गरिबी निवारण गर्न समूहलाई बोयार बीउ बोका

0
1139

अर्जुनधारा ।

गरिबी निवारण कार्यक्रममार्फत् विपन्न बाख्रा पालक कृषकहरुलाई लक्षित गरी अर्जुनधारा नगरपालिकाले नगरका तीन वटा समूहलाई बोयार बीउ बोका वितरण गरेको छ ।

नगरपालिकाले अर्जुनधारा–१ खैरेनीमा रहेको चन्द्रमुखी महिला समूहलाई तीन लाख रुपैयाँ बराबरको एउटा, अर्जुनधारा–७मा रहेको हिमचुली कृषक समूहलाई दुई लाख रुपैयाँ बराबरको एउटा र अर्जुनधारा–१०मा रहेको कालिका बाख्रा पालन समूहलाई दुई लाख रुपैयाँ बराबरको एउटा गरी जम्मा तीन वटा बोका वितरण गरेको नगर पशुपंक्षी शाखा प्रमुख पदमलाल राईले जानकारी दिए ।

वितरण गरिएको बोकाको विषयमा नगरपालिका र समूहकोबीच भएको सम्झौता पत्रमा नगरपालिकाकोतर्फबाट शाखा प्रमुख राई र समूहका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

सम्झौता पत्रमा प्राप्त भएको बोका बिक्री गर्न वा खाइ मास्न नपाइने, नगर पशुपंक्षी विकास शाखालाई समूहले मासिक रुपमा प्रगति विवरण बुझाउनुपर्ने, व्यवस्थित खोरको व्यवस्थापन गर्नुपर्ने, प्राप्त भएको बोका सामूहिकरुपमा सञ्चालन गर्नुपर्ने, बोकाको वीमा अनिवार्य गर्नुपर्ने र अव्यवस्थित तरीका र लापरवाही भएको खण्डमा शाखाले बोका फिर्ता गरी अन्य समूहलाई दिनसक्ने उल्लेख गरिएको छ ।

नगर प्रमुख हरिकुमार रानाको अध्यक्षतामा आयोजित कार्यक्रममा उपप्रमुख कमला खतिवडा आचार्यले कार्यक्रमको औचित्यसहित स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । कार्यक्रमको सञ्चालन शाखा प्रमुख राईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here