विषादी परीक्षण ‘नाम मात्रै’

0
655

बिर्तामोड।

झापाको बिर्तामोडस्थित कृषि थोक बजारमा रहेको विषादी अन्वेषण द्रुत विश्लेषण प्रयोगशाला नाम मात्रैको रहेको पाइएको छ ।

कृषि थोक बजार परिसरभित्रै प्रयोगशाला भएपनि बजारमा विक्री हुने तरकारी तथा फलफूल विना परीक्षण नै खुलम–खुल्ला बिक्री हुने गरेको छ । तरकारी तथा फलफूल जाँच गरेर मात्रै बिक्री गर्नु पर्ने भएपनि बिक्रीका लागि राखिएका तरकारी तथा फलफूल सबैको परीक्षण नहुने विषादी अन्वेषण द्रुत विश्लेषण प्रयोगशालाकी प्राविधिक सहायक अञ्जु आचार्य बताउँछिन् ।

उनी भन्छिन्– ‘कृषि थोक बजारमा विक्री हुने सबै तरकारी तथा फलफूलको जाँच हुँदैन । दिनमा १० देखि १५ वटा संकलन गरिएको नमूनाको मात्रै परीक्षण हुन्छ , प्रत्येक भन्सारबाट पत्रसहित आएको नमूना मात्रै हामी परीक्षण गर्छाैं र रिपोर्ट पठाउँछौं ।

कृषि विकास मन्त्रालय मातहतको बाली विकास निर्देशनालयबाट आर्थिक सहयोग भएसंँगै कृषि थोक बजारमा २०७४ सालदेखि प्रयोगशाला सञ्चालनमा आएको हो ।

१ नम्वर प्रदेशमा बिक्री हुने तरकारी तथा फलफूलको जीवनाशक विषादीको मात्रा जाँच गर्ने भन्दै कृषि बजार व्यवस्थापन समितिको कार्यालयमा प्रयोगशाला राखिएपनि बिर्तामोड मै बिक्री हुने तरकारी तथा फलफूलमा विषादीको मात्रा जाँच हुन सकेको छैन ।

कृषि थोक बजारभित्र ३ सय २८ वटा स्थायी रुपमा रहने पसल छन् । त्यत्ति नै संख्यामा खुद्रा पसल पनि छन् । तर, ती पसलबाट विक्री हुने कुनै तरकारी तथा फलफूलमा विषादीको अवस्था जाँच गरिँदैन ।

कृषि थोक वजारलाई पाँच सेक्टरमा विभाजन गरिएको छ । फलफूलका ३२, तेलहन दलहनका १९, माछामासुका ६०, खुद्रा सब्जीका १२०, थोक बिक्रेता ८६ र अन्य विविध ११ वटा पसल रहेका छन् । तर, कुनै पनि फलफूल तथा तरकारीको जाँच नै नगरी विक्री हुने गरेको छ ।

प्रयोगशालामा किरा नाशक विषादीको अग्र्यानो फोस्फेट र कर्वाेमेट समूहको मात्रै परीक्षण हुने गरेको प्राविधिक सहायक आचार्यले बताइन् । उनले भनिन्–‘तरकारीमा तथा फलफूलमा विभिन्न प्रकारका विषादीको प्रयोग गरिएको हुन्छ । त्यसमध्ये हामीले दुईवटा समूहको मात्रै परीक्षण गर्ने गरेका छौं ।’

प्रायः गरेर तरकारीमा किरानाशक सहित झारनाशक विषादी र मुसानाशक विषादीको प्रयोग गरिएको हुन्छ । त्यस्तै सुलसुलेनाशक विषादीको समेत तरकारीमा प्रयोग गर्ने गरिएको आचार्यले बताइन् । उनले भनिन्– हामीले परीक्षण गरेर दिएको तरकारी तथा फलफूलको रिपोर्टमा दुई वटा ग्रुपको मिसावट प्रतिशत मात्रै हेरेर खान मिल्ने कि नमिल्ने अवस्थाको हो त्यो उल्लेख गर्छाैं ।’

व्यापारी आफैंले विषादी जाँचका लागि फलफूल तथा तरकारी ल्याउन नमिल्ने र आफूहरुले नै शंका लागेको खण्डमा मात्रै फलफूल तथा तरकारीको नमूना संकलन गर्ने गरेका छौं –आचार्यले भनिन्– ‘कहिले काँही अफ सिजनको तरकारी भेटियो भने परीक्षणका लागि ल्याउने गरेका छौं ।’

अहिले हामी आफैंले कुनैपनि प्रकारका तरकारी तथा फलफूलको नमूना परीक्षणका लागि ल्याएका छैनौं –उनले भनिन्– प्रत्येक भन्सारले पत्र सहित पठाएको नमूना मात्रै परीक्षण गर्ने गरेका छौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here