खेतमा देखिनै छाडे हल गोरु

0
811

नगेन्द्रमणि न्यौपाने / झापा।

केही वर्ष अघिसम्म पनि झापाका प्रायः सवै किसानका घरमा हल गोरुलाई अनिवार्य मानिन्थ्यो । जिल्लाका प्रत्येक किसानले आफ्नो जग्गाको अनुपातमा हल गोरु पाल्ने चलन थियो ।

थोरै खेती हुने किसानका घर ग्वालीमा पनि एक हल गोरु वा राँगा अनिवार्य पालिन्थ्यो । धेरै खेती गर्ने किसानले आवश्यकता अनुसार एकदेखि पाँच छ हलसम्म गोरु राँगा पालेर खेती गर्ने गर्थे । तर अहिले झापाका किसानको खेती गर्ने तरिकामा परिवर्तन आएको छ ।

झापाका गाँउ घरतिर आक्कल झुक्कल मात्र हल गोरु देखिन थालेका छन् । कृषि क्षेत्रमा बढ्दै गएको आधुनिकीकरणसँंगै खेत जोत्नका लागिट्याक्टरले महत्व पाउन थालेपछि धेरै किसानले गोरु राँगा मासेर यही प्रविधिको उपयोग गर्न थालेका छन् ।

झापा शिवसताक्षी –७ फाक्तेपका ६६ बर्षीय किसान इन्द्रप्रसाद आचार्य अहिले हल गोरु पालेर खेती गर्ने यो गाँउमा नै एक्लो किसान बनेका छन् । आचार्यले आफ्नो तीन कोरी माथिको उमेरमा आईपुग्दा पनि हिजोको खेती गर्ने तरिकालाई परिवर्तन गर्न सकेका छैनन् । भनेको समयमा ट्याक्टर नपाइने, पाए पनि महंगो पर्ने र माटो पनि राम्रो नबन्ने किसान आचार्यको बुझाइ छ ।

दुई छोरा र एक छोरीका पिता आचार्यले बृद्ध अवस्थामा पनि श्रीमतीको सहयोगमा २ विगाह खेती गर्दै आएका छन् । आचार्यको जेठा छोरा व्यवसाय गर्न काठमाण्डौ गएका छन् भने जेठी बुहारी बैदेशिक रोजगारीका लागि इजरायल छिन् । कान्छो छोरा गाउँकै समुदायिक विद्यालयमा शिक्षक अनि कान्छी बुहारी पनि निजी विद्यालयमा शिक्षक छन् । आफैंले गोरु पालेर खेती गर्दा भनेको समयमा आफूले इच्छाए अनुसारको माटो बनाएर खेती गर्न पाइने आचार्य बताउँछन् ।

झापा जिल्लाको कूल जनसंख्या मध्ये ६६ प्रतिशत किसान रहेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख शालिकराम भट्टराईले जानकारी दिए । ज्ञान केन्द्रको पछिल्लो सर्वेक्षण अनुसार झापा जिल्लाको मुख्य राजमार्गका उत्तरी क्षेत्रमा ९ सय घरधुरी बराबर एक घर धुरीका किसानले मात्र हल गोरु पालेको र राजमार्ग दक्षिणमा प्रति एक हजार घर धुरी एक घर धुरीका किसानले मात्र राँगा वा गोरु पाल्ने गरेको प्रारम्भिक अनुमान गरिएको प्रमुख भट्टराईले जानकारी दिए ।

फेरिँदै किसानको सोच

बदलिँदो विश्व परिबेशसँंगै नेपालमा पनि खेती गर्ने परम्परामा परिवर्तन आएको छ । नासिँदो बन जंगलका कारण कृषिका लागि आवश्यक पर्ने हलोजुवा बनाउने काठको अभाब हुँदै जानु र चरन समेत मासिँदै जानु पनि यसको एउटा मुख्य कारण मान्न सकिन्छ ।

यसैगरी हल गोरु खरिद गर्न ठूलै रकम खर्च गर्नु पर्ने र गोरु नारेर जोत्ने जनशक्तिको अभाब हँुदा अहिले अधिकांश किसानको पहिलो रोजाइ ट्याक्टर बन्दै गएको छ ।

महिला र जेष्ठ नागरिकका भरमा खेती

पछिल्लो समय युवाहरु रोजगारीका लागि बिदेशिने क्रम बढेसंँगै नेपालको कृषि क्षेत्र संकटमा पर्दै गएको छ । कृषिमा काम गर्ने जनशक्ति नहुँदा अहिले महिला र जेष्ठ नागरिकका भरमा जसोतसो खेती गरिँदैछ ।

मानिसको सोचमा परिवर्तन आउन नसक्दा अहिले पनि धेरै किसान झापामा परम्परागत शैलीबाट नै निर्वाहमुखी खेती गरिरहेका छन् । यसको सोझो असर नेपालको अर्थतन्त्रमा त परेको छ नै दैनिक उपभोग गरिने खाद्यबस्तुमा समेत नेपालको परनिर्भरता बढ्दै गएको छ ।
झापामा ९० हजार हेक्टरमा धान खेती

झापा जिल्लाको कूल ९८ हजार ७ सय १६ हजार खेतीयोग्य जमिन मध्ये करिब ९० हजार हेक्टरमा धान खेती हँुदै आएको छ । धान उत्पादनका लागि अब्बल मानिएको झापा जिल्लामा प्रति हेक्टर ४ दशमलब ८ मेट्रिक टन धान उत्पादन हुँदै आएको छ ।

झापा जिल्लामा उत्पादन भएको धानले आन्तरिक मागलाई धानेर अन्य प्रदेशमा समेत निर्यात हुने गरेको पाइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here