मेची पुलमा आवागमन अवरुद्ध

0
909

पार्थ मण्डल/ भद्रपुर ।

झापाको भद्रपुरस्थित मेची पुल जोड्ने भारततर्फ बनाइएको अस्थायी ग्राभेल सडक बगाउँदा आवतजावतमा समस्या उत्पन्न भएको छ ।

चार दिनदेखि परेको अविरल वर्षासँगै मेची नदीमा आएको बाढीले गत शुक्रवार बिहान पुल जोड्ने ग्राभेल सडक बगाउँदा तीन दिनदेखि आवतजावतमा समस्या उत्पन्न भएको हो ।

बाढीले भारततर्फको सडक कल्भर्ट बगाउँदा दुई पांग्रे र चार पांग्रे सवारीसाधन अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा भारतबाट नेपाल आउने र नेपालबाट भारत जाने सवारीसाधन फेरि काँकरभिट्टा नाका भएर गन्तव्यतर्फ जानु परेको छ । मेचीमा आएको बाढीले १०१ नम्बर सीमा पिलरसँगै एसएसबीले दशगजा नजिकै राखेको अस्थायी पोस्ट समेत डुबाएको थियो । मेचीको बाढी सडकमाथिबाटै बग्न थालेको छ । सडकमा पानी जमेपछि शुक्रवार दिनभर आवतजावत ठप्प भएको थियो । शनिबारदेखि पानीको सतह घटेपछि सर्वसाधारण पानी तैँरिदै बाँसे पुलबाट आवतजावत गरिरहेका छन् । नेपाल भित्रिने सरसामान भने ठेला भ्यानमा लोड गरी ल्याउन व्यापारी बाध्य छन् ।

मेची पुल जोड्ने भारततर्फको कालोपत्रे सडक नबन्दा स्थानीयको सुविधाका लागि किशनगञ्ज जिल्ला भादगाउँ ग्राम पञ्चायतले करिब ७ लाख आन्तरिक बजेट निकासा गरी मेची पुल जोड्न एउटा कल्भर्ट निर्माण गरी बालुवा र माटोसहितको सय मिटर ग्राभेल सडक बनाएको थियो । भारतले अस्थायी सडक बनाएपछि त्यो सडकलाई जोड्न भद्रपुर नगरपालिकाले समेत ह्युम पाइप राखेर सय मिटर सडक निर्माण गरेको छ ।

दुवै देशका स्थानीय निकायले वर्षालाई मध्यनजर गरी ग्राभेल सडक बनाएका हुन् । तर, शुक्रवार मेचीमा आएको बाढीले भारतले बनाएको कल्भर्ट बगाउँदा समस्या उत्पन्न भएको हो । बाढीले भद्रपुर नगरपालिकाले बनाएको सडकमा भने क्षति पुु¥याएको छैन । विहारतर्फ जाने कल्भर्ट भत्किएपछि मोटरसाइकल चालकहरु दशगजामै साधन राखेर बंगालको बाटो भएर जान थालेका छन् । मेची पुलको पारीपट्टि नदीमा आएको बाढीले कल्भर्टसहित सडकको गिट्टी, बालुवा बगाउँदा आवतजावतमा समस्या उत्पन्न भएको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले बताए । उनका अनुसार मोटरसाइकल र हलुका सवारीसाधन तीन दिनदेखि अवरुद्ध भएका छन् । ‘नदीमा आइतबार पानीको सतह केही घटेको छ– उनले भने– ‘पानी परिरहे फेरि समस्या आउन सक्छ’ ।

५६० मिटर लम्बाइ र ९.८ मिटर चौडाइको १७ पिलरसहितको मेची पुल ३५ करोड ९५ लाख रुपैयाँको लागतमा ९ वर्षमा बनेको हो । मेची पुलको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गत २०७५ साल माघ १७ गते गरेका थिए । सडक निकास बिनाको पुलको उद्घाटन हुँदा समस्या आएको हो ।

भारततर्फको सडक नबन्दा पुल माथिबाट हलुका चार पांग्रे सवारीसाधान, मोटरसाइकल, अटो, सिटी रिक्सा, साइकल र पैदलयात्री मात्र आवतजावत गरिरहेका थिए । भारततर्फको सडक बनाउन दुवै देशका स्थानीय सरकार, नागरिक, व्यापारीले दवाव दिँदै आइरहेको अवस्थामा सुनवाई नभएकोले मेची पुल पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here