कचनकबलमा ४७ करोड ६० लाख, निःशुल्क शिक्षादेखि डाइलोसिससम्म

0
511

भद्रपुर।

शिक्षा, कृषि, स्वास्थ्य र पर्यटनलाई विशेष प्राथमिकता राखेर कचनकवल गाउँपालिकाले चालू आर्थिक वर्ष २०७६÷०७७ को नीति, बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

भारतीय सीमा नाकासँग जोडिएको नेपालकै सबैभन्दा होचो भू–भाग रहेको यस गाउँपालिकाले चालू आर्थिक वर्षमा शिक्षा, कृषि, स्वास्थ्य र पर्यटनलाई विशेष प्राथमिकता राख्दै ४७ करोड ६० लाख बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको चौथो गाउँसभाबाट पारित नीति, बजेट तथा कार्यक्रम गाउँपालिकाले प्रतिनिधि सांसद राजेन्द्र लिङदेनको प्रमुख आतिथ्यमा पत्रकार सम्मेलन मार्फत बजेट सार्वजनिक गरेका हुन् ।

गाउँपालिकाका अध्यक्ष अन्जरा आलमले नीति, बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै चालू आर्थिक वर्ष २०७६÷०७७ को बजेटमा केन्द्रीय सरकारको वित्तीय समानीकरणबाट १२ करोड ६० लाख, राजश्व बाडफाडबाट नौ करोड ६२ लाख, प्रदेश सरकारको वित्तीय समानीकरण तथा राजश्व बाडफाडबाट ५५ लाख ५४ हजार, आन्तरिक आयबाट दुई करोड, केन्द्रीय सरकारको सशर्त अनुदानबाट १६ करोड ३४ लाख, तराई मधेस समृद्घि कार्यक्रमबाट १० करोड, संघीय तथा प्रदेश सांसद पूर्वाधार विकास कार्यक्रमबाट दुई करोड ५० लाख र अन्य स्रोतबाट दुई करोड ९८ लाख ५५ हजार रहेको जानकारी दिए ।

चालू खर्चमा छ करोड ८१ लाख, सशर्त अनुदान चालू खर्चतर्फ १३ करोड ७६ लाख ९४ हजार र पुजिगज खर्चतर्फ दुई करोड ५७ लाख ६ हजारी गरी जम्मा १६ करोड ३४ लाख, शिक्षामा १० करोड, स्वास्थ्यमा १५ करोड, कृषिमा सात करोड ५० लाख, संस्कृति तथा पर्यटन विकासमा एक करोड ५५ लाख, पशु सेवामा तीन करोड ५० लाख, सहकारीमा ५० लाख, महिला तथा बालबालिकामा एक करोड, वनमा १० लाख, युवा तथा खेलकुदमा १० लाख , खानेपानीमा पाँच लाख, विद्युत्मा ५० लाख लगायत विभिन्न शीर्षकमा रकम विनियोजन गरेको अध्यक्ष आलमले जानकारी दिए । यता गत आर्थिक वर्षमा गाउँपालिकाको बजेट ५३ करोड २१ लाख २५ हजार रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलाराज थापामगरले जानकारी दिए ।

निःशुल्क शिक्षादेखि पर्यटन प्रवद्र्धन सद्भावना दूतमा गायक खरेलसम्म गाउँपालिकाले चालू आर्थिक वर्षदेखि देखि कक्षा १२ सम्म सबै विद्यार्थीहरूलाई निःशुल्क शिक्षा तथा छात्रालाई क्याम्पस तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गरिएको, एक वडा एक नमूना बाल कक्षा सञ्चालन गर्ने, सबै विद्यालयमा अनिवार्य कम्प्युटर शिक्षाको व्यवस्था गरेको छ ।

मदरसा र गुरुकुल शिक्षालाई विद्यालय शिक्षासँग आवद्घ गदै जाने, सुलभ औषधि पसल सञ्चालन गर्ने विद्यालयको पढाइमा पुरस्कार र दण्डको व्यवस्था गर्ने, प्राथमिक स्वास्थ्य चौकी बनियानीमा मृगौलाका रोगीहरूलाई डायलासिस सेवा सञ्चालन गर्ने, खेत बाझो नराख्न कृषकलाई मोटर बोरिङ, मल, बीऊ तथा औजार वितरण गर्ने, आग्र्यानिक खेतीलाई विशेष प्राथमिकता र प्रोत्साहन प्रदान गर्ने, माछापालन र आग्र्यानिक तरकारी खेतीमा विशेष प्रोत्साहन र अनुदानको व्यवस्था, धान सुपरजोनको कार्यक्रमलाई अझ व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने भएको छ ।

स्थानीय हाटबजारमा स्थानीय कृषकले आफै उत्पादन गरेर स– साना इकाईमा बिक्रीका लागि ल्याउने फलफूल तथा तरकारी जन्य वस्तुहरूमा लाग्दै आएको दैनिक हाटबजार कर हटाउने, निर्माणाधीन पुल कल्भर्ट र बाटाहरू यसै वर्ष सम्पन्न गर्ने र बाँकी सबै स्थानका पुल कल्भर्टहरु यसवर्षबाटै एक साथ निर्माण कार्य प्रारम्भ गर्ने, जैविक विविधता र वन्यजन्तुका हिसाबले अत्यन्तै महत्वपूर्ण जलथल जंगल र नेपालकै सबैभन्दा होचो स्थान कचनकवलको पर्यटकीय विकास र प्रवद्र्धनमा विशेष काम गर्ने, बेरोजगार युवा लक्षित तालिम केन्द्र र स्वरोजगार कोषको स्थापना, सीप भएका र तालिम केन्द्र मार्फत सिप सिकेका युवाहरूलाई साना घरेलु, कुटीर उद्योग र व्यवसाय सञ्चालनका लागि अनुदान तथा ऋणको व्यवस्था, तीन सय जनाभन्दा बढीलाई रोजगार प्रदान गर्ने वातावरणमैत्री रोजगार मूलक उद्योग स्थापना गर्न चाहने उद्योगीलाई १० वर्षसम्म सबै प्रकारको स्थानीय कर छुट दिने र बिजुली बाटो लगायतका पूर्वाधार निर्माणमा गरिदिने, विकास निर्माणका कार्यहरूलाई प्रभावकारी र परिणाममुखी बनाउन महिला मात्र सहभागी भएको टोल विकास संस्थालाई स्थायी उपभोक्ता समितिको रूपमा जिम्मेवारी प्रदान गर्ने भएको छ ।

त्यस्तै आर्थिक रूपमा कमजोर तथा सामाजिक हिसाबले पछाडि परेका गन्धर्व जातिलाई निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था, कचनकवल डुबानका मुख्य कारणहरू मेची नदीको भद्रपुर– ३ को भैसाबारी, कचनकवल– ५ को पाठामारी, कचनकवल– ४ को पोकलावान र विरिङ नदीको बाह्रदशी– १ को भागडुब्बा खण्डमा तटबन्धन कार्य सम्पन्न गरी कचनकवल डुबान समस्या सधैंका लागि अन्त्य गर्न सम्बन्धित निकायहरूलाई ध्यानाकर्षण गराउने, आगामी दिनमा करका दरमा वृद्धि भन्दा आम्दानीको स्रोतहरूको विकास र पहिचानलाई प्राथमिकता प्रदान गर्ने नीति तथा कार्यक्रमहरू प्रमुख प्राथमिकतामा रहेको अध्यक्ष आलमले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here