बिर्तामोड।

विपद्का बेला उद्दार र राहत पहिलो प्राथमिकता हो । तर, गौरीगञ्जबासीले भने सहयोगका नाममा चाउचाउ र चिउरा बोकेर गाउँ नपस्न भनेका छन् ।
आफ्नै आँखा अगाडि सात सय परिवारलाई माई खोलाले उठिबास लगाएको भन्दै गौरीगञ्ज गाउँपालिका– १ का रामभक्त सुनुवारले राहतको सामग्री चाउचाउ र चिउरा लिएर गाउँ नपस्न प्रमुख जिल्ला अधिकारीलाई भने । बाढी प्रभावित क्षेत्रको अनुगमनका लागि प्रमुख जिल्ला अधिकारी जनकराज दाहालसहित प्रहरी उपरीक्षक दिनेशराज मैनालीसहितको टोली बुधबार गौरीगञ्ज पुगेको थियो ।
गौरीगञ्ज गाउँपालिका– १ होकलबारीमा १२ वर्षअघि निर्माण गरिएको बाँध माई खोलाले फुटाएर बाढी गाउँ पसेपछि २६ घर परिवार विस्थापित भएका थिए । विस्थापितको अबस्था र खोलाको स्थलगत निरीक्षणका लागि पुगेका प्रमुख जिल्ला अधिकारी दाहाललाई होकलबारीको वस्तुगत अवस्थाको विषयमा जानकारी गराउँदै सुनुवारले भने– ‘पहिला यहाँ सात सय परिवार बसोबास गर्थे । कनकाई माइको कटान र डुबानकै कारण यहाँको सिङ्गो बस्ती विस्थापित भयो ।’
१२ वर्षअघि जनताको तटबन्धनले होकलबारीमा बाँध निर्माण गरेपछि अहिले ९६ परिवार यहाँ बसोबास गर्छन् सुनुवारले भने– ‘यसपटक माई खोलामा आएको बाढीले बाध भत्काउँदा होकलबारी बस्तीका २६ परिवार पूर्ण रुपमा विस्थापित भए । बाढीका कारण विस्थापित बनेका स्थानीय इन्द्रेणी आधारभूत विद्यालयमा आश्रय लिएर बसे, पानी घटेपछि मानिस फर्किए पनि उनीहरुको अन्न पात अझैं उतै त ।’
बढीले सयौं विगाह जमिन कटान गरेको भन्दै हरेक वर्ष वर्षायाममा बाढी प्रभावित क्षेत्रमा रेडक्रस लगायतको टोली राहात बोकेर आउने गरेको तर त्यसपछि यस क्षेत्रको विपदका विषयमा जानकारी लिन कोही पनि फर्केर नआउने गरेको उनले बताए । उनले भने– ‘वर्षाैं भयो यहाँका स्थानीयले सास्ती झेलेको । तर, हाम्रो दुःख कसैले बुझेन । मैले जान्दा यहाँ ठूलो बस्ती थियो । सात सय परिवार यही बस्थे । तर, वर्षेनि माई खोलाले कटान गर्दै सयांै विगाह खेतीयोग्य जमिन बगर बनायो अनि झण्डै सात सय परिवारलाई विस्थापित बनायो ।’
प्रमुख जिल्ला अधिकारी दाहाललाई सुनुवारसँगै स्थानीय टंक श्रेष्ठले समेत यस ठाउँमा तत्कालको राहतभन्दा दिर्घकालीन योजनाहरु लिएर मात्रै गाउँ पस्न आग्रह गरे । उनले भने– ‘यहाँका स्थानीयबासीलाई सुरक्षित गर्दै डुबान र कटान रोक्न कनकाई खोलामा तटवन्धन जरुरी छ ।’ वर्षेनि आउने बाढीले हाम्रो दुःख छताछुल्ल पार्छ । तर, सहयोग भने चाउचाउ र चिउरा मात्रै हुन्छ उनले भने– ‘अब हामीलाई चाउचाउ र चिउरा होइन सिडियो साव यहाँको बस्ती सुरक्षित गर्न तटवन्धनका योजनाहरु लिएर मात्रै गाउँ आउनुहोस् ।’
घर–घरम सिडियो
डुबान र कटान क्षेत्रको स्थलगत अनुगमनका लागि गौरीगञ्ज गाउँपालिका–१ होकलबारी पुगेका प्रमुख जिल्ला अधिकारीले त्यहाँका बाढी प्रभावितको घर–घरमा पुगेर वस्तुस्थिति बुझेका छन् । उनले स्थानीय तहसँग समन्वय गर्दै नदी नियन्त्रणका लागि तटबन्ध लगायतका स्थायी योजना तयार गरी बाढीबाट वस्ती जोगाउन पहल गर्ने बताए ।
उनले भने– ‘आजैबाट तपाईहरु बाढीले पु¥याएको क्षतिको लगत संकलन गर्नुहोस्, राहतका लागि मेरो पहल रहन्छ, नदीमा तटबन्धका लागि समेत योजना बनाउँदै म कहाँ लिएर आउनुहोस् माथिबाट योजना स्वीकृत गराउने काम मेरो भयो ।’
कटानको क्षति संकलन गर्न ज्ञान केन्द्रलाई निर्देशन
प्रमुख जिल्ला अधिकारी दाहालले होकलवारीमा कनकाई नदीले बाँध फुटाएर पु¥याएको क्षतिको विवरण संकलन गर्न कृषि ज्ञान केन्द्रका प्रमुख शालिकराम भट्टराईलाई निर्देशन दिएका छन् ।
उनले माई खोलाको बाढीका कारण कटान क्षेत्रको स्थालगत अनुगमनपछि बाढी प्रभावित क्षेत्रबाटै भट्टराईलाई यस्तो निर्देशन दिएका हुन् ।






























