टाइफाइडको प्रकोप बढ्दै

0
1134

डोल्पा।

हिमाली जिल्ला डोल्पामा टाइफाइडका बिरामी दिनप्रतिदिन बढ्न थालेका छन् । प्रत्येक दिन पाँचसम्म बिरामी उपचारका लागि आउने गरेको जिल्ला अस्पताल डोल्पाले जनाएको छ ।

एक सातायता टाइफाइडका बिरामी बढ्न थालेपछि जिल्ला अस्पतालका श्यया बिरामीले भरिभराउ भएका छन् । बिरामीको चाप बढ्दै गएका कारण १५ श्ययाको अस्पतालमा २१ सम्म बिरामी राखेर उपचार गराइरहेको जिल्ला अस्पताल डोल्पाका डा सिजन रावलले जानकारी दिनुभयो ।

एक महीनामै दुई पटक टाइफाइडको प्रकोप फैलिएपछि सबैका लागि चिन्ताको विषय बनेको छ । “अहिलेजस्तै पहिलोपटक प्रकोप फैलिँदा सूचना सन्देश प्रवाह तथा उपचारपछि नियन्त्रणमा आएको थियो, अहिले फेरि उस्तै प्रकोप बढेको छ”, रावलले भन्नुभयो, “यता प्रकोप बढ्दै जाँदा अस्पतालमा औषधिको अभाव हुनथालेको छ, आजभोलि जस्तै दिनप्रतिदिन बिरामी आउन थाले तीन दिनभित्र औषधि सकिन्छ ।”

ठुलीभेरी नगरपालिकामा पर्ने वडा नं २ र ३ का सर्वसाधारण धेरै उपचारका लागि आउने गरेको बताउँदै दुषित पानी प्रयोगका कारण दिनप्रतिदिन प्रकोप फैलिँदै गएको डा रावलको भनाइ छ । अस्पतालको क्षमताभन्दा धेरै बिरामी भर्ना गर्नुपरेपछि भुइँमा सुताएरै बिरामीको उपचार गरिरहेको अस्पतालले जनाएको छ । बिरामीको चापका कारण उपचारमा खटिएका स्वास्थकर्मी नै थला परेका छन् ।

‘भाइरल’को रूपमै टाइफाइडको प्रकोप फैलिएपछि अस्पतालकै कर्मचारीसमेत बिरामी पर्न थालेको स्टाफ नर्स तारा बोहोराले बताउनुभयो । यार्सा ‘सिजन’ सकिएर यार्सा पाटनबाट मानिस फर्किएसँगै टाइफाइडका बिरामी बढेको जिल्ला अस्पतालले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here