अञ्जलि ओभरसिज देशकै उत्कृष्ट पाँचौमा

0
2283

झापा।

काठमाडौं सामुखुशीमा केन्द्रीय कार्यालय रही बिर्तामोडमा शाखा रहेको अञ्जलि ओभरसिज प्रालि वैदेशिक रोजगारमा कामदार पठाउने संस्थाहरु मध्ये देशभरमै उत्कृष्ट पाँचौ भएको छ ।

देशभर गरिएको सर्वेक्षणमा अञ्जलि ओभरसिज उत्कृष्ट पाँचौ भएको हो । सरकारले पछिल्लो समय वैदेशिक रोजगारी व्यवसायीहरुको धरौटी बढाउँदै लगेपनि संस्थागत रुपमा वैदेशिक रोजगारीमा जाने कामदारहरुको संख्यामा ठूलो गिरावट आएको छ । तथापि अञ्जलि ओभरसिज भने वैदेशिक रोजगारमा कामदार पठाउने संस्था मध्ये देशभरमै पाँचौ भएको होे ।

अञ्जलिले एक आर्थिक वर्षमा ५३ महिला सहित २ हजार १ सय १९ जना कामदारलाई वैदेशिक रोजगारीमा पठाउन सफल भएको प्रवन्ध निर्देशक भानु शिवाकोटीले जानकारी दिए । केन्द्रीय कार्यालय काठमाडौंमा रहेको अञ्जलि ओभरसिजको बिर्तामोडबाहेक चितवन र इटहरीमासमेत शाखा कार्यालय सञ्चालनमा छन् ।

वैदेशिक रोजगार विभागले तयार पारेको आर्थिक वर्ष २०७५–०७६ को प्रगति विवरण अनुसार गतवर्ष वैदेशिक रोजगारीमा गएका ५ लाख ८ हजार ८ सय २८ कामदार मध्ये म्यानपावर कम्पनीबाट गएका कामदारहरुको संख्या २ लाख ८ हजार ३ सय ५२ मात्र रहेको छ । गत आर्थिक वर्षमा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिई १ सय ३६ देशमा नेपाली कामदार गएका भएपनि म्यानपावर कम्पनीहरुबाट जम्मा २७ देशमा नेपाली कामदार गएका छन् ।


अघिल्ला केही वर्षहरु जस्तै राजधानीको बत्तीसपुतलीस्थित दि रिभर ओभरसिज प्रा.लि. धेरै कामदार पठाउन सफल भएको छ । दोश्रो नम्बरमा धापासीस्थित एसओएस म्यानपावर सर्भिसेज प्रा.लि. रहेको छ । ललितपुरको बखुण्डोलस्थित प्याराडाइज इन्टरनेशनल प्रा.लि. धेरै कामदार पठाउने म्यानपावर कम्पनीको तेश्रो नम्बरमा रहेको छ ।

सामाखुशी टाउन प्लानिङस्थित भिजन एण्ड भ्यालु ओभरसिज प्रा.लि बढी कामदार पठाउने सूचीको चौथो नम्बरमा रहेको छ । यता गत आर्थिक वर्ष २०७५–०७६ मा ८ सय ३१ महिला कामदार पठाएको दि रिभर ओभरसिज नै सबैभन्दा बढी महिला कामदार पठाउने म्यानपावरको पहिलो पंक्तिमा रहेको छ ।

संस्थागत रुपमा वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा ठूलो गिरावट आउनुमा मलेसिया रोजगारी बन्द हुनु नै प्रमुख कारण देखिएको छ । आर्थिक वर्ष २०७४–०७५ मा १ लाख २ हजार ९ सय ७९ जना संस्थागत रुपमा गएको मलेसियामा यस पटक भने केबल ९ हजार २ सय ६१ जना मात्र गएका छन् । गत आर्थिक वर्षमा सबैभन्दा धेरै कामदार कतार त्यसपछि क्रमशः यूएई र साउदी अरब गएका छन् । गत आ.व रोजगारीका लागि कतार जानेको संख्या ६५ हजार ४ सय १३, यूएई जानेको संख्या ४८ हजार २ सय ७८ र साउदी अरब जानेको संख्या ४३ हजार ८ सय एक रहेको थियो ।

प्रमुख गन्तव्य पछि नेपाली कामदार ओमान, कुवेत, बहराईन, साईप्रस, जोर्डन, टर्की, गएका छन् । गत आ.व कुवेत जानेको संख्या १५ हजार ५९, बहराईन जानेको संख्या ४ हजार १ सय ८३, ओमान जानेको संख्या २ हजार १ सय २९, जोर्डन जानेको संख्या १ हजार ४ सय ५० रहेको छ ।

चर्चामा रहने टर्की, रोमानिया र साईप्रस जस्ता युरोपियन मुलुक र एशियाको जापानमा रोजगारीका लागि जानेहरुको संख्या एक–एक हजार पनि नाघेको छैन । जापानमा वर्षभरिमा १ सय ५० जनामात्र कामदार रोजगारीका लागि गएका छन् । सरकारले आफैंले पठाउने कोरिया जाने कामदारहरुको संख्या प्रतिवेदनमा समेटिएको छैन ।

गतवर्ष १ हजार ८१ वटा म्यानपावर कम्पनीले कामदार पठाएका थिए । अघिल्लो आर्थिक वर्ष त्यसभन्दा ९ वटाले बढी १ हजार ७२ म्यानपावर कम्पनीले कामदार पठाएका थिए । यसवर्ष १ जनामात्र कामदार पठाउने १२, २ जनामात्र कामदार पठाउने १२, ३ जना कामदार पठाउने १३, ४ जना कामदार पठाउने १६, ५ जना कामदार पठाउने १४ वटा ,६, ७ र ८ जना मात्र पठाउने ११ वटा, ९ जनामात्र पठाउने १२ वटा र १० जनामात्र पठाउने ८ वटा म्यानपावर कम्पनी रहेका छन् ।

त्यस्तै सयजनाभन्दा बढी कामदार पठाउने म्यानपावरको संख्या ५ सय १८ रहेको छ । सरकारले निरन्तर दुई आर्थिक वर्षमा सय जनाभन्दा कम कामदार पठाउने म्यानपवार कम्पनीको नवीकरण नगर्ने कानूनी व्यवस्था गरेको छ ।

एक हजार भन्दा बढी कामदार पठाउने म्यानपावर कम्पनीको संख्या २७ मात्र रहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here