बिर्तामोड ।

प्रेमजालमा पारेर आफ्नो स्वार्थ पूरा गर्ने र त्यसमा पनि फिरौती माग्ने विषय पछिल्लो समय नेपालमा पनि बढ्दै गएको छ । यस्तो कार्यमा गिरोह नै सक्रिय हुने गरेको छ । गिरोहले प्रायः धनाढ्य व्यक्तिको खोजी गर्छ र उसलाई फसाउन युवतीको प्रयोग हुन्छ ।
विशेषगरी उनीहरुको निसानामा पर्ने गर्छन् व्यापारीहरु सुरुमा युवतीले मित्रताको हात अगाडि बढाउँछिन् । मित्रता प्रेममा परिणत हुन्छ । युवतीले प्रेमजाल बुनिसकेपछि त्यसैमा फस्न पुग्छ प्रेमी । त्यसैलाई अपराधको अर्को रूप अर्थात् ‘हनिट्रयाप’ भन्ने गरिएको छ ।
झापामा पनि यस्तै एउटा घटना भएको छ । इलाका प्रहरी कार्यालय विर्तामोडको टोली, जिल्ला प्रहरी कार्यालय झापा र प्रदेश प्रहरीको विशेष टोलीले बिर्तामोड–४ मा व्यवसाय गर्दै आएका एक व्यापारीलाई ‘हनिट्रयाप’मा पार्दै ४० लाख रकम फिरौती माग्ने एक युवतीसहित चारजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बिर्तामोड–४ का २९ वर्षीय मेराज, इलाम घरभएकी बिर्तामोड चारपाने बस्ने २० वर्षीया रितु फियाक लिम्बू, भारत पश्चिम बंगाल दार्जिलिङ खोरिबारीका सञ्जु क्षेत्री भनिने सुजन शंकर र बिर्तामोड–४ का प्रकाश दास छन् । चारै जानलाई प्रहरीले मंगलबार इलाका प्रहरी कार्यालय बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ ।
‘हनी ट्रयापिङ’ गर्ने गिरोहका चारै जनालाई पक्राउ गरेको प्रहरीले यो घटना झापामा पहिलो भएको दाबी गरेको छ । प्रहरीले उनीहरुबाट बा. १५ च ७३३९ नम्वरको कार, स्कुफ लेखिएको १०० मिलिमिटरको शिलप्याक बोतल ३ थान, प्लाष्टिकको नक्कली पेस्तोल, प्रोप्रानोलोल लेखिएको एक पत्तामा १५ चक्की र निट्रोसन १० लेखिएको एक पत्तामा ४ चक्की खाली भइ ६ चक्की रहेको औषधी बरामद गरेको छ । सुजन शंकरकी प्रेमिका भनिएकी रितु फियाकलाई भारतको दिल्लीबाट यही घटनाका लागि झिकाएको प्रहरीको भनाइ छ ।

पक्राउ परेकामाथि शरीर बन्धक बनाई अवान्छित लाभ लिन खोजिएको आरोपमा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक मोहन थापाले जानकारी दिए । प्रतिवादी मध्येका सञ्जु क्षेत्री भनिने सुजन शंकरलाई २ वर्ष अगाडी मानव वेचविखन तथा ओसारपसार मुद्दामा झापा जिल्ला अदालतबाट १० वर्ष कैद सजाय तोकिएकोमा हालसम्म फरार रहेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।
पक्राउ परेकाहरुले संगठित अपराध गर्नका लागि विर्तामोडस्थित भद्रपुर रोड कुमारी बैंक पश्चिम पट्टिको गल्ली भित्र एउटा घरको चारतल्लामा फ्ल्याट लिई अपराधिक क्रियाकलाप गर्दै आइरहेको प्रहरीको भनाइ छ । पक्राउ परेकाहरुविरुद्ध शरीर बन्धक मुद्दामा सातदेखि १० बर्षसम्मको कैद सजाय र ७० देखि एक लाख रुपैयाँसम्म जरिवाना र जबरजस्ती पैसा असुल्ने मुद्दामा सात बर्षसम्मको कैद सजाय र ७० हजार रुपैयाँ जरिवानाको माग गर्दै जिल्ला अदालत झापामा मुद्दा दायर गर्ने गृहकार्य भइरहेको प्रहरी प्रवक्ता डीएसपी महेन्द्रकुमार श्रेष्ठले बताए । प्रहरीले सामाजिक सञ्जालमा नचिनेका मानिसलाई साथी नबनाउन आग्रह गरेको छ ।




























