मेहन्दी र हरियो चुराको महिना

0
1115

टीका खनाल,

साउने संक्रान्तिसँगै नेपालीहरूको अधिकांश चाडपर्व शुरु हुने भएका छन् । साउने संक्रान्तिका दिन बिहान सबेरै उठी स्नान गरी सूर्यलाई जल अर्पण गरी ब्राह्मण, पुरोहितबाट संक्रान्तिफल सुन्ने चलन छ । साउने संक्रान्तिका दिनदेखि सूर्य मिथुन राशी छोडेर कर्कट राशीमा प्रवेश गर्छन् । यसै दिनदेखि सूर्य दक्षिणायन हुन्छ र दिन छोटा अनि रात लामा हुन थाल्छन् जुन क्रम माघे संक्रान्तिसम्म रहन्छ ।

ज्योतिष विज्ञानअनुसार साउन अर्थात् श्रावण महिनाको पूर्णिमाका दिन आकाशमा श्रवण नक्षत्रको योग निर्माण हुन्छ । त्यसैले यो महिनाको नाम श्रावण रहेको हो भन्ने मान्यता छ । लौकिक चलनअनुसार यसदिन गाउँघरमा लुतो फ्याँक्ने गरिन्छ । यसरी लुतो फ्याँक्नाले वर्षभरि रोगब्याधिबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास रहेको छ ।

त्यसगरी कतिपय स्थानमा साउने संक्रान्तिमा तिउरे कुटेर त्यसको रस हातगोडाका नङमा लगाउने चलन पनि छ । विवाहित महिलाहरुको परिवारको सुख तथा समृद्धिका लागि हत्केलालाई मेहेन्दी लगाएर सुन्दर बनाउँछन् र भगवानको प्रार्थना गर्छन् भने अविवाहित महिलाले पनि आफ्नो खुशीका साथसाथै जीवन पनि मेहेन्दीको रङ जस्तै रङ्गीन तथा गहिरो होस् भन्दै प्रार्थना गर्ने गर्दछन् । श्रावण महिना भगवान शिवको महिना भनेर पनि चिनिन्छ ।

विवाहित महिलाले आफ्नो श्रीमानको लामो आयु र अविवाहित महिलाले राम्रो वर पाउँ भनी शिवको आराधनामा कुनै पनि कमी नराखिकन हर्ष उल्लासका साथ मनाउँछन् । यो श्रावणमा बिबिध मनोकांक्षा सहित श्रावणे सोमवारको ब्रत बस्ने गरेको उल्लेख भएको पाइन्छ ।

श्रावण महिनामा यदि मानिसहरुले निष्ठाले भगवान शिवको अराधना गरे भने जे मागे पनि भगवानले पूरा गरिदिनु हुन्छ भन्ने जनविश्वास छ । यस महिनाका सबै दिन उत्तिकै पवित्र हुने भए पनि सोमबारलाई अझ विशेष मान्ने प्रचलन छ ।
श्रावण महिनाको सोमबारका दिन हरियो वस्त्र धारण गरी नजिकको नदीबाट जल बोकेर शिवलिङ्गमा चढाउँदा शिवजी खुशी हुने धर्मिक मान्यता रहेको छ । धार्मिक दृष्टिले श्रावण महिना आफैंमा पवित्र महिना मानिन्छ ।

अन्य महिनाको सोमबारभन्दा श्रावण महिनाको सोमबार शिव मन्दिरहरुमा ८० प्रतिशत भन्दा बढी भक्तजनहरु पूजा आराधना गर्न पुग्दछन् । धेरै भक्तजनहरुको श्रावणको सोमबार भगवान शिवलाई जल र शुद्ध दूध चढाउन घुइँचो लाग्दछ । श्रावणको पूर्णिमालाई वर्षभरिकै एउटा ठूलो दिनका रुपमा लिइन्छ । भगवान शिवलाई साउनको पूर्णिमाको दिन जल र शुद्ध दूध चढाई पूजा आराधना गरेमा मनले मागेको वर पूरा हुने विश्वास रहेको छ । त्यसमा पनि श्रावणको सोमबारको छुट्टै महत्व छ ।

नेपाली महिलाहरु हिजोआज श्रावण महिनाको सोमबारलाई विशेष रुपमा ग्रहण गर्दै हरियो साडी चुरा र मेहेन्दी लगाएर श्रावणे सोमबार मनाउन थालेका छन् । यो महिनामा हरिया भेषभुषामा सजिएका, हरियो चुरा र मेहेन्दी लगाएका महिलाहरु शिव मन्दिरहरुमा मात्र नभएर शहरबजारमा समेत देख्न पाइन्छ । हरियो रंग प्रकृति, उर्वरता, बहुलता, सौभाग्य र सकारात्मक ऊर्जाको प्रतीक हो ।

श्रावणमा हरियो वस्त्र पहिरँदा शिव भगवान खुसी हुने धार्मिक विश्वास छ । भगवान शंकर प्रकृतिसँग विशेष रुपमा जोडिएका छन् । जब भक्तले स्वयम्लाई प्रकृतिसँग नजिक ल्याउँछन् तब भगवान शिवले उनीहरुको मनोकामना पूरा गर्ने विश्वास गरिन्छ ।

हरियो चुरा र साडी लगाएर नारीले प्रकृतिलाई विशेष पूजा अर्चना गर्नुपर्छ जसका कारण आफू र पतिको आयूसमेत बढ्छ भन्ने विश्वास रहेको छ । श्रावणमा हरियो चुरा र कपडा लगाउनाले भाग्य प्रभावित हुनेसमेत विश्वास गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here