बिर्तामोडको कृषि बजारमा नियम विपरीत कर्मचारी नियुक्ति

३१ असार २०७६, मंगलवार मा प्रकाशित

बिर्तामोड।

झापाको बिर्तामोड –५ मा रहेको कृषि बजार व्यवस्थापन समितिले नियम विपरीत कर्मचारी नियुक्ति गरेको तथ्य खुलेको छ । व्यवस्थापन समितिले गत जेठ २७ गते करार शर्तनामामा व्यवस्थापकसहित दुई जना कर्मचारी नियुक्ति गरेसँग यस्तो तथ्य खुलेको हो ।

कृषि बजार विकास तथा व्यवस्थापन निर्देशिकामा कर्मचारी नियुक्ति गर्दा खुल्ला प्रतिष्पर्धाको आधारमा गर्नु पर्छ भनिए पनि समितिले सीताराम नेपाललाई व्यवस्थापक र पवित्राकुमारी पौडेललाई लेखापालमा नियुक्ति गरेसंँगै यस्तो तथ्य बाहिरिएको हो ।

लेखापाल नेपाल र पौडेललाई नायव सुब्बा सरहको सेवा सुविधा दिने गरी समितिले नियुक्ति गरेको पाइएको छ । निर्देशिकामा व्यवस्थापकको उमेर २५ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनु पर्ने भनिए पनि समितिले नियुक्ति गरेका व्यवस्थापक नेपाल ४८ वर्षीय रहेको सम्झौता पत्रमा उल्लेख छ । त्यस्तै कृषि–अर्थशास्त्र वा अर्थशास्त्र वा व्यवस्थापन वा विकास प्रशासनमा स्नातकोत्तर गरेको व्यवस्थापकको योग्यता हुनु पर्ने भने पनि उनले उक्त विषयको अध्ययन नै नगरेको बताइएको छ । बजार विज्ञको रुपमा काम गर्ने गरी उनलाई नियुक्ति दिइए पनि उनले कानूनको अध्ययन गरेको बताइन्छ ।

नियुक्ति भएका दुबै जनालाई करार शर्तनामामा कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर थापा, सदस्य एवम् साक्षीका रुपमा शालिग्राम भट्टराई र नियुक्ति लिएका दुबैले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

अझ रोचक कुरा त के छ भने एउटै लेटरप्याडमा समितिको नाम नै फरक–फरक उल्लेख गरिएको छ । स्रोतका अनुसार सरकारी छापको दुरुपयोग गर्दै लेटरप्याड नै नक्कली बनाएर लेखापाल र व्यवस्थापकलाई नियुक्त गरिएको स्रोतले जनाएको छ । लेटरप्याडमा कृषि उपज बजार व्यवस्थापन समिति भनिएपनि सोही लेटरप्याडको अध्यक्षले हस्ताक्षर गर्ने ठाउँमा कृषि बजार व्यवस्थापन समिति मात्रै उल्लेख गरिएको छ ।

खाली कागजमा सम्झौता गरिनु पर्ने भए पनि लेटरप्याडको दुरुपयोग गर्दै अध्यक्ष थापा आफैंले करार सम्झौतामा नियुक्ति गरिएका दुबै कर्मचारीलाई समेत हस्ताक्षर गराएको पाइएको छ । लेखापालमा नियुक्त भएकी पौडेलको सम्झौतापत्रमा पत्र संख्या ०७५÷०७६ देखाइए पनि चलानी नम्बर भने छैन । त्यस्तै व्यवस्थापक नेपालको सम्झौता पत्रमा चलानी नम्बर भने २३ लेखिएको छ ।

कर्मचारी नियुक्तिको विषयमा आवश्यक जानकारी दिन समितिका अध्यक्ष थापालाई जिज्ञासा राख्दा उनले आफूलाई सो विषयमा थाहा नभएको र अब सुधार गर्ने बताएका छन् ।

यता यस विषयमा आवश्यक जानकारीका लागि कृषि तथा पशुपंछी मन्त्रालय अन्तर्गत कृषि विभागले कृषि बजार व्यवस्थापन समिति बिर्तामोडले हालै गरेका विभिन्न निर्णयका सबै कागजात माग गरेको छ । बिभागका निर्देशक डा. महादेवप्रसाद पौडेलद्वारा हस्ताक्षरित पत्रमा समिति गठन भएपश्चात गरिएका सम्पूर्ण निर्णयका प्रतिलिपिसमेत माग गरिएको छ ।

पत्रमा कृषि बजार विकास तथा व्ययवस्थापन निर्देशिका २०७३ पहिलो संशोधन २०७४ अनुसार बजार व्यवस्थापन नियमन समितिका अध्यक्ष तथा कृषि विभागका महानिर्देशकबाट उक्त निर्देशिकाको दफा क र ख मा रहेको व्यवस्था अनुसार तपसिल बमोजिमका कागजातहरु माग गरी अध्ययन एवम् छानबिन कार्य नटुंगिएसम्म दीर्घकालीन असर पर्ने निर्णयहरुको कार्यान्वयन नगर्न समेत भनिएको छ ।

त्यस्तै कृषि उपज बजार व्यवस्थापन समिति अन्तर्गत कार्यगत कर्मचारीहरुको नियुक्ति मिति, नियुक्ति हुँदाको पद, हालको पद, स्थायी, अस्थायी, करार के हो र बुझ्ने गरेको तलब लगायतको विस्तृत विवरण पठाउन भनिएको छ ।

त्यस्तै कृषि उपज बजार व्यवस्थापन समिति बिर्तामोडमा रहेको भौतिक तथा अन्य सम्पत्तिको विस्तृत विवरण र कृषि उपज बजार व्यवस्थापन समिति मातहतमा रहेको सम्पूर्ण स्ट्लहरुको विवरणसहित क–कसले, कहिलेदेखि र कहिलेसम्मका लागि, कति रकममा प्रयोग गर्ने गरी सम्झौता भएको हो र कुन–कुन प्रयोजनमा प्रयोग भइरहेको छ सोको विस्तृत विवरण उपलब्ध गराउन भनिएको छ । विभागले असार २६ गते समितिलाई पत्राचार गरेको हो ।

कृषि बजार विकास तथा व्यवस्थापन निर्दशिका विपरीत कर्मचारी नियुक्ति गरेको र नियमित कामकारवाही समेत नभएको भन्दै कृषि विभागमा उजुरी परेपछि बिभागले पत्राचार गरेको विभागका निर्देशक डा. पौडेलले बताए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here