चलनचल्तीका आसनग्रहण

५ श्रावण २०७६, आईतवार मा प्रकाशित

कोमलप्रसाद पोखरेल,

आसनग्रहण तत्सम शब्द हो । शब्द निर्माण प्रक्रियाका आधारमा छुट्याउँदा यसको निर्माण तत्पुरुष समास अन्तर्गत आसनको ग्रहण, आसनग्रहण भएको देखिन्छ । आसनग्रहणका प्रकारहरू धेरै छन् । तिनमध्ये केही प्रमुख आसनग्रहणहरूको चर्चा यसप्रकार गर्ने प्रयास गरिएको छ :

१. पारिवारिक आसनग्रहण
नेपालको इतिहासमा यो आसनग्रहण महत्वपूर्ण मानिन्छ । यस आसनग्रहणका घटक तथा उप–घटक धेरै भएतापनि मुख्य चारवटा घटकहरूको मात्र यहाँ उल्लेख गर्ने जमर्को गरिएको छ । जस्तैः
१.१ पाहुनेज्वाइ“ र घरज्वाइँको आसनग्रहण
पारिवारिक आसनग्रहणमा पाहुनेज्वाइँ सर्वश्रेष्ठ आसनग्रहणकर्ता हो । पहिलो पटक ससुराल पुगेको ज्वाइँलाई बहुमूल्य आसनमा आसनग्रहण गराइन्छ । पञ्चायत कालका राजा र गणतन्त्र कालका राष्ट्रपति÷प्रधानमन्त्रीभन्दा पनि उच्च तहको आसनग्रहण गराइन्छ उसलाई । घरज्वाइँले नवागन्तुक ज्वाइँलाई ससम्मान आसनग्रहण गराउनुपर्छ । घरज्वाइँ कुनै काममा व्यस्त रहेका बेला एकदिने ज्वाइँ आयो भने पनि आइपुग्नासाथ सासूद्वारा उसमाथि आदेशको वर्षा हुन्छ– ए ज्वाइँ ! घराँ ज्वाइँ ठाकुर आइस्या देखेनौ ? तिम्रा आँखा फुटे कि क्या हो ? थपक्क खाटाँ गलैंचा बिछ्याएर उहाँलाई राज गराऊ ।

बिचरा अभागी घरज्वाइँ धोबीको लुते गधामा स्वतः रूपान्तरित हुन्छ । ऊ आफ्नो आसनग्रहणको त कल्पना पनि गर्न सक्दैन । मिठो रासनग्रहणका लागि पनि ऊ मरुभूमिको काकाकुल हुन्छ गणतन्त्रात्मक नेपालका गरिब जनता जस्तै । अचेलका च्याउ उमे्रसरी संघ–संस्थाहरूका कथित सभा समारोहमा उपस्थित प्राज्ञिक तर स्वतन्त्र व्यक्तिको आसनग्रहणको हालत र घरज्वाइँको आसनग्रहणको हालत उस्तै–उस्तै हुन्छ । घरज्वाइँले आफू समेत लागेर आफूभन्दा अयोग्य र अशिक्षित साडुभाइको अथवा साडुदाजुको आसनग्रहण गराएर आफू उपेक्षित हुनुपर्छ भने आफ्नै अगाडि आफै्ले पढाएको एसएलसी फेल संघको सभापति समेतलाई आसनग्रहण गराई आफूलाई वास्तै नगर्ने कार्यले प्राध्यापक एवम् शिक्षक सबैले उपेक्षित हुनुपर्छ । तर दोस्रो, तेस्रो पटक ससुराल आउने ज्वाइँको आसन ग्रहणमा यो नियम लागू हँुदैन । कस्तो नियम लागू हुन्छ ? भन्ने प्रश्नको उत्तर थाहा पाउन परबाट आयो नरे थापा भन्नेखालको ज्वाइँ कविता अध्ययन गर्नुपर्छ ।

सो कविता यसप्रकार छः पहिलो पटक ससुराल जानु, जे–जे खान मन लाग्छ तेही तेही खानुस्, दोस्रो पटक ससुराल जानु, घिउको दुनु सार्नुस्, तेस्रो पटक ससुराल जानु, दालभात मात्र खानुस्, चौथो पटक ससुराल जानु, किन आइस् कानु ! यस अध्ययनद्वारा आसनग्रहणको सूचीबाट चौथोपटक ससुराल जाने ज्वाइँ र घरज्वाइँको नाम स्वतः हटेको कुरा थाहा पाउन सकिन्छ । यी दुई ज्वाइँरूपी जन्तुहरू आसनग्रहण गर्ने भाग्यमानीमा होइन आसनग्रहण गराउने अभागी कालिदासको श्रेणीमा पर्दछन् ।

१.२ मितको आसनग्रहण :
यस आसनग्रहण अन्तर्गत मित मात्र भएका घरमा आगन्तुक मितको आसनग्रहण पर्दछ । यसलाई आसनग्रहणको सिद्धान्तले त्यति महत्व दिएको पाइँदैन । ए मितज्यू, लु एता आटतिर बसम् ! भनेर थोत्रे गुन्द्रीमा बस्न सङ्केत गरिन्छ, आफूलाई पकाएको सिधोपिठो ख्वाइन्छ अनि शहरतिर भए थोत्रे खाटमा र गाउँतिर भए थोत्रे गुन्द्रीमा सुताइन्छ ।
२. पार्टीगत आसनग्रहण :
यस अन्तर्गत जनताका कार्यक्रममा नेताको आसनग्रहण र नेताका कार्यक्रममा जनताको आसनग्रहण पर्दछ । आसनग्रहणको इतिहासमा पहिलो कार्यक्रमको आसनग्रहण महत्वपूर्ण मानिन्छ । किनभने यस कार्यक्रममा छुट्याइएको समयमध्ये अस्सी प्रतिशत समय आसनग्रहणमा लाग्छ । यसमा आफ्ना पार्टीका सबैखाले चवर्गीय (चम्चे, चलखेले, चाटुकार, चाराने, चुतिया, चुसाहा, चोर, च्याँसे) नेतालाई आसनग्रहण गराउनुपर्छ । सम्बन्धित पार्टीबाहेक अन्य पार्टीका वरिष्ठ नेताहरू समेत आसनग्रहणको कोटामा पर्दैनन् । चवर्गीय कोटा चाहिँ कसैगरी छुट्नु हँुदैन । कथं छुटेमा सभापति र उद्घोषकको दोहोलो काडिन्छ । यस क्रममा कुनै मन्त्री र सभासदले समारोह नै बहिष्कार गरेको समाचार हामीले सुन्दै आएका छौँ । समारोह बहिष्कार गर्न नसक्ने र आसनग्रहणको कोटामा पनि नपर्ने बिचरा वरिष्ठहरू अर्को सभामा जाने बहानामा ओठ कलेँटी पार्दै उठ्छन् र सभापति र उद्घोषकतिर पुलुकपुलुक हेर्दै बिस्तारै सभाहलबाट बाहिरिन्छन् । यस्तो लाग्छ ढोकाबाट बाहिरिँदासम्म पनि आसनग्रहणबाट वञ्चित बिचरा अभागीहरू आसनग्रहणको आस गर्दै हुन्छन् । यी बाहिरिने नेताको अवस्था र तथाकथित जनपक्षीय एवम् धनपक्षीय नेताका छोराछोेरीको बर्थडे पार्टीमा खान पाइन्छ कि भनेर आसले आएका तर ढोकाभित्र पस्नै नपाई फर्किएका गरिब जनता र उनका छोराछोरीको अवस्था उस्तै–उस्तै हुन्छ ।
आसनग्रहणको इतिहासमा लेखिएको एउटा चाखलाग्दो घटना यहाँ उल्लेख गर्न सान्दर्भिक देखिन्छ । मेरा एकजना मित्रलाई आसनग्रहण–फोबिया भएको रहेछ । आसनग्रहणकै लोभमा उनी पूर्वमा शिलगढी, पश्चिममा इटहरी, दक्षिणमा महाभारा, गौरीगञ्ज, डिगलब्याङ्क र उत्तरमा इलाम, पाँँचथर, ताप्लेजुङसम्मका सभा समारोहमा पनि पुग्दा रहेछन् । बरू नेताहरूको काली कुत्तिम्ले समेत महा उत्तिम् भएर आसनग्रहण पाउँदो रहेछ । तर, रामोराम उनले चाहिँ सुकुलमा समेत आसनग्रहण भेटेका रहेन छन् । आफ्नो गोजी मात्र होइन श्रीमतीको थैली समेत रित्याएछन् उनले । कुनै समारोहमा पनि आसनग्रहण नगराएपछि उनले एउटा जुक्ति नगरी छाड्दिन भन्ने बिचार गरेछन् ।

कुनै एउटा कार्यक्रममा सबै हिँडिसकेपछि हजुर कुन पार्टीमा हुनुहुन्छ ! भनेर उद्घोषकलाई सुटुक्क सोधे छन् । उद्घोषकले आफू राप्रपामा आबद्ध भएको कुरा गरेछ । उनी स्वतन्त्र व्यक्ति भए पनि आसनग्रहणकै प्रयोजनका लागि उनले भोलिपल्टै सो पार्टीको टिकट काटेर अर्को कार्यक्रममा त्यही चाराने टिकट लिएर गएछन् । त्यसपटक चाहिँ उनी आसनग्रहण गर्न पाउनेमा विश्वस्त भएछन् । तर, उनको विश्वास लोकतन्त्रमा विश्वास गर्ने गरिब नेपाली जनताको जस्तै भएछ । किनभने अस्तिको उही उद्घोषक यसपाली कांग्रेस भएर आएको रहेछ । मोराले छानी–छानी कांग्रेसीलाई मात्र आसनग्रहण गराएछ । उनका घरमा काम गर्ने कालुले पनि अग्रस्थानमा आसनग्रहण पाएछ । उनलाई उद्घोषकले हेर्दा पनि हेरेनछ । थुक्क ! भन्दै निधारमा हात राखेर मेरा मित्र घर फर्किएछन् ।

एक महिनापछि पहिलेकै ठाउँमा अर्को समारोह हुने निश्चित भएछ । उनले पनि हत्त न पत्त जय नेपालको टिकट लिएछन् र समारोहका दिन समयअघि नै समारोह स्थलमा उपस्थित भएछन् । भाग्यले साथ नदिएपछि कसको के लाग्छ । त्यसपटक पनि उनको इच्छा पूरा भएनछ । किनभने अस्तिको उद्घोषक कट्टर एमाले भएर आएको रहेछ त्यसपाली । असफलता नै सफलताकी जननी हुन् भन्ने कुरा मेरा मित्रले तेन्जिङ नोर्गेबाट सिकेका रहेछन् । उनले पटक्कै हरेस खाएनछन् र अर्को पटक पनि प्रयास गरेछन् एमालेको पार्टी सदस्य भएर । तर आसनग्रहणरूपी सगरमाथा विजय गर्न उनी यसपटक पनि असफल भएछन् । किनभने अस्तिको उद्घोषकले यसपाली एमाओवादीको चस्मा लगाएर आएको रहेछ । मेरा मित्रले पनि एमाउवादीकै चस्मा किनेछन् अर्को पटकको आसनग्रहणका लागि । तर, अफसोच त्यस पटक उद्घोषकले बिमाओवादीलाई मात्र आसनग्रहण गराएछ । उनी आफ्नो अभियानबाट कत्ति पनि विचलित भएनछन् र बिमाओवादीतिर लेपासिएछन् सुटुक्क । उनी सधैं झैं समारोहमा गएछन् । त्यहाँ पुग्दा मात्र उनले थाहा पाएछन् उद्घोषकले आरवादीको बिल्ला लगाएको छ भनेर । उपस्थिति पनि राजावादीको मात्र थियो । त्यसपटक रजिस्टरमा सही गर्ने जति सबैको आसनग्रहण भएछ । मेरा मित्रले सही गर्न भुलेको हुनाले उनको आसनग्रहण भएन छ त्यहाँ पनि । उनी हे¥याहे¥यै भए छन् ।

एमाओवादीको टिकट लिँदा चाहिँ उनकी श्रीमती निकै खुसी भएकी थिइन् अरे । तर, आफ्ना लोग्नेले बिमाओवादी र आरवादीको टिकट लिएर पनि आसनग्रहणको मौका नपाउँदा चाहिँ उनको चित्त सारै दुख्यो अरे । एक त सत्तामा नरहेको त्यसमा पनि कार्यकर्ता थोरै भएका पार्टीको कार्यक्रममा समेत आसनग्रहण नभेट्टाउनेले डाडुमा पानी तताएर हाम्फाल्नु नि ! भनिछन् रिसका झ्वाँकमा । धन र धर्म दुबैतिर नाश भनेको यही होला ! अब अर्को समारोहको आसनग्रहणमा तै उनको चिठ्ठा पर्छ कि हेर्नुछ ।

३. अत्याधुनिक आसनग्रहण
प्रस्तुत आसनग्रहण अन्तर्गत धेरै आसनग्रहण पर्छन् । तिनमध्ये निम्नलिखित आसनग्रहण महत्वपूर्ण मानिन्छन् ः
३.१ नाकगत आसनग्रहण
यो आसनग्रहण नेपालको मौलिक आसनग्रहण हो । संसारको कुनै कुनामा पनि यस्तो आसनग्रहण छैन । यसको पूर्ण आविष्कार भुइँमुनी भएको हो भने आंशिक आविष्कार घना जंगलभित्र भएको हो । वर्तमान समयमा नेपालको कुना–कुनामा नाकगत आसनग्रहण गराइन्छ । नेपालमा गन्नु हो भने अढाइ करोड जति नाक होलान् र अनुसन्धानात्मक हिसाबमा नाकका प्रकार पनि त्यति नै हुन सक्छन् । गडुरनाके, गिद्धनाके, बाँदरनाके, सुगानाके, चिम्प्यान्जीनाके, बङ्गुरनाके बिरालानाके, बाघनाके, सगरमाथानाके, झापाको केचनानाके कति हो कति भनेर र गनेर साध्य छैन । नेपाली नाकका प्रकारस त्यसैले यहाँ मोटामोटी रूपमा चुचे र थेप्चे नाकको मात्र वर्णन विश्लेषण गर्ने प्रयास गरिएको छ । यी दुई नाकको इतिहास त्यति लामो छैन । नेपालमा गणतन्त्र आएपछि मात्र यी दुई नाकको टुप्पामा द्वन्द्वात्मक भौतिकवाद, समाजवाद, र राष्ट्रवादको चित्र देखिएकोे हो र आसनग्रहणको इतिहासमा यी नाकको नाम लेखिएको हो । अहिले कुनै समारोहमा थेप्चे नाकले चुचे नाकलाई देख्यो भने उसलाई नाक लाग्छ । थेप्चेको कार्यक्रममा थेप्चे नै उद्घोषक प¥यो भने त विचरा चुचे आसनग्रहणमा मात्र होइन, भाषण श्रवणमा समेत उपेक्षित हुन्छ । सो समारोहमा निहुर्मुन्टी न भएर सबैभन्दा पछाडिको लहरमा बस्नु बाहेक अरु उपाय हुँदैन उसका लागि । मेरा अर्का एकजना मित्रले आसनग्रहणकै लागि ढुंगाले हिर्काएर आफ्नो नाक थेप्चो बनाउँदा पनि आसनग्रहण गर्न पाएनन् थेप्चेको कार्यक्रममा । पछि अनुसन्धान गर्दा पत्ता लाग्यो खाल जग्गामा उनका आँखा नभएकोे कारणबाट उनले आसनग्रहण नभेटेका रहेछन्, तर चुचेले आयोजना गरेको कुनै–कुनै समारोहमा चाहिँ उपस्थित हुने जति सबैले आसनग्रहण भेट्छन् कार्यक्रम सकिने बेलासम्म भए पनि । सत्ते होला यहाँ चुचे नाकको पक्ष किमार्थ लिइएको होइन ।

३.२ रड्डगत आसनग्रहण
यस आसनग्रहणमा दलीय, जातीय, लिङ्गीय, नाकीय, धार्मिक, साम्प्रदायिक कुनै किसिमको भेदभाव नराखी रङका आधारमा मात्र आसनग्रहण गराइन्छ । संसारभर सेता, राता, पहेला र काला गरी चार रङका मानिसहरू रहेका पाइन्छन् भने नेपालमा मूलतः छिपछिपे काला र गहुँगोरा मानिस मात्र छन् । एउटा रङ भएका मानिसको कार्यक्रममा अर्को रङ भएका मानिसलाई आसनग्रहण गराउन् त मरिजाउँ । चाहे अर्को रङको मान्छे जतिसुकै ठूलो ओहोदाको किन नहोस् अथवा चार दलभित्रकै किन होस् किमार्थ आसनग्रहण पाउँदैन । तर, आफ्नो रङका उम्रेदेखि खुम्रेसम्म सबैले आसनग्रहण पाउँछन् । यतिसम्म कि आफ्नो रङको छ भने उद्घोषकको जारै भए पनि उसले आसनग्रहण पाउँछ ।
३.३ जातगत आसनग्रहण
नेपालमा सबैभन्दा पक्षपातरहित आसनग्रहण यही नै हो । मानिस म¥यो भनेर हेर्न आ’को ता बाहुन् पो म¥या रै’छ, मानिस म¥यो भन्थे तर लिम्बू पो मरेको रहेछ भन्ने जस्ता गणतन्त्रात्मक आदर्श वाक्यले यस आसनग्रहणको महत्तवलाई अझ स्पष्ट पारेको छ । यो कुरा विश्वास नगर्नेले लोकतन्त्रको इतिहास पल्टाएर हेर्दा हुन्छ । भाइ फुटे गँवार लुटे भन्ने हिन्दीको उक्तिलाई साकार पार्न यस किसिमको आसनग्रहण गराइन्छ । सयौं जातजाति भएको हाम्रो देशमा यो आसनग्रहण विदेशीलाई हँसाउन मात्र होइन थप्पडी बजाएर नचाउन पनि सफल भएको छ । एउटै पार्टीका मेरा दुई जना साथीको जात फरक फरक छ । ती दुबै जनाले आ–आफ्ना जातीय कार्यक्रममा आसनग्रहणको आस देखाएर एक आपसमा निम्ता पनि गर्छन् । तर, आसनग्रहण गराउने बेलामा एकअर्कालाई खैनी खुवाइदिन्छन् दुबैले । मेरा अर्का एकजना मित्रको बानी–व्यहोरा अचम्मको छ । जोसुकैले बोलाओस् उनी पुगेकै हुन्छन् कार्यक्रममा । तर, उनलाई आसनग्रहण चाहिँ हुनैपर्छ । सामान्य अतिथिका रूपमा आसनग्रहण भेट्दा आधा घण्टा जति मात्र बसेर उनी सुटुक्क भाग्छन् । विशिष्ट अतिथिको आसन पाउँदा कार्यक्रमभरि बस्छन् र प्रमुख अतिथि बन्ने सौभाग्य पाए भने त उनी यति गद्गद हुन्छन् । जसले गर्दा उनलाई बिस–पच्चिस हजार चन्दाको घोषणा गरेको थाहै हँुदैन । यति हुँदाहुँदै पनि किन हो कोनी उनी आफूभन्दा इतर जातिका कार्यक्रममा अचेल पटक्कै जाँदैनन् !

३.४ स्थानगत आसनग्रहण
मन मखु मर्स्या ख, ए मानिस नहीं है पहाडिया है, धोती चोर देश छोड, टोपी चोर मधेस छोड भन्ने महत्वपूर्ण लोकतन्त्रे भनाइको अर्थलाई यस आसनग्रहणले पुष्टि गरेको छ । साँच्चै नढाँटी भन्ने हो भने पहाडेहरूका कार्यक्रममा हाम्रा देशका मधेसे राष्ट्रपति र उपराष्ट्रपतिले समेत आसनग्रहण पाउँदैनन् भने मधेसेहरूका कार्यक्रममा पहाडे शक्तिशाली प्रधानमन्त्रीलाई पनि आसनग्रहण पाउन हम्मे–हम्मे पर्छ । हाम्रा देशका जनतालाई दसआने र सोरआने बनाउने प्रमुख कलाकारहरूको पनि आसन ग्रहणमा हविगत देखिएकै हो ।
एकपटक मेरा टोपीवाल मित्रले आसनगहणका आसमा टोपी फ्याँकेर धोती लगाएछन् र गएछन् धोतीवालका कार्यक्रममा । त्यसपटक चाहिँ आसनग्रहण गर्न पाउनेमा उनी ढुक्क थिए रे, तर आसनग्रहण पाउनुको साटो उनले उपहास ग्रहण मात्र पाएछन् । यसको कारण पछि पत्ता लागे छ उनी श्रीमतीको धोती पो लगाएर अन्भरिए छन् । थुक्क नहुने बेलामा गनाउने मुख !

३.५ धर्म सम्प्रदायगत आसनग्रहण
हम्रो देशका छ्यासी प्रतिशत जनता हिन्हू धर्ममा आबद्ध छन्, तर यिनका दल चाहिँ कति छन् कति । यी दलहरूलाई अबको संविधानमा धार्मिक पार्टीको मान्यता दिँदा राम्रो हुन्छ होला । धार्मिक दलहरू अनगिन्ती भएका कारण यहाँ चर्चा परिचर्चा गर्न असजिलो भएको हुनाले मूलतः यिनलाई दुई दलमा विभाजन गरिएको छ– चन्दन दल र चन्दनेतर दल । यिनमा चन्दनेतर दल फुटेको देखिएको छैन । तर, चन्दन दल फुटेर तीन टुक्रा भएको छ । यिनीहरू अचेल होरिजन्टल, भर्टिकल र सर्कल चन्दनदलका नामले परिचित छन् । यी तीनमा होरिजन्टल चन्दनदलका नेता र कार्यकर्ता त्यति कट्टर रहेका पाइँदैनन् भने भर्टिकल चन्दन दलका नेता कार्यकर्ता सारै कट्टर देखिन्छन् । भर्टिकल पनि फुटेर टुक्रा–टुक्रा भएको छ, जसमा दुई धार सक्रिय देखिएका छन्—भर्टिकल टु र भर्टिकल थ्री । एउटा कट्टर र अर्को अति कट्टर । एकपा माउवादी र नेकपा माउवादी जस्तै । सर्कल चन्दनदलमा आबद्ध व्यक्तिहरूको दलीय गतिविधि एकदमै न्यून रहेको पाइन्छ । किनभने यिनीहरूले निर्वाचन आयोगबाट आधिकारिक रूपमा दलको स्वीकृति पाइसकेका छैनन् । अर्को कुरा यो दल भर्टिकल टु र भर्टिकल थ्रीबाट सारै उपेक्षित देखिन्छ । ती दुई महाशक्तिले सर्कल चन्दनदललाई दक्षिणपन्थी, पुनरुत्थानवादी, यथास्थितिवादी भनेर तथानाम गाली गरेको पनि सुनिएको छ । भर्टिकल थ्रीले आयोजना गरेका धार्मिक कार्यक्रममा भर्टिकल टुलाई समेत आकाशको फल हुन्छ आसनग्रहण पाउन भने अरु दलका मान्छेले त कार्यक्रमस्थलभित्र पसेर आसनग्रहणको कल्पना गरी थुक निल्नसम्म पनि पाउँदैनन् । अँ टुले चाहिँ आफ्ना दलका मान्छे कम हुँदा अरूलाई पनि आठपाँच पछाडिपट्टि नै किन नहोस् आसनग्रहण गराउँछन् । बरू होरिजन्टल, सर्कल र चन्दनेतर पार्टीका मानिसहरूले चाहिँ नातावाद र कृपावादबाहेक अलिक कमै भेदभाव गरेको पाइएको छ आसनग्रहणमा ।

४. साहित्यिक आसनग्रहण
अहिले कवि, गजलकार, र साहित्यकार कति छन् कति भनेर साध्य छैन । यसपालीको जनगणनामा म बसेको वार्डको जनसंख्या तीन हजार रहेको देखिन्छ भने गजलकार र कविको संख्या मात्र तीन हजार तीन सय तेर रहेको पाइयो । त्यसमा पनि कवि साहित्यकारहरूको आ–आफ्नै सिन्डिकेट रहेको हुन्छ । आसनग्रहणको सम्पूर्ण व्यवस्था सम्बन्धित सिन्डिकेटले मिलाउँछ ।
यस आसनग्रहणमा पनि नातावाद र कृपावादले जरो गाडीसकेको छ । प्रगतिशील साहित्यकारहरूका कार्यक्रममा अगतिशील साहित्यकारहरू छायामा पर्ने र अगतिशील साहित्यकारहरूका कार्यक्रममा प्रगतिशील साहित्यकारहरू छायाँमा पर्ने कुराले कवि साहित्यकारहरूमा पनि बर्ड फ्लू लागेको कुरा छर्लङ्ग भएको छ । जे–जस्तो भए पनि साहित्यिक कार्यक्रम चाहिँ अरूका कार्यक्रमभन्दा राम्रै हुन्छ ।

किनभने यसमा दश बजे शुरु हुने कार्यक्रम झण्डै बार सत्ताइसमा शुरु हुन्छ । अनि अर्को राम्रो मान्नै पर्ने पक्ष के हो भने यसले आसनग्रहणलाई सारै थोरै समय छुट्याएको हुन्छ– सात मिनेट मात्र, तर गर्दै भन्दै जाँदा थप सात हजार सात सय सात सेकेन्ड बितेको पत्तै हुँदैन । यसका अरु पनि महत्वपूर्ण विशेषताहरू छन् । तिनमा एउटा हो आफ्नो रचना सुनाएपछि त्यहाँबाट तुरुन्त हिँडिजाने, अरुलाई भिड नगर्ने । यसो हुँदा अन्तिम अन्तिमतिर पालो आउनेलाई सारै खुला हुन्छ । सभापतिले पनि सारो बोल्नु पर्दैन । यसबाहेक आफ्नो पालो आउञ्जेल निष्क्रिय नबस्ने, बिहारिले भने झैं हल्लागुल्लामा सक्रियता देखाउने पनि साहित्यिक आसनग्रहणका उज्याला पक्ष हुन् ।

सकग्रमा अचेल नेपालको आसनग्रहणलाई गिनिजबुकमा लेखाउँछु भनेर एकजना महाकाव्यकार राजधानीतिर जाँदै आउँदै गरेको देखिन्छ । जय आसनग्रहण !

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here