मंगलबार खण्डग्रास चन्द्रग्रहण

0
1070

ज्यो. मधुसूदन रिजाल,

असार ३१ गते मंगलबार (आषाढ शुक्ल) पूर्णिमाका दिन खण्डग्रास चन्द्रग्रहण लाग्नेछ । नेपाल पंचाग निर्णायक समितिका अनुसार ग्रहण राति १ः४६ बजेदेखि शुरु भई ३ः१५ बजे मध्य भई बिहानीपख ४ः४५ बजे समाप्त हुनेछ । यो चन्द्रग्रहण धनु र मकर राशीमा लाग्ने भएकाले यी दुवै राशी हुनेलाई कष्टकर भनिएको छ ।

त्यसैगरी मेष, वृष, मिथुन, सिंह, कन्या र वृश्चिक राशी हुने महानुभावले ग्रहण हेर्नु नहुने र कर्कट, तुला, कुम्भ र मीन राशी हुने महानुभावले चन्द्रग्रहण हेर्न मिल्ने फल ज्योतिष शास्त्रले बताएको छ । मंगलबार लाग्ने खण्डग्रास चन्द्रग्रहको ग्रहस्थिति ठीक एक सय ४९ वर्ष पहिले लागेको थियो । यो ग्रहण नेपाल लगायत एशियाबाट देख्न सकिने छ । सूर्यग्रहण लाग्नुभन्दा चार प्रहर र चन्द्रग्रहण लाग्नुभन्दा तीन प्रहर अगाडिदेखि बालक, वृद्ध वा अशक्त बाहेकलाई भोजन नगर्ने निर्देश दिइएको हुन्छ । यो मान्यता अनुसार चन्द्रग्रहण लाग्नुभन्दा नौ घण्टा अगाडि नै सुतक लाग्नेछ ।

धार्मिक शास्त्र अनुसार मानिसले भोजन गुर्न हानिकारक मात्र होइन स्वास्थ्य प्रति प्रतिकूल समेत हुने बताइएको छ । यस्तोमा चन्द्रमामा पर्ने असरको सिधा रुप अन्नमा पर्ने भएकाले अन्न ग्रहण नगर्नु जायज मानिँदै आएको छ । यतिमात्र होइन ग्रहणको बेला जप, हवन, देवपूजन तर्पण आदि गर्नाले मनोवाञ्छित फल पाइने बताइएको छ । ज्योतिषशास्त्रमा ग्रहण लागेको राशी र नक्षत्रलाई दोषयुक्त मान्दै ती राशी र नक्षत्रमा जन्मेकाहरूका व्यक्तिहरूलाई पीडा हुने बताइएको छ । यसैगरी ग्रहणको प्रकृति हेरी ग्रहण भएको दिनदेखि अघिल्ला र पछिल्ला केही दिनलाई शुभकार्यको लागि त्यागिन्छ ।

ग्रहणको समयमा भोजनादि त्यागेर मनलाई एकत्रित गरी शुभकार्य मात्र गर्नु धार्मिक दृष्टिले मात्र नभई वैज्ञानिक दृष्टिले पनि उपयुक्त मान्न सकिन्छ । पृथ्वीले सूर्यलाई घुम्ने गति र चन्द्रमाले पृथ्वीलाई घुम्ने गति समान छैन । यही असमानता नै ग्रहण हुने कारण मानिन्छ । गतिको असमानताले गर्दा समयको संयोगले कुनै बखत यी पिण्डहरू एउटै सीधा रेखामा पर्छन् । फलस्वरूप कहिले पृथ्वीको छायाँ चन्द्रमामा र कहिले चन्द्रमाको छायाँ पृथ्वीमा पर्छ । यसरी छायाँ परेको अवस्था नै ग्रहणको अवस्था हो । पृथ्वीको छायाँ चन्द्रमामा पर्दा चन्द्रग्रहण र चन्द्रमाको छायाँ पृथ्वीमा पर्दा सूर्य ग्रहणको स्थिति सिर्जना हुन्छ ।

पृथ्वीले सूर्यलाई र चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्ने क्रममा जब पृथ्वी सूर्य र चन्द्रमाको बीचमा आइपुग्छ, तब सूर्यको प्रकाशलाई पृथ्वीले छेकी दिन्छ । यस्तो अवस्थामा चन्द्रमामा पृथ्वीको छायाँ देखिन्छ । छायाँको यस्तो अवस्था नै चन्द्रग्रहण हो । चन्द्रमाको पूरै भाग छायाँले छोपेको अवस्थालाई खग्रास चन्द्रग्रहण र आधा वा केही भाग मात्र ढाकेको अवस्थालाई खण्डग्रास चन्द्रग्रहण भनिन्छ । चन्द्रग्रहण पूर्णिमा तिथिका दिन लाग्दछ । भने सूर्यग्रहण औंशीका दिन लाग्दछ प्रत्येक औंशी र पूर्णिमामा ग्रहण नलाग्नुको कारण बुझ्नु पनि सान्दर्भिक नै होला । सूर्यग्रहण हुन सूर्य र पृथ्वीको बीचमा चन्द्रमा परी तीनै पिण्डहरू एकै सीधा रेखामा परेको हुनुपर्छ, तर त्यतिले मात्र ग्रहण हुन सक्दैन ।

पृथ्वी र चन्द्र कक्षहरू एउटा सतहमा नपरी ५ दशमलव १५ डिग्रीको कोण बनाएर ढल्किएका छन् । वर्षमा दुईवटा यस्ता अवसर आउँछन् जतिबेला चन्द्र कक्षका दुई आमनेसामनेका छेउहरू पृथ्वीको कक्षसित मेल खान्छन् । अर्थात् सूर्य र पृथ्वीसँगै एकै सरल रेखामा पर्छन् । यी मेल खाएका स्थानहरू सूर्य र पृथ्वीबीचमा पर्न आउँछन् । त्यसबेला ग्रहण हुन्छ । ज्योतिष शास्त्रका अनुशार जुन पूर्णिमा तिथिका दिन राहु अथवा केतुमा एक ग्रह चन्द्रमाको साथमा एकै राशीमा पर्न आउँछन् त्यसदिन चन्द्रग्रहण हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here