लागुऔषधसहित सशस्त्र प्रहरीका सहायक हवल्दार पक्राउ

0
560

विराटनगर,

विराटनगर महानगरपालिका–१६ हुलासमेटल चोकबाट ठूलो परिणामको लागुऔषधसहित सशस्त्र प्रहरीका सहायक हवल्दार मंगलबार पक्राउ परेका छन् ।

भारतको जोगवनीबाट लागुऔषध लिएर आउँदै गर्दा सुनसरी धरान उपमहानगरपालिका–२ घर भएका ३१ वर्षीय पूर्णबहादुर थापामगर पक्राउ परेका हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुका अनुसार उनी सशस्त्रको सुनसरीको अमडुवास्थित बिओपी पोस्टमा कार्यरत छन् ।

भारतबाट साइकलमा नाइलनको झोला झुन्ड्याएर आउँदै गर्दा शंका लागेर लागुऔषध नियन्त्रण व्युरो विराटनगरको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । झोला चेकजाँच गर्दा चिनी र चनामा लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा लागुऔषध फेला परेको थियो ।

डीएसपी खिउजुका अनुसार उनले बोकेको झोलाबाट लुपिजेसिक ९९ एम्पुल, एभिल ८६ एम्पुल, डाईजेल्याब सय एम्पुल, फेनारगन २४ एम्पुल गरेर जम्मा तीन सय नौ एम्पुल लागुऔषध बरामद भएको छ । पक्राउ परेका थापा मगरलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको जानकारी उनले दिए ।

उनको साथबाट सशस्त्र प्रहरीमा कार्यरत परिचय पत्र र नेपाली नागरिकताको प्रमाण पत्र फेला परेको छ । यस विषयमा अनुसन्धान गरिरहेका एक प्रहरीले भारतको जोगवनीस्थित लागुऔषध खरिद बिक्री हुने डिलरको सम्पर्कमा रहेका नेपाली व्यापारीसम्म लागुऔषध ओसारपसारको काम गर्ने गरेको खुलेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here