झापामा खोलाले बगाउँदा बालिकासहित दुई जनाको मृत्यु

0
542

भद्रपुर ।

अविरल वर्षापछि खोलामा आएको बाढीले बगाउँदा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ ।

प्रहरी कार्यालय झापाका अनुसार कमल खोलामा आएको बाढीले बगाउँदा इलाम चुलाचुली १ बस्ने ५१ वर्षीय अंचल लावतीको मृत्यु भएको छ । कमल गाउँपालिका २ र शिवसताक्षी नगरपालिका ३ स्थित कमल खोला किनारमा शुक्रवार बेलुका उनको शव भेटिएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

त्यस्तै दमक नगरपालिका १० स्थित भालुखोलाको कल्भर्टमा खेल्ने क्रममा ६ वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका १० बस्ने मामा लोकेन्द्र भण्डारीको घरमा बस्दै आइरहेकी संखुवासभा चैनपुर नगरपालिका ७ फलाटे बस्ने पुनम न्यौपानेको छोरी एलिजा न्यौपानेको मृत्यु भएको हो ।

प्रहरीका अनुसार खोलामा खेल्ने क्रममा बालिकालाई बगाउँदा उनलाई ५ सय मिटर परबाट उद्धार गरी तत्काल उपचारका लागि दमक पठाइएको र उनको उपचारको क्रममै मृत्यु भएको हो ।

यता दुवै शवलाई आवश्यक कानुनी प्रक्रिया पुरा गरी परिवारजनलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here