दमक।
गोरखापत्र दैनिकका झापा समाचारदाता तथा झापा पोष्ट दैनिकका सम्पादक टीकाराम उप्रेतीलाई दमक नगरपालिकाले उत्कृष्ट पत्रकारिता सम्मान प्रदान गरेको छ ।
दमक नगर पालिकाले पाँचौं नगर सभाबाट पत्रकार उप्रेतीलाई दोसल्ला सम्मान पत्रद्वारा सम्मान गरेको हो । दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले सम्मानपत्र प्रदान गरेका थिए भने उपमेयर गीता अधिकारी तथा प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिनाले दोसल्ला ओढाएका थिए ।
पत्रकार उप्रेतीले दमक क्षेत्रमा रहेर दमक बिकास क्षेत्रमा श्रृजनशील तथा खोजमूलक पत्रकारिताद्वारा दमक नगरपालिकाको बिकासमा सर्बसाधारणलाई सुसूचित गरेको भन्दै दमक नगरपालिकाले सम्मान गरेको हो ।
यसअघि दमकका अग्रज पत्रकार गञ्जबहादुर दाहाललाई सोही सम्मानद्वारा सम्मान गरिएको थियो । करिव २ दशकदेखि पत्रकारिता पेशामा व्यवसायिक रुपले लाग्नु भएका पत्रकार उप्रेती बिगत १५ बर्षदेखि झापाको दमक क्षेत्रमा रहेर गोरखापत्र दैनिकको झापा प्रतिनिधि तथा झापा पोष्ट दैनिकमा सम्पादकको रुपमा काम गर्दै आएका छन् ।
यस्तै सोही नगरसभाले दमकमा बसेर सामाजिक, राजनीतिक ,समाज, शिक्षा, आर्थिक, सेवा पत्रकारिता लगायतका क्षेत्रबाट बिशेष योगदान दिएका ८ जना ब्यक्तित्वहरुलाई नगर प्रमुख ओलीले दोसल्ला ओढाएर सम्मान गरेका थिए । उनीहरुलाई समान पत्र सहित नगद जनही २० हजार प्रदान गरिएको छ ।
सम्मानित हुनेहरुमा दमक –२ का पूर्व प्रधानपञ्च धनबहादुर श्रेष्ठ, हिमालय मावि दमकका पूर्व प्रधानाध्यापक तथा शिक्षा क्षेत्रका अभियन्ता छविलाल शर्मा सिटौला र हिमालयकै पूर्व प्रधानाध्यापक बिदुर खतिवडा, रक्तदाता राजकुमार श्रेष्ठ, धेरै कर तिर्ने संस्थाहरु मध्ये लाइफ लाइन अस्पताल दमकलाई उत्कृष्ट करदाता संस्थाको रुपमा पुरस्कृत गरिएको नगरपालिकाले जनाएको छ । दमक –६ बस्ने उत्कृष्ट करदाता गणेशकुमार श्रेष्ठ र कल्पना सुवेदीलाई प्रमाण पत्र र दोसल्लासहित सम्मान गरिएको थियो ।
दमक नगरपालिकाले पाँचौं नगर सभाबाट आर्थिक वर्ष ०७६÷०७७ को लागि १ अर्व ४५ करोड ४१ लाख ३५ हजारको कूल बजेट तथा नीति कार्यक्रम पारित गरेको छ ।
सभामा उपप्रमुख साथै बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक गीता अधिकारीले प्रस्तुत गरेको विनियोजन विधेयक २०७६, अर्थ बिधेयक २०७६ नगर सभाले सर्वसम्मत पारित गरेको छ ।
दमक –६ का वडा सदस्य तथा लेखा समितिका संयोजक लक्ष्मीप्रसाद दाहालले प्रस्तुत लेखा प्रतिवेदन र दमक –८ का वडाअध्यक्ष तथा सुशासन समितिका संयोजक पशुपतिराज गौतमले प्रस्तुत गरेको प्रतिवेदन पनि पारित गरेको छ ।






























