बाढी–पहिरोको कहर कहिलेसम्म


१ श्रावण २०७६, बुधबार ०५:३० मा प्रकासित
  • 20
  •  
  •  
  •  
  •  
  •  
    20
    Shares

चिन्तामणि दाहाल,

Advertisement

हरेक बर्ष बाढी पहिरो आउँछ र सयौंको ज्यान जान्छ, अर्बौंको सम्पत्ति नष्ट हुन्छ, हजारौंले दुःख पाउँछन्, हजारौं विस्थापित हुन्छन् र सयौं घाइते हुन्छन् । तर, पनि न त सरकार, न त नेता, न त जनता नै सजग भएर आगामी साल त्यस्तो हुन नदिने प्रयत्न नै गर्छन् ।

आखिर त्यस्तो किन हुन्छ । कि त्यस्तो हुन्छ भन्ने जान्ने मान्छे बाढी–पहिरोको कहरमा पर्दैनन् कि अथवा जानेर पनि खतरा मोल्न तयार हुन्छन् । कि जो बाढी पहिरोमा पर्छन्, उनीहरुलाई बाढी–पहिरोमा पर्छु भन्ने थाहा नै हुँदैन अथवा भएर पनि उनीहरु त्यस्तै बाढी–पहिरो जाने ठाउँमै आश्रय लिन बाध्य हुन्छन् वा बाध्य बनाइन्छन् । यो कुरा पंक्तिकारको ६७ बर्षको जीवनमा रहस्य नै भएको छ ।

देखिएको अवस्था :

गत साल पनि सयौंको ज्यान गएको थियो । यो साल पनि ज्यान जान शुरु गरिसकेको छ । यसै साल पाँच दर्जनभन्दा बढीको त ज्यान गइसकेको छ । ज्यान जानेक्रम जारी छ । हिमालमा पनि मरेका छन्, पहाडमा पनि मरेका छन्, उपत्यकामा पनि मरेका छन्, दुनमा पनि मरेका छन्, मधेश तराईमा पनि मरेका छन् ।

नमरेको क्षेत्र नै छैन । यस्तो भयावह अवस्था केही बर्षयता जस्तो पहिले थिएन । अहिले जस्तो गरी शहर डुब्दैनथे । अहिले जस्तो गरी चुरेबाट आउने खहरे खोला उर्लंदैनथे । अहिले जस्तो पहाड खस्तैनथे, न त हिमाल नै अहिले जस्तो पग्लन्थे ।

बाढी–पहिरोको कहर बढ्ने कारण :

पंक्तिकारले बुझेसम्म र भौगर्भविद, वातावरणविद, योजनाविद, विपद व्यवस्थापन विज्ञ, जलश्रोत विज्ञ आदि विज्ञका कुराहरुले के प्रष्ट भएको छ भने अहिलेको बाढी–पहिरोको कहर मान्छे आफ्नै कारणले आएको हो । बाढी–पहिरोको कहर हरेक बर्ष बढ्नुमा करिब ९० प्रतिशत दोष मान्छेकै रहेको छ ।

त्यसो भए आफैं मान्छेले, आफैं पर्ने र मर्ने खाल्डो खनेपछि त्यसबाट निस्कने उपाय पनि मान्छेले नै खोज्नु पर्छ । नखोजे उ सधैं खाल्डोमा परेर दुःख पाइरहन्छ र अकालमा मरिरहन्छ ।

मान्छेको दोष यस मानेमा कि बस्ती बसाउन र खेतीबारी बढाउन अनियन्त्रितरुपमा जंगल फँडानी भएको छ र अहिले पनि वन अतिक्रमण जारी छ । यो काम मान्छेले नै गरेको हो । जंगल फँडानी नरोकिए पनि त्यसको बदला नयाँ रुख रोप्ने, थप जंगल फँडानी गर्न नदिने, उजाड बनाइएका जंगललाई पुनः हराभरा बनाउने काम गरेको भएमा जंगल फँडानीबाट बिग्रिएको वातावरणमा केही सुधार आउने थियो । तर, त्यो काम १० प्रतिशत पनि भएको छैन ।

पक्की सडक, पक्की घर, पक्की नाला र बजारको विकास र विस्तारबाट बर्षाको पानी जमिनभित्र सोसिएन । जसले गर्दा जमिन सुख्खा हुँदै गयो । जंगल कम भएकोले जंगलमा पनि पानी रिजर्भ भएर बस्न सकेन जसले खोला नाला सुक्दै गए । खोला नाला सुक्दै गएपछि ठाउँ–ठाउँ निस्कने मूल पनि सुक्दै गए । जंगल कम भएपछि बाढी–पहिरो बढ्न गयो ।

योजना पुरानै भए । नयाँ स्वरुप अनुसारका योजना नबन्दा समस्या खडा भयो । विपद् व्यवस्थापन गर्न समस्या भयो । चुरे संरक्षण गर्दा खहरे खोलाको बालुवा र ढुंगाले खोला उकास भयो । यसबाट पहिले बनाइएका कल्भर्ट र पुलको अग्लाई कम भयो । चुरेको दोहन आवश्यकताका आधारमा पूर्णरुपमा रोक्नु हुन्नथ्यो । रोक्दा पहिलेका योजना अनुसार बनाइएका सडक पुल र कल्भर्ट काम नलाग्ने हुँदै जाँदै छन् ।

उकास भएका खहरे खोलाकै बाढीले बगाउन थालेका छन् । त्यसमाथि पूर्व–पश्चिम लम्बाईको हाम्रो देशमा उत्तर दक्षिण बग्ने खोला नालाले दिने दुःखलाई अध्ययन गरेर कम पुल र कल्भर्ट पर्ने गरी सडक सञ्जाल बनाउनुपर्नेमा त्यसो गरिएन । यसमा योजनाविद्को बुद्धि पुगेको देखिएन ।

अहिले आएर नेपाली जनताले र नेताहरुले पनि भौतिक विकासमा जोड दिएको र आवश्यकता पनि भएकोले गाउँशहर, डाँडाकाँडा सबै ठाउँमा सडक बनाउने काम डोजरहरु प्रयोग गरेर जथाभावी बनाउँदा (अर्थात् त्यसको वातावरण प्रभाव मूल्यांकन नगरी) भौगर्भिक संरचना खल्बलिएको छ । यसले पनि पहिरोहरु बढेका छन् । सयौं बर्ष पहिरो नगएका ठाउँमा पहिरो गएको छ । नयाँ–नयाँ पहिरोका ठाउँ देखिएका छन् ।

पहिरो नियन्त्रण गर्न सडक सञ्जाल बनाउँदै काम गर्नुपर्छ । जैविक उपाय गर्ने कि कृत्रिम उपाय गर्ने भन्ने कुरा स्थान हेरी गर्न सकिने हुन्छ । तर, हाम्रो देशका कतिपय प्राविधिकहरुले दुरदर्शीभन्दा पनि हाकिमको आदेश अनुसार काम गर्ने भएकोले ठीक काम हुन सकेका छैनन् । प्राविधिकले गर्ने काम अप्राविधिक मान्छेले गर्न थालेपछि सबै भताभुंग हुन्छ । त्यस्तोलाई भनिन्छ भताभुंगे राजाको लथालिंगे दरबार, टका सेर भाजी टका सेर खाजा भन्ने उखान चरितार्थ हुन्छ । अहिले नेपालमा लगभग त्यही भइरहेछ ।

यो उखान पूर्वकै हो । धरान बजारमाथि विजयपुर क्षेत्रमा लथालिंगे राजाको दरबार अहिले पनि छ भनिन्छ । ती राजाले प्राचिन समयमा यस क्षेत्रको राज्य गर्दा बजारका सबै वस्तुको एउटै भाउ तोकिदिएका थिए रे । यसले गर्दा उनको राज्यमा अराजकता भयो । राजाविरुद्ध विद्रोह भयो । अनि लथालिंगे राजालाई पदच्युत गरियो । नयाँ राजा आए । तर, उनको दरबार अहिले पनि भग्नावशेषको रुपमा धरान बजार माथि रहेको छ ।

यस्तो नहोस् :

माथिका सबै विवरणबाट जनता चाहन्छन् कि सधैं बाढी पहिरोले दुःख दिने पक्का भएपछि त्यसबाट बच्ने उपाय राज्यले गर्नुपर्छ र मात्र बाढी पहिरोको कहरबाट जनतालाई बचाउन सकिन्छ ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्