असारे झरी, विकास र परिणति

0
628

वर्षा सृजनाको समय हो । आकाशबाट आउने निर्झर झरीले माटोलाई सुगन्धमय बनाउँछ, माटोमा हरियाली ल्याउँछ र अन्नरुपी सुनका दाना फलाउँछ । यस अर्थमा असार, साउन र भदौ महिना हाम्रा लागि वरदान मानिन्छन् । तर, जहिल्यै, जुनसुकै ठाउँ र वर्षका लागि भने यी महिना वरदान हुँदैनन्, अर्थात् कतै अतिवृष्टिले दुःखको कारण पनि बन्न पुग्छ । तर, समष्टिमा वर्षा नहुने हो भने अथवा अनावृष्टि मात्रै पनि भयो भने पृथ्वीका सम्पूर्ण प्राणी जातिका साथै समस्त वनस्पति जगतको समेत जीवन दुष्कर बनिन्छ ।

प्रकृतिको चक्रसँगै हामीकहाँ राजनीतिक व्यवस्थाले पनि यो समय अर्थात् असार मसान्तसम्मको समयलाई सृजनशील मान्ने गरिएको छ । यही मसान्तभित्रमा अघिल्लो वर्ष लक्ष्य बनाइएका कार्यक्रमहरु समापन गर्नुपर्ने हुन्छ । त्यस्ता विकास–निर्माणसँग सम्बन्धित कामहरुको खर्चको पनि फरफारक गर्नुपर्ने कानूनी बाध्यता रहन्छ । त्यस उसले किसानको चटारो जस्तै विकासे अड्डा वा निकायहरुलाई कामको सम्पन्नता र खर्चको मिलानको चटारो हुन्छ । त्यही भएर हतारोमा कतिपय काम कार्वाही नै गुणस्तरहीन र गन्तव्यविहीन हुने गरेका छन् ।

यतिबेला सूचनाहरुमा धेरैजसो अनियमितताका कुरा आएका छन् । सडक, पुल, पुलेसा, भवन, पैनी जस्ता सार्वजनिक चासो र महत्वका निर्माण सम्बन्धी कार्यको चटारो रहने कारणले महत्वपूर्ण मानिने यो समयलाई असारे वर्षाले थप चासोको बनाउने गर्छ । यसबेला स्थानीय सरकार, तह बनिएको छ, जनप्रतिनिधिहरु छन्, त्यसैले विकास–निर्माणसँग सम्बन्धित यस्ता कामहरुको गुणस्तरका विषयमा उनीहरुको प्रत्यक्ष संलग्नताको खोजी गरिन्छ, जो स्वभाविक हो । जिम्मेवार निकायलाई अघिल्लो वर्षको लक्षित योजना सम्पन्न गर्नुपर्ने बाध्यता, स्थानीयबासीको आवश्यकता र जनप्रतिनिधि तथा सरकारले ‘जस’ लिनुपर्ने अपेक्षाका कारण यतिबेलाका काम असारे झरीसँगै पखालिने पनि गरेका छन् ।

असार मसान्तको हतारो, चटारो र नीतिको बाध्यताको परिणाम हुन सक्छ विकास–निर्माणसँग सम्बन्धित व्यक्ति–व्यक्तित्वहरु यही बेला भ्रष्टाचारी करार गरिँदैछन् । यद्यपि यो नौलो होइन र अनपेक्षित पनि होइन । कर्मचारीहरुलाई मात्र दोषी देखाएर राजनीतिक पहुँच र प्रभाव भएका पात्रहरुलाई ‘पानी माथिको ओभानो’ देखाउनुले किमार्थ न्याय गर्दैन् । त्यहीक्रममा बिर्तामोड नगर क्षेत्रभित्रका कतिपय निर्माण सम्बन्धी काम गुणस्तरहीन भएको सूचना सार्वजनिक भएको छ । यस्ता सूचना र समाचारले निर्माणकर्तालाई एक्लो दोषी देखाइएको छ । झट्ट हेर्दा वास्तविकता जस्तो लाग्ने त्यस्ता घटनामा प्रमुख वाहक भने नेपथ्यमा सिरकभित्र पसेर ‘घिउ’ खाइरहेका हुन्छन् ।

बिर्तामोडको बसपार्क क्षेत्रको सडकमा भएको कालोपत्रे एक महिना नटिकेको समाचारले काम, निर्माण सामग्री र लापर्वाहीको संकेत गरेको छ । निर्माणकर्ता अनुपस्थित छन्, उपभोक्ता समिति निर्मातालाई दोष देखाउँछ । तर, प्रकृतिले अर्थात् असारे झरीको कहरलाई त्यसमा जोडेर नियमनकारी निकायको भूमिकालाई आँखा चिम्लिन मिल्दैन । अर्थात् निर्माणकर्ताले कोसँग, कसरी र के–के शर्त र सीमाभित्र रहेर कामको जिम्मा लिए त्यसको पनि उचित सम्बोधन गरिनुपर्दछ । समयसीमाको बाध्यताले झरीका बीच कालोपत्रे गर्नु परेको अथवा नियत नै खराब राखेको हो, त्यसको निरुपण गर्ने बेला भइसकेको छ । त्यसैले यसबेला सम्पन्न भएका कामहरुको मूल्यांकन, अनुगमन गरी गुणस्तरीयता कायम राख्न स्थानीय वा संघीय सरकारको गम्भीर ध्यानाकृष्ट हुनुपर्छ । अन्यथा यस्तो प्रवृत्ति, र व्यवहारले समस्याको दीर्घकालीन समाधान सम्भव छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here