अर्जुनधारा।
झापाको अर्जुनधारा–७ पाराखोपीमा रहेको साविक पञ्चकन्या सेती सिंहदेवी देवीस्थान हाल डाङग्रे बाबा–सेतीदेवी–पाथीभरा माता धाम परिसरको घेराबारा गर्ने कार्य सम्पन्न भएको छ ।
प्रदेश १ सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसहित विभिन्न संघ–संस्था र दाताहरुको सहयोगमा धाम परिसरको ९० मिटर क्षेत्रमा घेराबारा भएको धाम संरक्षण समितिका अध्यक्ष राजेन्द्र काफ्लेले बताए ।
उनको अनुसार मन्त्रालयको पर्यापर्यटन विकास कार्यक्रममार्फत् चार लाख रुपैयाँ, स्थानीय एसयूएस निर्माण सेवाबाट ५१ हजार रुपैयाँ, मदन बुढाथोकीबाट पाँच हजार रुपैयाँ, पञ्चकन्या पाइप उद्योगबाट तीन हजार रुपैयाँ, नारायण बचत समूहबाट २१ सय रुपैयाँ, तेजबहादुर भट्टराईबाट दुई हजार रुपैयाँ, बालकृष्ण पोखरेलबाट १५ सय पाँच रुपैयाँ, नविन ढुंगाना र सन्तोष नेम्वाङबाट जनही एक हजार रुपैयाँ र आरएन फ्रेस हाउसबाट पाँच सय रुपैयाँ प्राप्त भएको थियो ।

त्यसैगरी निर्माण सामग्रीहरुतर्फ के.के. ग्रील उद्योगबाट ९० केजी बराबरको ग्रील, इन्द्रबहादुर मगरबाट सात ट्रयाक्टर गिटी र एक ट्रयाक्टर ढुंगा, मनकुमार काफ्लेबाट एक ट्रयाक्टर ढुंगा र जय घटाल रोडा क्रसर उद्योगबाट पाँच बोरा सिमेन्ट उपलब्ध भएको उनले बताए ।
जनसहभागिता ६८ हजार तीन सय ५० रुपैयाँ ७८ पैसासहित जम्मा लागत चार लाख १२ हजार ७० रुपैयाँ ७८ पैसामा कार्य सम्पन्न भएको उक्त घेराबाराको जम्मा लम्बाई सात फिटमध्ये दुई फिट प्लम र बाँकी पाँच फिटमा ग्रीलको प्रयोग गरिएको समितिका सचिव रोशन नेम्वाङले बताए ।
धामलाई आवश्यक घेराबारा गर्न सहयोग गर्ने मन्त्रालय, संघ–संस्था तथा दाता महानुभाव,मन्त्रालयबाट योजना ल्याउन विशेष भूमिका निर्वाह गर्ने युवा राजनीतिककर्मी भास्कर काफ्ले लगायतलाई समितिकोतर्फबाट अध्यक्ष काफ्लेले धन्यवाद ज्ञापन व्यक्त गरेका छन् ।





























