सम्झनामा आदिकवि

२९ असार २०७६, आईतवार मा प्रकाशित

सूर्य कुइँकेल,

भरजन्म घाँसतिर मन दिइ धन कमायो
नाम केही रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
म भानुभक्त धनी भइकन किन आज यस्तो ।
मेरो इनार न त सत्तल पाटी केही छन्
जे चीज र धनहरु छन् घरभित्र नै छन्
तेस घाँसीले कसरी आज दिएछ अर्ति
धिक्कार हो मकन बस्नु नराखी किर्ति ।

यो देश र समाजमा आप्mनो नाम राख्न केही त गर्नुपर्ने रहेछ । यो घाँसी यति गरीब भएर त यस्तो बुद्धि छ । म भानुभक्तसँग त सबैकुरा छ फेरि कुनै काम र कृति नछोडी जानु धिक्कार हो भन्ने प्रेरणा एउटा दरिद्र घाँसीबाट पाएको कुरालाई भानुभक्तले यसरी लेखेका थिए । आज हामी भानुभक्तका प्रतिमामा अवीर र माल्यार्पण गर्दै भानुलाई सम्मान गरेको ठान्दै वर्षको एकदिन उल्लास मनाउँछौँ । तर, भानुले आप्mना लेखनीद्वारा दिएका ज्ञान, चेतना, सामाजिक अनि दार्शनिक पक्षलाई हामीले कतिको अध्ययन, मनन र व्यावहारिकतामा ल्याएका छौँ भन्ने सवालमा हामी अझ पछि नै छौँ ।

तत्कालीन नेपाल अंग्रेज युद्ध र अनि युद्धले निम्त्याएको परिणाम सुगौली सन्धि र त्यसवापत नेपालले व्यहोर्नुपरेको क्षतिले थिलथिल्याएको, चहराएको नेपालीहरुको मनको घाउमा भानुको भाषिक एकीकरणले सारा नेपालीमा मल्हमपट्टीको काम गर्यो । जसरी पृथ्वीनारायण शाहले नेपाललाई सिंगो नेपालको रुपमा भौगोलिक र राजनीतिक एकीकरण गरे त्यसैगरी भानुले भाषिक एकीकरण गरेर सम्पूर्ण नेपालीलाई एकताको सुत्रमा बाँध्ने बलियो डोरोको रुपमा भाषिक एकीकरण गरे । त्यसबेला नेपाली भाषालाई तुच्छ भाषा मानिन्थ्यो । संस्कृत भाषाको प्रयोग गर्नेहरुलाई मात्र विद्वान ठानिने त्यसबेलाको नेपाली समाजमा पनि भानुले नेपाली भाषाको प्रयोग गरे र सामान्यभन्दा सामान्य मानिसले समेत बुभ्mन सक्ने भाषिक सरलताको प्रयोग गरे । उनलाई भाषाका एक कुशल शिल्पकार, कालीगढ भनेर पनि सम्बोधन गरिन्छ ।

आज नेपाली साहित्य विभिन्न वाद, वर्ग, धार, गुट, राजनीति, शक्ति, लोकप्रियताका कसीमा मात्र हेरिन थालिएको छ । साहित्यको निरन्तर साधनाभन्दा पनि यहाँ लोकप्रियताका लागिमात्र रस्साकस्सी र दौडधूप भएको देखिन्छ । यस्तो साहित्यिक परिवेशले जकडिएको आजको नेपाली समाज र स्रष्टाले वर्षको एकदिन भानुको प्रतिमामा अवीर र पूmल चढाउँदैमा भानुको सम्मान हुँदैन र नेपाली साहित्यलाई न्याय गरेको पनि ठहरिँदैन । भानुका श्रृजनाहरुमा न कुनै वर्ग, न कुनै जात, न कुनै वाद, न कुनै धार छन् । छन् त केवल लोकहित । उनको मान्यता अनुसार लेखनको उद्देश्य लोकहितका लागि हुनुपर्दछ । त्यसैगरी उनका रचनाहरु पनि सामाजिक सचेतना, अध्यात्म, आत्मा, प्रकृति, मानवीय गुण लगागतका पक्षहरुको दर्पणका रुपमा चित्रित छन् ।

रामायणको किष्किन्धाकाण्डको पृष्ठभूमिमा बाली मारिएपछि पतिको जीवनको भीख मागिरहेकी बालीकी पत्नी तारालाई आत्मा र भौतिक शरीरबारे भिन्नता देखाउँदै गरेको पद्यात्मक कविता पनि हाम्रो वास्तविक जीवनका लागि राम्रो कोशेली सावित भएको छ । तर, हामी आज आत्मामाभन्दा देह वा शरीरमै बढी केन्द्रित छौँ । त्यसैले हामी दिमाग चलाउँदैनांै दिमागले हामीलाई चलाउँछ । वास्तवमा भानुभक्तीय साहित्यबाट हामीले जीवनका लागि उपयोगी दर्शन र चेतना अनि लोकहितको अनुकरण गर्नुमा वास्तवमा भानुजयन्ती मनाउनुको सार्थकता भेटिन्छ ।

संस्कृतका विद्वान एक धुरन्धर पण्डित श्रीकृष्ण आचार्यका नाति भएका कारण भानु सानै उमेरदेखि संस्कृतमा पनि तेज भएको पाइन्छ । आप्mनो मावली गाउँ भएकाले वाग्लुङ्मा उनले दुई÷तीन पटक पुराण वाचन पनि गरेको कुराहरु भेटिन्छन् । त्यसबेला पनि उनले आप्mना प्रवचनमा प्रजातान्त्रिक विषयहरुलाई उठान गर्ने गरेको कुराहरु भेटिनुले उनको बौद्धिकता, दुरदृष्टिको गहिराईलाई यति सजिले छाम्न सक्दैनौं । प्रजातान्त्रिक अभ्यास त नेपालमा २००० को मध्यतिरदेखि मात्र भएको पाइन्छ ।

त्यसैले आजका स्रष्टाहरुले भानुलाई र नेपाली साहित्यलाई सम्मान गर्ने हो भने लेखकीयमा सुधार हुनुपर्छ । जसले लोकहित गरोस । आज पत्रकारितालाई पनि साहित्य नै मानिन्छ । कुनै घरमा ससुराले लुछेको थाहा पाउने पत्रकारले त्यो ससुरासँग मोलमोलाई गर्छ, समाचार नलेखिदिने शर्तमा पैसा असुल्छ । यहाँ एक नेपाली चेलीको चित्कार र उनीमाथिको अन्यायमा लिलामी खेल खेलिरहेका साथीहरुको त्यो लेखकीय धर्मले भानुलाई माला र अवीर चढाउनु पनि कलंक हो । यहाँ यस्ता धेरै उदाहरण छन्– जो एकपटकमा दृष्टिन्त गर्न सकिँदैन । तर, यो पक्तीकारको ध्येय के हो भने, भानुको लेखकीय शैली, गहनता, दर्शन र चेतना सबैले मनन गरेमा सधैँ नै भानुलाई सम्मान हुन्छ, न कि वर्षको एकपटक ।

आदिकवि, जसलाई जातीय कवि पनि भनिन्छ । वि.स. १८७१ साल असार २९ गते आइतबार तनहुँ जिल्लाको रम्घा भन्ने गाउँमा जन्मिएका आदिकविले नेपाली साहित्यमा पुर्याएको योगदानको चर्चा जति गरेपनि कम हुन्छ । नेपालका सबैभन्दा पुराना कविका रुपमा चिनिने भएकाले उनलाई आदिकवि भनिएको जानकारहरु बताउँछन् । हुन त सुवानन्द बोस भानुभक्त भन्दा अगाडिकै कवि हुन् । तर, नेपाली भाषामा कविता रचना गर्ने पहिलो कविको श्रेय भने भानुभक्तलाई नै जान्छ ।

वधुशिक्षा, भक्तमाला, प्रश्नोत्तर जस्ता उनका कृतिहरुले नेपाली साहित्यिक आकाशमा महत्वपूर्ण स्थान ओगटेका छन् भने वाल्मिकीद्वारा रचित रामायणको नेपाली रुपान्तरण त नेपालीहरुका लागी उनको अमूल्य सौगात नै हो । उनको साहित्यिक प्रेरणाको स्रोत भने एक दरिद्र व्यक्ति घाँसी थिए । घाँस बेचेर कमाएको पैसाले त्यस गाउँमा कुवा खनाएर आफ्नो नाम अमर राख्न चाहने दरिद्र घाँसीबाट प्रेरित भएका आदिकविले घाँसीबाट प्रेरणा पाएको बारे यसरी लेखेका छन् । आफ्नो रचनाका लागि बाजे श्रीकृष्ण आचार्यबाट प्रेरणा र हौसला पाएका भानुभक्त झन्–झन् साहित्य श्रृजनामा तिखारिँदै गए र आज सम्पूर्ण नेपालीका लागि प्रेरणका स्रोत र सम्मानयोग्य भए । मोतीराम भट्टको नाम भानुभक्तसँगै जोडिएर आउने गर्छ । किनकि भानुभक्तको बारेमा जति प्रचार–प्रसार भयो, त्यो सबै मोतीराम भट्टकै कारणबाट भयो । जसलाई युवाकवि तथा श्रृङ्गारिक कवि भनिन्छ । नेपाली साहित्यमा गजल साहित्यका आरम्भकर्ता भट्टले वि.स १९४८ मा ‘भानुभक्तको जीवनचरित्र’ नामक पुस्तक छपाएका थिए । त्यसपछि मात्र भानुभक्तका बारेमा खोजहरु हुन थालेको पाइन्छ । बनारसमा छापिएको उक्त पुस्तकपश्चात आदिकविका बारेमा निकै चर्चाहरु भए । मोतीरामले भानुभक्तलाई कविताकै पंक्तिहरुबाट यसरी चिनाएका छन् ।

भानुभक्त भनी प्रसिद्ध नरमा जसको छ नाउँ पनि
घर त तिनको तनहुँ त बेँसी चुदी हो गाउँ छ रम्घा भनी ।

समयक्रमसँगै आज २०६औँ भानुजयन्ती मनाइँदैछ । बडो आदरका साथ आदिकविको तस्वीरमा माल्यार्पण गरिँदैछ । तर, बर्षको एकपटक भानुभक्तको प्रतिमामा माल्यार्पण गर्दैमा उनको सम्मान पूर्ण हुँदैन भन्ने बिषयमा सबैको ध्यानाकर्षण हुनु जरुरी छ । भानुजयन्ती मनाउनुको खण्डनीय बिचार भने यो पंक्तिकारको हुँदै होइन । तर, आधुनिकताको नाममा बढ्दो भड्किलो र तडक–भडक जीवनशैलीले साहित्यिक आकाशमा छाएको उदासिनताका बारेमा ध्यान दिनु पनि उनलाई गर्ने सम्मानको एक अँश हुन सक्छ । पछिल्लो समयमा साहित्यिक भूमिमा बढ्दो रुखोपनाले सर्जकहरु ओइलाइरहेका छन् । यहाँ सबैलाई पद र चर्चाको भोक मात्र लागेको देखिन्छ, तर साधना र गहिराइलाई अपनाएर होइन, सतहमा मात्र ।

यहाँ साहित्यिक प्रतिष्ठानका नेतृत्वकर्ताहरु साहित्य के हो भन्ने कुरामै अल्झिएका छन् । जसले साहित्यमा कुनै खुराक दिन सकिरहेका छैनन्, उनीहरु नै कसैको आडमा नेतृत्वको पंक्तिमा छन् । यो साहित्यमाथिको अन्याय हो । आज उनीहरु नै भानुभक्तको तस्वीरमा अविर पुष्प अर्पण गरी आफूहरु मेहनती सर्जक भएको ढोंग गर्दछन् । यो भानुभक्तप्रतिको अनादर हो । आफ्ना मीत्र तारापति उपाध्यायको घरमा बास बसेका बेला एकै रातमा ‘बधूशिक्षा’ जस्तो पुस्तक लेख्ने क्षमता भएका त्यस्ता महान कविको टड्कारो आवश्यकता अझै रहेको महशुस हुन्छ ।

नेपाली साहित्यको यात्रा आधुनिककालसम्म आइपुग्दा सँगसँगै डोर्याएर ल्याउनुपर्ने धेरै कुराहरु छोडिएका छन् । नेपाली साहित्यमा गद्यशैलीको कविता भित्र्याउने आधुनिक कवि गोपालप्रसाद रिमालको पालादेखि भने त्यसअघिका कविता लेखनका छन्दोवद्ध शैलीहरु अलमलिएका छन् । शार्दुलविक्रिडितम्, मन्दाक्रान्ता, शिखरिणि तथा अनुष्ठूप जस्ता छन्द जनाउने शब्दहरु अबका पुस्ताहरुका लागि धेरै अनौठा र सुन्दैनसुनेका शब्दहरु भइसके जस्तो लाग्छ । साहित्यिक यात्राका क्रममा छोडिएका छन्दात्मक शैलीलाई डोर्याएरसँगै ल्याउने सर्जकको खाँचोको महशुस नेपाली साहित्यले गरिरहेको छ ।

पछिल्ला साहित्यिक गतिविधिहरु पैसाले मात्र चलिरहे झैं लाग्छन् । पैसाले साहित्य चलाउन खोज्नेहरुका अगाडि रुखो बन्दै गइरहेको साहित्य क्षेत्रमा मेहनत गरी सृजना गर्न खोज्नेहरु पदताडित भएको तीतो यथार्थ छ । पैसा खर्च गरेर विमोचन र विज्ञापन गर्न सक्नेहरुका श्रृजनामा गहिराई नभेटिए पनि चर्चा पउँछन्, तर आर्थिक विपन्नताको पृष्ठभूमिमा रुमल्लिन बाध्य परिश्रमी स्रष्टाहरु भने ओझेलमा पर्नु परिरहेको वास्तविकताले सात्यिको कोमल अस्मिताको हत्या भए झैँ लाग्छ । तर, अब साहित्यिक अस्मिताको हत्या हुनेक्रम रोकिनुपर्छ, साहित्यिक अपराधको श्रृंखला अन्त्य हुनुपर्छ भन्ने विचार यही भानुजयन्तीका अवसरमा राख्न चाहन्छु । नेपाली भाषाको मैदानमा साहित्यको खेती शुरु गरी नेपालको साहित्यिक भान्छामा थुप्रै स्वादिष्ट परिकार पस्कने परिश्रमी भानुभक्तप्रति भावपूर्ण श्रद्धाञ्जलि ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here