इन्सपेक्टरको कुटाईपछि जवान आईसीयूमा भर्ना


२९ असार २०७६, आईतवार १०:५४ मा प्रकासित
  • 20
  •  
  •  
  •  
  •  
  •  
    20
    Shares

विराटनगर,

Advertisement

सशस्त्र प्रहरीका इन्सपेक्टर सियाराम चौधरीको कुटाईपछि सशस्त्रका एक जवान गम्भीर घाइते भएका छन् ।

सशस्त्रले यो घटनालाई भने गुपचुप राख्न खोजेको छ । निर्घात कुटपिटबाट घाइते भएका जवानको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । अवस्था गम्भीर रहेका कारण उनलाई आईसीयूमा भर्ना गर्नु परेको अस्पतालले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेड क्वाटर सिरहामा कार्यरत इन्सपेक्टर चौधरीले त्यहीं कार्यरत सप्तरीको शम्भुनाथ नगरपालिका–१ घर भएका जवान ३२ वर्षीय यादवमाथि गत बुधबार कुटपिट गरेका हुन् ।

श्रीमती सोनुकुमारीसँगको सम्बन्ध विच्छेदको मुद्दा सप्तरी जिल्ला अदालतमा चलिरहेका बेला आफूमाथि कुटपिट गरिएको यादवले बताए । ५ वर्ष अघि बिहे गरेका यादव दम्पतिका ३ वर्षीय छोरी पनि छन् । उनले इन्सपेक्टर चौधरीले बिहान ७ बजे १५ मिनेट जति आफूमाथि बुट र मुक्का प्रहार गरेको बताए । ‘टाउको जोगाउन थाल्दा ढाडमा कुटियो,’ उनले भने, ‘त्यसपछि बेहोस भएछु ।’ एक जना जवानलाई बोलाएर ल्याउन लगाएर आफूमाथि कार्यालयकै गेटमा सबैका अगाडि कुटपिट गरिएको यादवको आरोप छ ।

कुटपिटपछि सशस्त्रका असई कामेश्वर यादव र जवान पेशल थापाले उपचारका लागि लिएर आएको उनले बताए । ‘दुवै जना मिलेर कुटपिट गरेको कुरा कोही कसैलाई नभन्नु भन्न थाले,’ उनले भने, ‘यो घटना बाहिर ल्याउनु पर्छ भन्दा मलाई अस्पतालमै छाडेर दुवै जना हिंडे ।’ यादवलाई रुँघेर अस्पतालमा अहिले बुवा सुदिनलाल यादव र भान्जा अर्जुनकुमार यादव बसेका छन् ।

सुदिनलालले छोरामाथि अनाहाकमा इन्सपेक्टरले कुटपिट गरेको कुरा सशस्त्रले गुपचुप राख्न खोजेको आरोप लगाए । उनले ड्युटीमा रहेको छोरोमाथि कुटपिट गर्नेलाई कारबाही हुनु पर्ने माग गरे । अस्पतालका चिकित्सक डा. मनोजकुमार यादवले घाइते सशस्त्रका जवान यादवको टाउको र छात्तीमा चोट रहेको तथा कानको जाली फुटेका कारण स्वास्थ्यमा गम्भीर समसय रहेको बताए ।

इन्सपेक्टर चौधरीले भने आफूले यादवमाथि कुटपिट नगरेको बताए । लामो समयदेखि श्रीमतीसँगको लफडा रहेको र त्यो समस्या समाधान गर्न समन्वयकारी भूमिका निर्वाह गरेका कारण आफूमाथि कुटपिटको आरोप लगाएको उनको भनाइ छ । ‘संगठनको आचरण विपरित गतिविधी गर्ने गरेका कारण यादवमाथि अलि कडाई गर्ने गरिएको थियो,’ चौधरीले भने, ‘कुटपिट नभईकन सम्झाई बुझाई गर्ने क्रममा उनी आफै ढलेका हुन् ।’ उनले यादवले आफूभन्दा माथिल्लो दर्जाकालाई सधैं धम्क्याउने र थर्काउने गरेको बताए ।

गणका एसपी सोमबहादुर गुरुङले जवान यादवले पारिवारिक तनावको रिस कार्यालयको काममा ल्याएर पोख्ने गरेको र इन्सपेक्टर चौकरीले नकुटेको बताए । ‘श्रीमतीलाई हेलाहिंसा गर्ने गरेको कुरा धेरै पहिलेदेखि यहाँ आएको थियो,’ उनले भने, ‘यस विषयमा सशस्त्रका सबै अधिकृत मिलेर ‘काउन्सिलिङ’ गर्दै गर्दा उनी आफै ढलेका हुन् ।’ गुरुङले विभिन्न बहाना बनाएर यादव आफै ढल्ने गरेको र त्यो दिन पनि सबै सिनियर प्रहरी अधिकृतकै अगाडि उनी उभिएकै ठाउँबाट ढलेको दाबी गरे । उनले केही नभएको भनेर अस्पतालले डिस्चार्ज गर्न लागे पनि यादव आफैले अस्पताल छाड्न नमानेको बताए ।

जवान यादवकी श्रीमती सोनुकुमारीले बिहे गरेको ५ वर्षसम्म पनि बिहे दर्ता गर्न नमानेको र आफ्नो नागरिकता पनि नबनाइदिएको बताइन् । ‘पटक–पटक आग्रह गर्दा पनि उहाँले वास्तै गर्नु हुन्न,’ उनले भनिन्, ‘छोरी ३ वर्षकी हुँदा अहिलेसम्म जन्मदर्ता पनि गरिदिएको छैन ।’ जिल्ला प्रशासन कार्यालयमा आफूले नागरिकता, बिहे दर्ता र छोरीको जन्मदर्ताका लागि आग्रह गरेर निवेदन दिएको सोनुकुमारीले बताइन् ।

उनले मोबाइल लुकाएर बाहिरी केटीहरुसँग बोल्ने र परस्त्रीसँगकै सम्बन्धका कारण आफूलाई श्रीमानले हेला गर्ने गरेको गुनासो गरिन् । भनिन्, ‘मैले धेरै पटक कुटाई खाइसकेकी छु । कति छाक त खान पनि दिएनन् ।’

जवान यादवले पनि श्रीमतीको नागरिकता नबनाइदिएको र बिहे दर्ता नगरेको स्वीकार गरे । भने, ‘मलाई मन नलागेका कारण नबनाई दिएको हुँ । अब अदालतले जे निर्णय गर्छ त्यो स्वीकार गर्छु ।’-पूर्वेली न्यूजबाट

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्