सञ्चिता घिमिरे / काठमाडौँ।
साता दिन पहिले मात्रै खुमलटारस्थित राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा एक महिला आफ्नो २१ वर्षीय छोराको ‘डिएनए’ परीक्षणका लागि आइन् । विवाह भएको १९ वर्षपछि र छोरा १८ वर्षको हुँदादेखि शुरु भएको तनावका कारण उनी अदालत हुँदै यहाँसम्म आइपुगेकी हुन् ।
वैदेशिक रोजगारीमा रहेका श्रीमान्ले स्वदेशमा बस्न थालेदेखि नै आफू र छोरालाई शङ्का गर्ने गरेको ती महिलाले बताइन् । पटकपटकको झगडापछि उनले अदालतमा माना चामलका लागि मुद्दा हालिन् । त्यही मुद्दा अहिले तीन वर्षसम्म टुङ्गिएको छैन । डिएनए परीक्षण गरेर आफ्नो अधिकार लिने मात्रै नभई, लागेको आरोप पनि पखाल्न लागेको उनले बताइन् । उनले भनिन् –रिपोर्ट हुलाकमार्फत नै जाने भएकाले आउनु पर्दैन भन्नुभएको छ ।
छोराछोरी निकै ठूला भइसकेपछि पनि ‘मेरो सन्तान होइन’ भनेर श्रीमान्ले शङ्का गरेपछि ती महिला परीक्षणका लागि आएकी प्रयोगशालाका सूचना अधिकारी दिनेशकुमार झाले बताए । उनका अनुसार महिनामा झण्डै तीन चार जनासम्म बाबु प्रयोगशालामा ‘सन्तान हो÷होइन शङ्का लाग्यो, डिएनए परीक्षण गराउन चाहन्छु’ भनेर आउने गरेका छन् ।
अदालतबाट आउने मुद्दामा सबैभन्दा बढी अंश मुद्दा हुने गरेको छ । आमाभन्दा बढी बाबु विवादित हुने गरेको उनको भनाइ छ । उनले भने –आमा र बाबु दुवै विवादित भएका दुई–तीनवटा मात्रै मुद्दा आएको छ ।
उनका अनुसार उमेर ढल्किएकामा समेत आफ्ना सन्तानसँग अविश्वास रहेको पाइन्छ । साठी वर्ष वा त्योभन्दा बढी उमेरका समेत डिएनए परीक्षण गरेर सन्तान आफ्नो हो÷होइन भनेर जान्न चाहन्छन् । उनले भने –हामीले महीनैपिच्छे यस्ता व्यक्तिलाई फर्काइरहेका छौँ ।”
अर्काे एउटा घटनामा केही समय पहिले आफूसँगै परिवारका अरु सदस्यलाई हङ्कङ लैजान एक पुरुष दुई सन्तानको डिएनए परीक्षण गर्न आए । उनीसँग आएका दुई सन्तानको परीक्षण पनि भयो । उनीहरुमध्ये एक जनाको नतिजा सकारात्मक र एक जनाको नकारात्मक आयो । प्रयोगशालाले अहिलेसम्म त्यो नतिजा उनीहरुलाई दिएको छैन ।
प्रयोगशालाले सम्भव भएसम्म बाबु र आमा दुवैको डिएनए परीक्षण गर्दै आएको भए पनि यो घटनामा बाबु र सन्तानको मात्रै डिएनए परीक्षण गरिएको थियो । प्रयोगशालाले अहिले पनि आमाको डिएनए परीक्षण गर्नु पर्ने भन्दै प्रतिवेदन दिएको छैन ।
यी दुई उदाहरण जस्तै समाज परिवर्तन हुँदै जाँदा समाजमा यी र यस्तै घटना बढ्न थालेका छन् । प्रयोगशालाले मुख्य गरेर अदालत र त्यस बाहेक अध्यागमन विभाग लगायतको सिफारिसमा मात्रै डिएनए परीक्षण गर्दै आएको छ । प्रयोगशालामा कतिपय व्यक्तिले आफ्ना सन्तान आफ्नो हो÷होइन शङ्का लागेकै भरमा परीक्षणका लागि आउने गरेको उनले बताए । कतिपयको भने मेरो सन्तान हो भनेर विश्वास गरेर डिएनए परीक्षण गर्न आउँदा नकारात्मक नतिजा आएको पाइन्छ ।
डिएनए परीक्षण गर्न पाउने अधिकार भए पनि व्यक्तिगतरूपमा आएका मुद्दामा राय दिने नगरिएको झाले बताए । अध्यागमनको प्रयोजनका लागि डिएनए परीक्षण गर्ने गरिएकाले कतिपयले झुठो बोलेरसमेत परीक्षण गराउन चाहने उनले बताए । उनले भने– हामीले पूरै कागजात हेरेर मात्रै काम अघि बढाउँछौँ ।
नेपालमा विसं २०६२ बाट मानिसको डिएनए परीक्षण शुरु हुँदाभन्दा अहिले डिएनए परीक्षण थप विश्वसनीय भएको प्रयोगशालाका निमित्त कार्यकारी अधिकृत वीरेन्द्रराज शाक्यले बताए । अहिले २७ वटा गुणका आधारमा आमाबाबु र सन्तानको डिएनए परीक्षण हुने गरेको उनले बताए ।
डिएनए परीक्षण शुरु हुँदा १६ वटा गुणका आधारमा परीक्षण गर्ने गरिएकामा केही वर्ष पहिलेबाट २४ वटा गुणका आधारमा परीक्षण हुने गरेको थियो । दुई वर्ष पहिलेदेखि थप तीन गुणसमेत गरेर २७ वटा गुणका आधारमा परीक्षण भइरहेको छ । उनले भने –यसले निर्दाेष व्यक्ति बाबु हो भनेर प्रमाणित हुँदैन ।
नेपालमा अहिले तीन किसिमको डिएनए परीक्षण हुने गरेको छ । आमा, बाबु र सन्तानको डिएनए परीक्षणले सबैभन्दा विश्वसनीय हुने झाले बताए । केही वर्ष पहिलेदेखि पितृत्व पुस्ता निर्धारण गर्ने र मातृत्व पुस्ता निर्धारण गर्ने परीक्षण हुँदै आएको उनले बताए । यी दुवैमा एउटा व्यक्तिको डिएनए सयौँ पुस्तासम्म मिल्न सक्छ । यसले यकिन गरेर व्यक्ति पहिचान नगरे पनि पुस्ता देखाउने उनले बताए । उनले भने –कुनै पनि घटनामा व्यक्ति नै पहिचान नगरेपनि एउटा दिशातर्फ निर्देशन गर्छ ।” प्रयोगशालाले दुई वर्ष पहिलेदेखि जनावरको समेत डिएनए परीक्षण शुरु गरेको छ ।






























