आकर्षणको केन्द्र बन्दै बालउद्यान

0
844

झापा।

पूर्वको प्रसिद्ध पर्यटकीयस्थल झापाको शिवसताक्षीस्थित दोमुखामा थप आकर्षणका रूपमा रहेको बाल उद्यानको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।

प्राकृतिक दृश्यको अवलोकन गर्नका लागि मानिसको भीड लाग्ने गरेको यस पर्यटकीय स्थलमा बाल उद्यानले पर्यटन प्रवद्र्धनमा समेत थप टेवा पुग्ने विश्वास गरिएको छ । पवित्र कनकाई नदीको किनार साथै चुरे पहाडको काखैमा रहेको यो पर्यटकीय क्षेत्र झापाको शिवसताक्षी नगरपालिकास्थित वडा नं. १० मा पर्दछ ।

शिवसताक्षी नगरको गौरवका योजना मध्येको एक मानिने दोमुखा क्षेत्रको बाल उद्यान एक बिगाह क्षेत्रफलमा फैलिएको निर्माण समितिका अध्यक्ष एवम् दोमुखा धार्मिक एवम् पर्यटकीय विकास क्षेत्रका अध्यक्ष धनप्रसाद लावतीले बताए । दोमुखा क्षेत्रमा निर्माण भएको बालमैत्री उद्यानभित्र बालबालिकालाई लक्षित गरेर व्यवस्थापन गरिएका मनोरञ्जनात्मक विभिन्न किसिमका खेल, पानीको झरनासहितको आकर्षक फूलबारी, प्रतिक्षालय लगायतका आकर्षण रहने निर्माण समितिका अध्यक्ष लावतीले बताए ।

धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास निर्माण साथै यसको संरक्षण सम्वद्र्धनमा निरन्तररूपमा हाल तेस्रो कार्यकालको नेतृत्व तहमा रहेर कार्यसम्पादन गर्दै आएका लावतीले बाल उद्यानसँगै दोमुखामा आकर्षक ‘वाटर पार्क’ निर्माण गर्ने गुरुयोजना रहेको जानकारी दिए ।

उद्यान निर्माणका लागि आ.व. २०७५÷०७६ मा नगरबाट ५० लाख रुपैयाँ र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश नं. १ बाट ५० लाख रुपैयाँ गरी एक करोडको लागतमा पहिलो चरणको काम सम्पन्न भएको बताइएको छ । आ.व. २०७६÷०७७ मा समेत स्थानीय तहबाट ४० लाख रुपैयाँ, प्रदेश सरकारबाट ५० लाख रुपैयाँका साथै संघीय सरकारबाट ४० लाख रुपैयाँ गरी जम्मा एक करोड ३० लाख रुपैयाँ रकम विनियोजन भइसकेको छ ।

जनप्रतिनिधिको सहयोगका कारण पर्यटकीय क्षेत्र दोमुखाले मुहार फेर्न थालेको भन्दै स्थानीयबासी समध्वज कार्कीले खुशी व्यक्त गरे । लामो समयदेखि जनप्रतिनिधिविहीन बनेको मुलुकमा जनप्रतिनिधिले नेतृत्व सम्हालेसँगै विकास निर्माणले तीव्रगति लिएको र जीर्ण बन्दै गएका सार्वजनिक सम्पत्तिको संरक्षण एवम् पुनःनिर्माण हुँदै गएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here