दोषीहरु पक्राउ पर्छन्, दण्डित हुनछन् र अरुहरु यसबाट सचेत हुन्छन् र सभ्य समाजको निर्माणको आधार तयार हुन्छ भन्ने अपेक्षा गरिन्छ ।

तर, पछिल्लो समय अपराध श्रृंखलाबद्ध ढंगले भइरहेका छन् । जसले मानवीय संवेदना मरेकै हो त भन्ने बनाएको छ । झापा प्रहरीले यो वर्ष पन्ध्र स्थानीय तहमा भएका बलात्कारका घटनाको सूची सार्वजनिक गरेको छ ।

त्यसअनुसार नगरपालिका क्षेत्रहरु मेचीनगरमा सोह्र, अर्जुन्धारामा पन्ध्र, कनकाईमा बाह्र, बिर्तामोडमा एघार, भद्रपुरमा छ, शिवसताक्षीमा नौ, गौरादहमा चारवटा बलात्कारका घटना भए । त्यस्तै गाउँपालिकाहरु कमलमा छ, गौरीगञ्जमा तीन, बाह्रदशीमा सात, झापामा पाँच, बुद्धशान्तिमा तीन, हल्दीबारीमा छ र कचनकवलमा दुईवटा घटना भएका छन् ।

उल्लेखित तथ्यांकले शहरी क्षेत्रमा बढी यस्ता आपराधिक र अमानवीय घटनाहरु हुने गरेको देखाएको छ । यसको करण शहरमा बसोबास गर्नेहरुको मानसिकता नै विकृत हुँदै गएको हुनसक्छ । शहरले भौतिक सुख, सुविधा र आनन्द प्राप्तिको प्रतिष्पर्धा गर्न सिकाउने भएकाले त्यहीं हिंसा र अपराधहरु ग्रामीण क्षेत्रको तुलनामा बढी भएका हुनसक्छन् ।

यसले अपराध नियन्त्रण गर्न नैतिक शिक्षासँगै आध्यात्मिक चेतना जागृत गराउनुपर्ने आवश्यकताको बोध गराएको छ । शहरले सम्पूर्ण विकृति र विसंगति बोकेका कारण त्यसकै प्रभावले अपराधको दर पनि बढी भएको हुनसक्छ ।

त्यही संकेत गरेको छ तथ्यांकले जहाँ सबैभन्दा समृद्ध नगर क्षेत्रमा हिंसा र अपराधहरु भएका छन् । त्यसकारण पनि यस्ता विकृत, असन्तुलित र अमानवीय घटना नदोहोरियुन् त्यसतर्फ प्रहरी, सामाजिक अगुवा, स्थानीय सरकार र केन्द्रकोे गम्भीरता देखिन आवश्यक छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here