अर्जुनधारा।
श्रावणी पर्वको सन्दर्भमा पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा–७मा रहेको अर्जुनधारा जलेश्वर धाममा पहिलो सोमबार भक्तजनहरुले जलार्पण गरेका छन् ।
सयौंको संख्यामा उपस्थित भएका उनीहरुले विहान ४ः३० बजेदेखि धामको मूल मन्दिर शिवालयमा रहेको शिवलिङ्गमा जलार्पण गरेको धाम व्यवस्थापन समितिका सदस्य शेखर प्रधानले बताए ।
सोही पर्वको सन्दर्भमा समितिले महिनाभरी रुद्राभिषेक र प्रत्येक सोमबार विशेष गुरुहरुबाट पर्वको महत्वको विषयमा दुई घण्टा प्रवचन कार्यक्रमलगायत आयोजना गरेको सदस्य प्रधानले जानकारी दिए ।
त्यस बाहेक धाम क्षेत्रका स्थानीय भक्तजनहरुलाई लक्षित गरी समितिले आगामी शनिबार उनीहरुलाई देवघाट धामको दर्शन गराउने र त्यहाँको जल ल्याई धाममा चढाउने कार्यक्रम रहेको बताइएको छ । प्रति भक्तजन पाँच सय रुपैयाँ शुल्क निर्धारण गरिएको उक्त कार्यक्रममा सहभागी हुने भक्तजनहरुका लागि दुई वटा बसको व्यवस्था गरिएको छ ।
बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले धाममा आउने भक्तजनहरुलाई लक्षित गरी बैंक प्रवद्र्धन अभियान सञ्चालन गरेको थियो । उक्त अभियानमार्फत् बैंक र बैंकले प्रदान गर्ने सेवाहरुको विषयमा जानकारी दिइने बैंकका सञ्चालन विभाग प्रमुख सुमन लामिछानेले बताए ।
यता सोही पर्वको सन्दर्भमा स्थानीय डाङग्रे बाबा–सेतीदेवी–पाथीभरा माता धाममा भक्तजनहरुले जलार्पण गरेका छन् ।
धाम संरक्षण समितिका सचिव रोशन सुब्बाका अनुसार विहानैदेखि उपस्थित भएका भक्तजनहरुले धाममा रहेको शिवलिङ्गमा भक्तजनहरुले जल चढाएको बताइएको छ ।































