ए सरकार ! बाढीपीडितलाई कट्टु त देऊ

४ श्रावण २०७६, शनिबार मा प्रकाशित

भुवन तामाङ,

कथा

‘ए कान्छी ! म हिँडे है मेलातिर’ भन्दै कान्छा हलगोरुको काँधमा जुवा नारेर अनि हलो आप्mनै काँधमा बोकेर बारीतिर लाग्छ । ‘पानी परिराछ ओढ्नलाई घुम लानु है’ भन्दै कान्छी आप्mना खसम कान्छालाई सम्झाउँछे । बर्खा लाग्यो पानी प¥यो माटो कमलो हुन्छ भनेर कान्छा हौसिँदै खेत जोत्न थाल्छ । कान्छी कुख्रा, बाख्रा र घरधन्दामा लाग्छे ।

घाँसको अनिकाल भए पनि छोराछोरीले एकएक भारी घाँस काटेर ल्याउँछन् । नानीहरु घरमा जे पाकेको छ खाएर कापी–किताब च्यापेर दुईघण्टा टाढाको स्कुलतिर पढ्न दौडन्छन् । ‘तिमीहरु चाहिँ के ओडर जान्छौ नि भुरा हो ?’ भनेर कान्छीले नानीहरुलाई सोध्दा नानीहरु एक–एक वटा मानेको पात ओढेर दगुर्छन् ।

कान्छा जस्तै धेरै पहाडी किसान आप्mना बारी जोत्दैछन् । उनका नानीहरु जस्तै धेरै नानीहरु बिहानभरि घरको काम भ्याएर घरमा रुखोसुखो जे पाकेको छ खाएर स्कूल दगुर्छन् । कान्छी जस्तै धेरै पहाडी ग्रामीण गृहिणीहरु घरधन्दामा तल्लिन् हुन्छन् र खेतबारीको काम पनि गर्दछन् । ढिलै भए पनि यसपाली बर्खा शुरु भएकाले कान्छा कान्छी जस्तै पहाडी गाउँका सबै किसान परिवारहरु खुशी हुँदै धर्ती उर्बर बनाउने काममा जुट्छन् । मानो खाएर मुरी उब्जाउन उनीहरु पौरख गर्न पहाडका पाखाभरी छरिएका छन् ।

तर, निर्दयी, विवेकहीन मौसमलाई किसानहरुको उत्साह र सपना मञ्जुर छैन सायद । निरन्तर दर्र्के पानी परेको परेकै गरेर पहाडै बगाएर लान खोज्छ । आखिर भयो पनि यस्तै । पहाडको माथिबाट लेदो पानीसहितको पहिरो आउँछ । कान्छा हलगोरु छाडेर भाग्छ । हेर्दाहेर्दै उसको मलिलो खेत हलगोरुसहित पहिरोले सोहोरेर लग्छ । ‘राम राम, राम राम !’

कान्छाको मुखबाट यस्तै पुकार निस्कन्छन् । बेपत्तासँग दौडँदै र हामफाल्दै कान्छा घर आइपुग्छ, तर उसले आप्mनो घर हराएको पाउँछ । पहिरोले उसको घर श्रीमती कान्छीसहित तल पहाडको फेदमा पु¥याएछ । कान्छी भत्किएको घरभित्रै पुरिएर मरिछे । कान्छा चित्कार गर्छ, तर उसको चित्कार निर्दयी पहिरो र दर्र्के पानी सँगै मिसिन्छ । उसलाई झट्ट छोराछोरीको याद आउँछ । तर, उसका नानीहरु साँझ अँध्यारो हुन्ज्यालसम्म पनि आइपुग्दैनन् । यसबेलासम्म कान्छाको गाउँमात्र होइन वल्लोपल्लो गाउँ बर्खाको पहिरोले क्षत्विक्षत् पारिसकेको हुन्छ । एउटा बिरानो पहाडमा परिणत हुन्छ उनीहरुको प्यारो गाउँ । कान्छा र कान्छा जस्तै पहाडी किसान परिवारहरुका सबैथोक लुटिइन्छ ।

मानवीय सहयोग गर्न पहाडमा हप्तौँ, महिनौसम्म कोही आइपुग्दैनन् । उनीहरुलाई त्यही बिरानो पहाडले भनिरहेछ ‘आओ ए किसानहरु हो ! मलाई फेरि खनिखोस्री गर र अन्न फलाओ अनि बाँच दुःख–सुखसँगै ।’

अर्को कथाः नेपालको मध्यपूर्वी तराईका गाउँका किसानहरु साँझको खपिनसक्नु गर्मीमा मच्छरसँग लडाई गर्दै मीठो निद्रा सुन्ते कोशिस गर्छन् । मध्य रातपछि गड्याङगुडुङ आवाजसँगै पानी छिट्याउन थाल्छ । गर्मीले निदाउन नसकेका किसानहरु रमाउँदै चिच्याउँछन्– ‘ए दाजु ! ए भाइ ! ए काका ! ए आमा ! लौ बर्खा लाग्यो पानी प¥यो । अब खेत जोत्नुपर्छ । धान रोपाइँ गर्नुपर्छ । यसपाली सहकाल आउने रहेछ । हाम्रो खुशीको दिन आउने रहेछ । उठ ! एठ ए ! सबै जना । जाऔँ खेतमा ।’ भन्दै चिच्याउन थाल्दछन् ।

नभन्दै एक घर अर्को घर । एक टोल अर्को टोल । एक गाउँ अर्को गाउँ, राति नै बर्खाको पानी परेको खुशीयालीमा घर बाहिर निस्कन्छन् । कोही गोरु नार्न थाल्छन् त कोही ट्याक्टर स्टार्ट गर्न थाल्छन् । कोही कोदालो बोकेर बारीतिर दौडन्छन् तर किसानको खुशीयाली निर्दयी र विवेकहीन मौसमलाई मञ्जुर छैन । लामो पर्खाइपछिको बर्खाको पानी त भिषण दर्केपानीमा परिणत हुन्छ । उज्यालो हुँदासम्ममा गाउँका गाऊँ डुबानमा पारिसकेका हुन्छन् । जोतेर धान रोप्नुपर्ने खेतहरु पानीका तलाउमुनि हराउँछन् । बस्तुभाउ, कुख्रा–बाख्रा बगेर कहाँ–कहाँ पुगिसकेका हुन्छन् । सीमानामा भारतले बनाएको बाटोरुपी बाँधले खोला नदीका बहाव रोकिएर बाढीको पानी उल्टै उभो फर्कदा तराईका गाउँहरु डुब्दछन् ।

गाउँलेहरु रुँदै कराउँदै अग्ला स्थानमा पुगेर ज्यान जोगाउँछन् । विद्यालयका भवनहरुमा उनीहरु ओत लाग्छन् । साथमा खाने पानीसम्म छैन । पेटभरी खानु त सम्भव हुने कुरै भएन । कतिपय त नाङ्गैभुतुङ्गै अवस्थामा छन् । मानिसहरु निद्रैमा उठेर अँध्यारैमा ज्यान जोगाउन भाग्नुपर्दा कतिपय महिलाहरुको जीउमा पेटनीमात्र छन् । कतिपय पुरुषको जीउमा एउटा लंगौटीमात्र बेरिएको छ । कतिपय बालबालिकाहरुका शरीरमा कट्टु समेत छैन ।

बाढीपीडितहरु सरकार र उद्धारको पर्खाइमा छन् । तीन दिनपछि मन्त्रीहरु सवार एउटा हेलिकोप्टर बाढीपीडितका टाउकामा बसुँला जस्तै गरेर मडारिएर सुइत्तै उडेर बेपत्ता हुन्छ । हप्तौं बित्दा पनि कुनै मानवीय सहयोग आइपुग्दैन । नेपाल संघीय सरकार, प्रदेश र स्थानीय सरकारको विपद् व्यवस्थापन क्षमता र कलाको हविगत प्रष्टै हुन्छ ।

पानी थामिन्छ । पानीको तलाउमा डुबेर उत्रेका जमिन, खेतबारीहरुले भनिरहेछन् जस्तो लाग्छ किसानहरुलाई, ‘आओ किसानहरु हो ! मलाई फेरि खनिखोस्री गर र अन्न फलाओ अनि बाँच दुःख–सुखसँगै ।’ यस्तै त हो नेपालको तराई भेगका जनताका कथा पनि । तर, ए सरकार ! जनतालाई लाज ढाक्न बेलैमा एउटा कट्टु त देऊ ।’

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here