वर्षाको पीडा र यथार्थ

३१ असार २०७६, मंगलवार मा प्रकाशित

गृहमन्त्री रामबहादुर थापाले असारले ल्याएको विपत्तिका बारेमा जानकारी दिँदै विपद्का घटनामा मानिस अर्थात् हामी स्वयम् दोषी रहेको सत्य उजागर गरेका छन् । जिम्मेवार र आधिकारिक पदमा आसिन हुनेहरुले स्वयम्लाई दोष दिने हामीकहाँ प्रवृत्ति छैन । गृहमन्त्री थापाले परम्परागत प्रवृत्तिविरुद्ध बोले अर्थात् सत्यको पक्षमा उभिए । यसले ढिलै भए पनि उनीप्रतिको धारणा सकारात्मक बनाउन सक्छ । हुन त प्राकृतिक विपद् अवश्यांभावी छ र यसको पूर्व संकेत वा योजना हुँदैन । हावाहुरी, भूकम्प, बाढी–पहिरो, डुवान वा आगलागी सबै विपत्ति हुन्, जसका लागि मानिसले नै वातावरण तयार गर्ने गरेका छन् ।

गृहमन्त्री थापाले तराई–मधेस कंक्रिटको जंगलमा रुपान्तरण हुँदै मरुभूमि भएको, भएका वृक्ष कटान गरेर उजाड बनाइएको, चुरे क्षेत्र फँडान गराइएको, जथाभावी बाटो बनाइएको र कुलो–पैनी मासेर पानीको निकास बन्द गराइएको भन्दै दोषी मानिस नै भएको दाबी गरे । त्यही भएको छ कतिपय विपद्हरुमा । अविरल र निर्झर बग्ने कुलो, पैनी, खोला र नदीहरुको प्रवाह रोकिँदा वा व्यवधान खडा गर्दा उसको धर्म नष्ट हुन्छ । उसको अर्थात् पानीको धर्म भनेकै बग्नु हो त्यो पनि निर्विध्न । देशका सबै ठूला–साना नदीनाला मानिसका स्वार्थका कारण अतिक्रमित छन् र उसको निर्वाध प्रवाहमा व्यवधान खडा गरिएको छ । ती चाहे कोशी, गण्डकी, नारायणी, कर्णाली र महाकाली हुन् वा साना पैनी, कुलो अथवा नदी होउन् ।

हामी अर्थात्, हाम्रो र भूगोलभन्दा बाहिरका मानिस त्यसकारण वर्षाको विपत्तिसँग जोडिएका छन् । कुनै दिन अत्यन्त उर्वर भनिएको झापाली माटो क्रमशः मरुभूमि बन्दैछ । प्रकृतिको विनाशका कारण आएको यो अवस्थामा राज्यको पनि त्यत्तिकै दोष छ । भौतिक विकासका नाममा सडक निर्माण गर्दा उर्वर माटो घट्ने मात्र होइन, सडक आकर्षणले खेतीयोग्य जमिन मानव बस्तीमा रुपान्तरित भए । जस्तो कि बिर्तामोड नै पूर्व–पश्चिम महेन्द्र राजमार्गको निर्माण भएपछिको कंक्रिटको जंगल बनिएको छ पूर्वरुप त्यागेर । यसको चौहद्दीभित्र मण्डा, सतानु नामका पैनी थिए जो अन्धुवा पूर्वबाट निरन्तर दक्षिणतर्फ बग्थे । यस्ता दर्जनभन्दा बढी पैनी थिए बुट्टाबारीसम्ममा जो झापाका दक्षिणी क्षेत्रका खेतीयोग्य जमिनलाई सिञ्चित गर्दै अविरल बगिरहन्थे । अन्धुवा खोला पश्चिम चारपाने चोकसम्म नै यस्ता धेरै पानीका निकास थिए । जसले मिलेर, बाँडेर आकाशे वर्षाको पानी बोकेर जमिनलाई सुगन्धित पार्थे, हरियाली बनाउँथे र अन्नरुपी ऐश्वर्य ल्याइदिन्थे ।

यो कथा आज दन्त्यकथा भएको छ । अहिले यो क्षेत्रभित्रको सम्पूर्ण भार अन्धुवामा थुपरिएको छ । एउटा किशोरलाई उसको क्षमताभन्दा धेरै गुणा बढी भार बोकाएको अवस्थाले अन्धुवा कुनै वर्ष असन्तुलित हुन पुुग्छ । जसको परिणाम मानिसकै लागि अभिशाप बन्ने गरेको छ । गृहमन्त्रीले भने जस्तै पृथ्वीको अवस्थितिलाई खल्बल्याउँदा, जथाभावी डोजर चलाउँदा, विगतका कुलो, पैनी मासेर बस्ती बसाल्दा, वन विनाश गर्दा र प्रविधिको दुरुपयोग गर्दा आइपरेको वर्षाको यो विपद्बाट कोही अछुतो छैन । त्यसैले मानिसले नै प्रवृत्तिमा परिवर्तन गर्नुपर्छ, मानसिकता बदल्नु पर्दछ । हिजो खुल्ला ठाउँ, प्रशस्त रुख–बिरुवा, असंख्य कुलो, पैनीहरुले बोकेको आकाशे वर्षाको भार बोक्ने कोही नभएकाले उत्पन्न यो पीडा अनुभूत गरौं । बानी–व्यहोरा सच्याऔं र मानसिकता बदलौं, यसले मात्र बारम्बारको पीडाबाट मुक्ति दिलाउनेछ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here