क्षमतायुक्त युवा आजको आवश्यकता

३० असार २०७६, सोमबार मा प्रकाशित

आज अंग्रेजी सम्वत् अनुसार सन् २०१९ को जुलाइ १५ । संयुक्त राष्ट्र संघले यस दिनलाई विश्व युवा दक्षता दिवसका रुपमा मनाउने घोषणा गरे अनुरुप प्रत्येक वर्ष यो दिनलाई पर्वका रुपमा मनाइन्छ । युवाहरु नै कुनै पनि परिवार, समाज र राष्ट्रका आशा र भरोसाका आधार भएकाले पनि युवा लक्षित दिवस वा कार्यक्रम महत्वपूर्ण हुन्छ । युवाहरुको सामाजिक, आर्थिक अवस्था सुदृढ गर्ने उद्देश्यले मनाउन थालिएको यो पर्वले विश्वमा बढ्दै गरेको वेरोजगारी अथवा योग्यता अनुसारको काम नपाइने अवस्थालाई समेत सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।

युवाहरु वयस्कहरुको तुलनामा बढी वेरोजगार रहेको तथ्यांकले देखाएको छ । जबकि युवाहरुमा श्रम गर्ने क्षमता बढी हुन्छ । अनि पनि युवाहरु कामबाट वञ्चित छन् वा क्षमता अनुसार काम नपाइरहेका छन् । अझ युवतीहरु त वेरोजगार नै बढी छन् । रोजगारी पाएकै भए पनि ज्यालामा असमानता नै छ । चार वर्षअघि प्रकाशित एक तथ्यांक अनुसार विश्वमा सात करोडभन्दा बढी युवा वरोजगार थिए यो संख्या अझै बढेको हुनसक्छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को तथ्यांकले वेरोजारीको प्रतिशत तेह्रभन्दा बढी भएको उल्लेख गरेको छ । यसो हुनुका पछि बजारको आवश्यकता र हासिल गरेको योग्यता वा क्षमताका बीचको अन्तर हुन सक्छ ।

वरोजगारी अहिले विश्वव्यापी समस्याका रुपमा देखापरेको छ । यसले विश्वको अर्थतन्त्रमै नकारात्मक प्रभाव पार्दछ । त्यसमा पनि हाम्रो जस्तो देशका लागि त यो जटील समस्याका रुपमा उपस्थित हुनसक्छ । वेरोजगारीकै कारण सामािजक अपराधहरु पनि बढ्दै गएको विश्लेषण पनि गरिँदैछ । त्यसैले संयुक्त राष्ट्र संघले सन् २०३० सम्ममा दक्ष, सीपयुक्त जनशक्ति निर्माण गर्ने दिगो विकासको लक्ष्य निर्धारण गरेको छ । यो लक्ष्य हासिल गर्ने दायित्व उसको मात्र होइन, बरु उक्त लक्ष्य हासिल गर्न प्रत्येक समाज र राष्ट्रले त्यो लक्ष्यलाई आफ्नो ठानेर सामाजिक विकासमा आफै अग्रसर हुनुपर्दछ ।

हाम्रो देश संघीयतामा प्रवेश गरिसकेको छ । त्यसैले सबै स्थानीय र स्वायत्त सरकारहरुले आ–आफ्ना भूगोलभित्रका युवाहरुलाई सिप, दक्षता र योग्यता बढाउने योजना ल्याउनु पर्दछ । त्यसका लागि दल, विचार वा वादको संकीर्णता त्याग्नु पर्दछ । प्रधानमन्त्री रोजगार कार्यक्रम युवा लक्षित योजना भनिए पनि त्यसको फलदायी र दीर्घकालीन उपलब्धि हुने देखिएको छैन ।

कार्यकर्ता भर्ती केन्द्रका रुपमा मात्रै रहेको यस्ता योजनाले सस्तो लोकप्रियता बाहेक केही दिन सक्दैन । तसर्थ, युवालाई रोजगारीका लागि उपयुक्त, योग्य र सक्षम बनाउन सकिँदैन, तबसम्म कुनै पनि योजनाले गति लिन सक्ने छैन । त्यसैले पनि विश्व बजारको आवश्यकता र मागका आधारमा युवाहरुलाई योग्य बनाउनेतर्फ सरकारको गम्भीर पहल हुनुपर्दछ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here